‘‘उहॉंले तिम्रो हृदयको चाहअनुसार तिमीलाई दिऊन्, र तिम्रो सबै मनशाय पूरा गरिदिऊन्|’’
-भजनसङ्ग्रह २०:४
-------सञ्जय प्रधान------
दार्जीलिङ पहाड़ी भेकमा चियाबगानको इतिहासबारे कुरा गर्ने हो भने डेढ़ सय वर्ष नाघिसक्यो| डेढ़ सय वर्षदेखि अहिलेसम्म पनि चियाबगानको सङ्घर्ष अति नै कठिन छ| यो एउटा अन्त्यहीन सङ्घर्ष भएर अघि बढ़िरहेको छ| चियाबगानको यस अन्त्यहीन सङ्घर्षले साहित्य, सङ्गीत, क्रान्तिका कैयौं पाटाहरू सृजना गरिसकेको छ| यस्तै सङ्घर्षका पथहरू हुँदै दार्जीलिङ पहा़ड़को तल्लो भागमा पर्ने लङ्भीउ चियाबगानको अप्पर बरबोटे गाउँबाट ‘बानिका प्रधान’ -को सुरिलो स्वर गुञ्जिएको डेढ़ दशक भइसक्यो| अहिले यो सुरिलो स्वर बिस्तारै छिमेकी मुलुक नेपालमा गुञ्जिनथालेको छ|
जीवन सङ्घर्षका दिनहरू बानिकाले बाल्यकालमा नै चियाबगानमा कार्यरत् आफ्ना बाबु बुद्ध प्रधान र आमा हरिमाया प्रधानबाट नै देख्दैआएकी हुन्| दुइजना दाज्यू सूरज, अमीर, दिदी विन्ध्या प्रधान हुन्| चियाबगानको सङ्घर्षमय जनजीवनमा हुर्किएकी सुश्री बानिका प्रधान भन्छिन्, ‘‘सङ्घर्षलाई एञ्जोय गरिरहेकी छु| समस्या भन्ने कुरा कुनै पनि स्थायी हुँदैन|’’ आफ्नो बाल्यकालदेखि नै सङ्घर्ष गर्दैआएकी बानिका अहिले पनि सङ्घर्षरत् छिन्| सानोमा बानिकाले साई भजनहरू गाउँथिन्| गीतहरू सुन्नका लागि घरमा टेप रेकर्डरसमेत थिएन| यसले गर्दा बानिकाले सानोमा गीतहरू ओरिजिनल सुन्न पाउँदिन थिइन्| अरूले गाएकै गीतहरू सुन्थिन्| दाज्यू सूरज प्रधान सङ्गीतमा निक्कै डुबेका थिए| उनी कार्यक्रमहरूमा गाउँथे, गिटार बजाउँथे| दाज्यूको प्रभाव तीन-चार कक्षामा पढ़्ने सानी बानिकालाई भने गहिरो रूपमा परेको थियो| बानिकाले गीत गाउँछिन् भन्ने कुरा घरमा कसैलाई पनि थाहा थिएन| गाउँमा यताउती घर घरमा साई भजनहरू आयोजना हुन्थ्यो| एकदिन गाउँकै हिरोज लामा काकाको घरमा सानी बानिकाले भजन गाउँदा सबै छक्कै परे| बानिकाले सबैको मनै छुने गरी भजन गाउनसक्छिन् भन्ने कुरा कसैले पनि कल्पना गर्नसकेका थिएनन्| बानिकाको स्वर सुनेर सबैले मुखबाट यति नै निकाल्नसकेका थिए ‘‘कस्तो दामी गाइन्|’’ यसपछि त बानिकाले भजन राम्रो गाउँछिन् भन्ने कुरा गाउँमा हावाको झोंकाजस्तै सरिरिरि बहनथाल्यो| सबै चिनाजानाहरूले दाज्यू सूरजलाई बानिकाले राम्रो गाउँदी रहिछन् भन्ने कुरा सुनाए|
घरमा दाज्यू र हिरोज लामाले बानिकालाई गाउन लगाए अनि गीत सुनेर दुवै अवाक् भए| त्यति बेला पो उनीहरूले घरभित्र रहेको कस्तुरी बिन्नाको सुवासना थाहा पाए| यसपछि भने घरमा प्रायःजस्तो प्रत्येक सॉंझ सङ्गीतको रमाइलो जमघट हुनथाल्यो| चार कक्षामा पढ़्दैगरेकी सानी बालिकाले दाज्यूहरूसित यसरी गीत गाउनसकिन्| बानिका भन्छिन्, ‘‘म सानोमा लजाउने खालकी थिएँ|’’ स्कूलमा पनि उनले राम्रो गीत गाउनसक्छिन् भन्ने कुरा सबैको कानमा पुगिसकेको थियो| लजालु स्वभाव भएकी बानिकालाई स्कूलकै तिलक सरले ‘‘तिमी राम्रो गीत गाउँछ्यौ’’ भन्दै तान्दै गीत गाउन लगेका थिए अनि बानिकाले चाहिँ ‘‘होइन...होइन...’’ भन्दै थिइन्| अहिले कुरा सम्झिएर हॉंस्दै बताउँछिन् बानिका| स्कूलको कार्यक्रममा ‘दिल का क्या कसूर’’ हिन्दी चलचित्रको टाइटल गीत गाइन्| चार कक्षामा हुँदाखेरि स्कूलको रङ्गमञ्चमा शिक्षक दिवसको कार्यक्रममा गीत गाएर सबैबाट प्रशंसा पाइन्| सानी भएकी हुनाले मञ्चमा गीत गाउँदा उनलाई त्यस्तो केही फरक परेन| पङ्खाबारी उच्च माध्यमिक विद्यालयको कार्यक्रममा माइक लगाइएको हुनाले गाउँभरि नै गीत सुनिन्थ्यो| कार्यक्रम सकेको केही दिनपछि बानिकाकी एकजना साथी दिपालीले सोधिछन्, ‘‘कसले गीत गाएको थियो| बाहिर कस्तो राम्रो सुनेको थियो|’’ यसरी बानिका बिस्तारै आफ्नो क्षेत्रमा जम्मिँदै जानथालिन्| स्कूलमा हुँदखेरि नै बानिकाले दाज्यूहरूको ग्रुपमा पानीघट्टा, तिराना चियाबगान, बेलगाछी, च्याङ्गा, बाघडुग्रातिर हुने साङ्गीतिक कार्यक्रमहरूमा गीत गाएर विद्यार्थी जीवनमा निक्कै प्रशंसकहरू बटुलिन्|
कक्षा नौसम्म पुग्दा बानिका गायनको क्षेत्रमा निक्कै खारिइसकेकी थिइन्| यतिबेला उनलाई चाहिएको थियो सङ्गीतको क्षेत्रमा एउटा गोरेटो, नयॉं मार्गदर्शन| उनको गाउने प्रतिभालाई हेरेर सबैले गीतको लागि तालिम लिनुपर्छ भन्ने कुरा गरे| १९९८ सालमा गायनको क्षेत्रमा तालिम लिन खरसाङको गीतिगुञ्ज सङ्गीत महाविद्यालयमा गइन्| सो बेला गीतिगुञ्ज सङ्गीत महाविद्यालय सङ्गीतकार स्व. प्रतापसिंह लोहारले सञ्चालन गर्दैथिए| त्यहॉं उनले शास्त्रीय गायनको तालिम गोविन्द सिंह घतानीसित लिए| गीतिगुञ्ज सङ्गीत महाविद्यालयबाट बानिकाले बी. म्युज गरेकी हुन्| उनले गीतिगुञ्ज सङ्गीत महाविद्यालयमा आउनअघि सन् १९९७ सालमा साई समितिद्वारा आयोजना गरिएको जिल्ला स्तरीय भजन प्रतियोगितामा दोस्रो स्थान हासिल गरेकी थिइन्| सो बेला उनको उमेर १५ वर्षको मात्र भए पनि प्रतियोगितामा भने ग्रुप ‘ए’ -मा राखिएको थियो| सो प्रतियोगिताको फाइनल सिलगढ़ीमा भएको थियो| गीतिगुञ्ज सङ्गीत महाविद्यालयमा तालिमको पहिलो वर्षमा नै सन् १९९९ सालमा भएको जिल्ला स्तरीय शास्त्रीय गायन प्रतियोगिता जितिन्| यसपछि सन् २००० सालमा च्यानल खरसाङद्वारा आयोजना गरिएको ‘सुर तरङ्ग’ प्रतियोगितामा पनि उनी विजयी भइन्| २००१ सालमा ‘दुर्गा मा’ भजन एल्बममा उनले दुइवटा भजन गाइन्| यसको दुइवटा भजन रेकर्ड गर्न उनी रातभरि बसमा नसुती काठमाण्डौं पुगिन्| जुन दिन काठमाण्डौं पुगिन्, त्यसै दिन रेकर्डिङ परेको थियो र त्यसै दिन रेकर्ड गरिन्| भोलिपल्ट अर्को भजन रेकर्ड गरेर दुइ दिनमै फर्किहालिन्| सङ्गीतप्रति बानिकालाई यस्तो जियालो देखेर सबै छक्क परेका थिए| २००२ सालमा खरसाङमा सुराञ्जलि निकेतनले दार्जीलिङ गोर्खा पार्वत्य परिषद् (दागोपाप) क्षेत्र स्तरीय आधुनिक सङ्गीत प्रतियोगिता आयोजना गरेको थियो| यस प्रतियोगिताको मेल/फिमेल क्याटगोरीमा उनले च्यालेञ्ज ट्रफी जित्न सफल भइन्| यस कार्यक्रममा बानिकाले प्रारम्भमा सरस्वती वन्दना गाएकी थिइन्| बानिकाले गाएकी सुन्दा सुपरिचित सङ्गीतकार गगन गुरूङले क्यासेट बजाएको रहेछ भन्ने सम्झेका थिएछन् भन्ने कुरा बानिकाले बिर्सिएकी छैनन्| यस प्रतियोगितामा बानिकाले सुमन तेलाङ्गीले सङ्गीत भरेका राजा पुनियानीको गीत ‘पीड़ाको निष्ठुर आँधीमा पनि मुस्कुराउनु त छँदैछ’ गाएकी थिइन्| त्यति बेलाको कुरा गर्दै उनी भन्छिन्, ‘‘त्यति बेला गीत केही स्पीड हुँदा म रिसाएकी थिएँ| मलाई फस्ट सेकेण्ड हुनुसित मतलब थिएन| गीत राम्रो हुनुपर्छ बिग्रिनुहुँदैन भन्थें म|’’
सन् २००५ सालमा १००० भन्दा बढ़ी प्रतियोगीहरूलाई उछिनेर सिक्किमको राजधानी गान्तोकमा ‘हिमायन आइडल’ -को प्रतियोगितामा विजयी बनेर ‘हिमालयन आइडल’ भइन्| यो प्रतियोगिता सिक्किमको एसके अडियो भिजनद्वारा आयोजना गरिएको थियो| एस.के. अडियो भिजनद्वारा प्रोडक्सनमा ‘हिमालयन आइडल बानिका’ एल्बम बजारमा निस्कियो| बानिकाले खरसाङको ब्याण्ड ‘म्युजिक कर्सियङ (बागीना)’ र ‘मेलोडी’ -मा संलग्न भएर थुप्रै कार्यक्रमहरूमा गीत गाइन्|
बानिकाको साङ्गीतिक यात्रा साह्रै सजिलो छैन| नौ कक्षादेखि गीतिगुञ्ज सङ्गीत महाविद्यालयमा सङ्गीत पढ़्न जॉंदा थुप्रै समस्याहरूको सामना गरेकी छन्| त्यसै पनि चियाबगानको अवस्था व्यवस्था सधैं नै चुनौती र तनाउमा गुज्रिरहेको हुन्छ| गीतको तालिम लिनलाई प्रत्येक आइतबार बानिका अप्पर बरबोटेदेखि करीब १५ किलोमीटर टाढ़ा खरसाङमा जानुपर्थ्यो| कहिले गाड़ीको समस्या त कहिले आर्थिक समस्या झेल्नुपर्थ्यो| गीतको क्लास सकेपछि गाड़ीको समस्याले कैयौंपल्ट १४-१५ किलोमीटर हिँड़ेर बेलुकी थाकेर घर आउँथिन्| गीत सिक्नका लागि घरबाट साथै स्कूलका शिक्षकहरूबाट पनि धेरै हौसला प्राप्त थियो| तरै पनि सङ्घर्षका कॉंड़ाहरू भने पाइलैपछि थिए| पङ्खाबारी उच्च माध्यमिक विद्यालयबाट १० कक्षा पास गरेपछि खरसाङको रामकृष्ण उच्चत्तर कन्या विद्यालयमा ११ र १२ कक्षामा पढ़िन्| यसै स्कूलमा पढ़्दाखेरि नै बानिकाले सङ्गीतको क्षेत्रमा खरसाङमा आफ्नो पहिचानलाई अझ दह्रिलो बनाइन्|
रामकृष्ण स्कूलमा हुने कार्यक्रमहरू सधैं नै प्रायःजस्तो बानिकाको सरस्वती वन्दनाबाट शुरू हुन्थ्यो| यसैले खरसाङमा बानिकाले सबैलाई आकर्षित पारेकी थिइन् साथै धेरै प्रशंसा पाएकी थिइन्| स्कूलमा बानिका मेधावी विद्यार्थी थिइन्| स्कूलको परीक्षा पनि प्रायः नै उनी पहिलो, दोस्रो र तेस्रो हुन्थिन्| सङ्घर्षमय जीवनको पथमा हिँड़्दैआएकी बानिकाले दिदीको बिहे सानै उमेरमा भएको हुनाले घरको काम-धन्दा पनि सम्हाल्नपरेको थियो| रामकृष्ण स्कूलबाट बाह्र कक्षा पढ़िसकेर खरसाङ महाविद्यालयबाट स्नातक गरिन्| यसपछि उत्तर बङ्गाल विश्वविद्यालयबाट इतिहासमा एम.ए. गरिन्| उनले पनि सरकारी काम पनि गर्नसक्ने थिइन्| तर सङ्गीतलाई मुटुको धड़कन मानेर यसैको साधनामा लागिन्| यता भारतमा नेपाली सङ्गीतलाई पेशाको रूपमा लिएर जीवन धान्नु भनेको फलामको चिउरा चपाउनुजस्तै हुन्छ| यसैले बीचमा बानिकाको अघि पनि एउटा विचार गर्ने समय आएको थियो| धेरैले सङ्गीतलाई एउटा सोखको रूपमा मात्र राखेर नोकरी गर्ने सुझाउ दिएका थिए| यस्तो स्थितिमा उनले ‘‘मलाई के गर्दा राम्रो हुन्छ? म कुन कुरामा राम्रो छु?’’ भन्ने विचार गरिन्| नोकरी गर्नलाई विचार गर्दै डब्लुबीसीएसको परीक्षा बस्नका लागि ट्युशन पनि गइन्| यता सङ्गीतलाई साथमा नै राखकी थिइन्| कार्यक्रमहरू भइरहन्थ्यो साथै रेकर्डिङका लागि अफरहरू आई नै रहन्थ्यो| दिन बित्दै गयो, बानिकाको अन्तर्मनभित्र रहेको अखड़ामा डब्लुबीसीएसको ट्येुशन र सङ्गीत एक अर्कामा अन्तरद्वन्द चल्दैथियो| बानिकाको दुइवटा खुट्टा बेग्ला बेग्लै नाउमा परिसकेको थियो| अन्त्यमा उनले सङ्गीतलाई आफ्नो जीवन बनाउने फसेला गरिन्|
२००९ सालदेखि उनले सङ्गीतलाई पेशाको रूपमा अप्नाइन्| २०१० सालमा जलपाइगढ़ी निवासी सङ्गीतका गुरु सौरोज्योति घोषसित भेट भएपछि सङ्गीतको दोस्रो अध्याय शुरू गरिन्| यिनै सौरो ज्योति घोष हुन्, जसले बानिकालाई सङ्गीतलाई पेशाको रूपमा अप्नाउनसक्ने हौसला दिए| पहिलो दिन उनले बनिकाको गीत सुन्दा स्वर सुनेर छक्कै परे| बानिकाले उनलाई डब्लुबीसीएस गर्छु भनिन्| यो सुनेर उनले बानिकालाई भने, ‘‘तिम्रो जुन प्रतिभा छ त्यसले गरिखान आँट आउँदैन!’’ उनले मुम्बई, कोलकाता, काठमाण्डौंतिर जानू भन्ने सुझाउ दिए| बानिका भन्छिन्, ‘‘सौरोज्योति सरको कुराले मेरो आत्मविश्वास जाग्यो| कलाकारको जीवन कुनै साधारण कुरा होइन, यसमा सङ्घर्ष हुन्छ| सङ्गीतको क्षेत्रमा दिनहुँ परिवर्तन हुन्छ, नयॉं सृजना हुनुपर्छ| यो एउटा ठूलो चुनौती होे| यस्तो चुनौतीको सामना गर्ने व्यक्ति लरतरो व्यक्ति हुँदैन| धेरैले कलाकार मात्र भएर जिउँछु भनेर आँट गर्दैनन्| जीवनमा जोखिम उठाउन सक्नुपर्छ|’’ सौरोज्योतिका यस्ता कुराहरूले बानिकाको आत्मविश्वास दह्रिलो भयो| यस्तै बुझेर उनले जोखिम उठाइन्| ‘‘केही गरेर म खानसक्छु भन्ने आँट थियो| अहिले सङ्गीत नै पेशा भएको छ|’’
सौरोज्योतिसित गीत सिक्दै गरेेको बेला नै २०११ सालमा बानिका, पुष्पन प्रधान र सुमित विश्वकर्म मिलेर ‘बन्दिश’ ब्याण्ड स्थापित गरेर २०१२ सालमा अदिकवि भानुभक्तको ‘घॉंसी’ कवितालाई सङ्गीतबद्ध गरेर ६ मिनटको गीत भएको एउटा एल्बम निकाले| यसमा बानिका र पुष्पनले गीत गाएका छन् भने बीचमा सौरोज्योति घोषले खुबै राम्रो आलाप दिएका छन्| सुमित विश्वकर्म म्युजिक एरेञ्जर रहेका छन्| अहिलेसम्म बानिकाको एक्लो एल्बम भने निस्किएको छैन तर अहिलेसम्ममा एक सयभन्दा बढ़ी एल्बमहरूमा गीत गाइसकेकी छन्| उनले साई भजनको एल्बममा पनि गाएकी छन्| विभिन्न भाषाहरू बङ्ला, सादरी, राजवंशी, भोजपुरी, सूर्यपुरी, मारवाड़ी भाषाहरूमा गीत गाएकी छन्| नेपाली चलचित्र ‘बितेका पल’, ‘मेघा’, ‘दलदल’, ‘अनमोल क्षण’ ‘जन्दगी फर्केर आउँदैन’-मा पनि गाएकी छन्| अब आउने चलचित्र ‘फूलै फूलको मौसम’ -मा पनि उनले गाएकी छन्| टेलिभिजन च्यानलमा हुने ठूला रियानिटी शो-हरू डीडी वानको ‘भारत की शान’ -मा वाइल्ड कार्ड एन्ट्रीबाट पसेकी थिइन् र यसको दुइ एपिसोडमा उनको गीत प्रसारण भएको थियो| मुम्बईमा सारगेेमप-को थिएटर राउण्डसम्म पुगेकी थिइन्| कोलकातामा भएको ‘भोइस् अव् बेङ्गल’-को ‘खोज’-मा विजयी भएकी हुन्|
गत वर्ष २०१४ -देखि बानिकाले काठमाण्डौंलाई आफ्नो कर्मथलो बनाएकी छन्| त्यहॉं विभिन्न एल्बम र चलचित्रका गीतहरू गाउँदैछिन्| नेपालमा दीपक लिम्बू, मनोज राजहरूसित गाउँदैछिन्| स्व. गोपाल योञ्जनका गीतहरू गाएकी छन्| बानिका भन्छिन्, ‘‘अहिले नेपालमा सङ्गीतको भविष्य राम्रो देख्दैछु| त्यहॉं इण्डस्ट्री छ|’’ यसै जनवरी महीनामा कान्तिपुर टेलिभिजनको ‘कृपा अन्प्लग्ड’ -मा बानिकाको कार्यक्रम प्रसारण हुनेभएको छ|
आफ्नो जीवनमा रामकृष्ण स्कूलकी शिक्षिका श्रीमती वेणुका ढकाललाई आफ्नी आमाको स्थानमा राखेकी कुरा बताउँछिन् बानिका| श्रीमती ढकालले धेरै सहयोग गरेको बताउँदै केही भावुक बन्दै भन्छिन्, ‘‘बाह्र क्लास सकेपछि उनी मेरो जीवनमा छायॉंजस्तै भइन्|’’ बानिकाजस्तै कैयौं युवा प्रतिभाहरू आज नेपालमा आफ्नो लक्ष्य खोज्दै आफ्नो जन्मथलोबाट टाढ़िँदैगएका छन्| यदि आफ्नै देेश, आफ्नै जन्मथलो दह्रिलो भए... यसरी बीचमा खाली हुने थिएन, केही भरिनसक्थ्यो|
आज बानिका ती पुराना स्कुले जीवनलाई सम्झिन्छिन् र भन्छिन्, ‘‘त्यति बेलो गोल्डन लाइफ थियो|’’ सानोमा तान्दै गीत गाउन लैजाने तिलक सरलाई सम्झिन्छिन्, उनलाई बिर्सिएकी छैनन्| अहिले बानिकालाई सङ्गीतले तानिरहेको छ र तानेर शिखरमा पुग्न सकोस्... शुभकामना!!