Bindhya Gurung
12/12/2012 05:32
योद्धा समाजसेवी विन्ध्या
-------- सञ्जय प्रधान
‘‘म तिमीहरूलाई टुहुरा छोड़ने छैनँ, म तिमीहरूकहॉं आउनेछु।’’ 14-18 यूहन्ना। बाइबलका यी सुसमाचार ती जो साहाराविहीन भएर बेस्याहार जिन्दगी जिउँदै गरेका मानिसहरूका जीवनमा अतिनै सान्दर्भिक साथै प्रेरणादायक छ।
उनीहरू जसलाई मानव समाजले अंग्रेजीमा डेस्टिट्युट भन्छन् अर्थात परित्यक्तहरू, परित्याग गरिएकाहरू अथवा भन्ने हो भने संसारमा आफ्नो भन्ने कोही नभएकाहरू। उनीहरूलाई कसले परित्याग गरे? यहि मानव समाजभित्रका आफ्नै परिवार साथै समाजबाट परित्यक्त भएकाहरू हुन्। ती परित्यक्तहरू आफ्नै परिवारबाट फालिएर समाजका कुना काप्चाका गलछेड़ीहरू र शहरका गल्ली-गल्लीमा बेहाल अवस्थामा मानसिक सन्तुलन गुमाएर अचेतन अवस्थामा बेसाहारा जिन्दगी बिताइरहेका हुन्छन्। आफन्तजन्को मात्र के कुरा गर्नु! उनीहरूलाई देख्न साथ सभ्य समाजले पनि नाक-मुख खुम्च्याउँछन् र छि! छि! गर्छन्। उनीहरूको जिन्दगीलाई समाजले पूर्व जन्मको परिणाम समेत भन्ने गर्छन्। तर यस ब्रह्माण्डमा एउटा शक्ति सृष्टिको निर्माणसंगै विराजित भएर रहिआएको छ। उनै शक्तिका कारण संसारमा सॉंच्चैनै एक्लै भएर पनि कोही एक्लो हुँदैनन्। उनै शक्तिले आफ्नो दूत अर्थात कार्यकर्त्ता तयार पारेका हुन्छन्। तिनै कार्यकर्त्ताहरू ती परित्यक्त बेसाहाराहरूका दह्रिलो साहारा भएर अघि आउँछन्। यसपालीको भीड़भित्रको अनुहारमा प्रस्तुत छ यस्तै एकजना कार्यकर्त्ता जसले आफ्नो युवाकाल ती बेसाहाराहरूका लागि समर्पित गरिसकेकी छिन्। यी हुन् एउटा सिङ्गो मानव समाजका नायिका सिक्किम गान्तोकको गाउँ बोजोघारी निवासी विन्ध्या गुरूङ।
देववीर गुरूङ (एसएपीका एसआई) र स्व0 गौमती गुरूङका छोरीे विन्ध्या गुरूङभित्र पनि उनै शक्तिको असिम कृपा विद्यमान छ। यसैले अहिले सत्ताइस् वर्ष मात्र पुगेकी विन्ध्याले जो कोहीलाई गर्न अतिनै गाह्रो पर्ने काम निःस्वार्थ भावले गर्दैछिन्। उनीसित काम गर्ने आँट छ, बलियो आत्मविश्वास छ, भेद्भाव भन्ने कुरा पटक्कै छैन, कसैलाई घृणा गर्दिनन्। आफूले गर्ने सामाजिक कार्यमा उनका सहयोगीहरू श्रीमती बसन्ती गुरूङ, सरिना तामाङ, झरना गुरूङ, अर्जुन गुरूङ र अर्जुन थापा पनि त्यस्तै समर्पित समाज सेवकहरू हुन् अनि आफ्नै अस्सी वर्षीय बाजे किर्तिमान गुरूङ सल्लाहकारका रूपमा छन्। विन्ध्याले गर्ने काम हेर्ने हो भने सानो सुन्दर हिमाली राज्य सिक्किमको राजधानी गान्तोकको मेट्रो पोइन्टस्थित ‘‘मायल्मू-ली संघ’’ मा गएर हेर्दा सबै कुरा अझ बढ़ी स्पष्ट हुन्छ। जो परित्यक्त छन् उनीहरूका लागि ईश्वरले एउटा माध्यम तयार परिदिन्छन् त्यही माध्यमबाट विन्ध्या जस्ती सेविका समाजमा पैदा हुन्छन्। ती परित्यक्त मानसिक सन्तुलन गुमाएका बेसाहाराहरूका लागि विन्ध्या एकजना दह्रिलो साहारा, अभिभावक भएर गएको तीन वर्षदेखि अघि आएकी छिन्। सानै उमेरमा जीवन संघर्षमा होम्मिएर उनले मानव मूल्यका कुराहरूलाई गहिरो रूपमा बुझेकी छिन्।
पहिला पहिला शहर-बजार र गाउँतिर मानसिक सन्तुलन गुमाएर बेहाल अवस्थामा घुम्दै गरेका रोगी मानिस देख्दा विन्ध्यालाई डर लाग्थ्यो। एक दिन यस्तै व्यक्तिहरूलाई सेवा पुर्याउँदै उनीहरूसित पारिवारिक सम्बन्धनै गॉंसेर बस्न सक्ने कुरा उनले कहिले पनि सोंचेकी थिइनन्। तर अघि भने जस्तै विन्ध्याको लागि ‘‘मायल्मू-ली संघ’’ सम्म पुग्नलाई एउटा कठीन संघर्षको बाटो माध्यमको रूपमा तयार भयो। सानै उमेरमा भएको बिहेपछिको जीवन संघर्ष साह्रैनै कठीन थियो। 1998-99 सालतिर जीवन धान्न रोजगारको लागि छिमेकी मुलुक नेपालको राजधानी काठमाड़ौ पुगिन्। गान्तोकको वेस्ट पोइन्ट स्कूलमा पढ़ेकी विन्ध्या काठमाड़ौमा रिलायन्स इन्टरन्याशनल एकाडेमीमा शिक्षिकाको रूपमा काम गर्न थालिन्। करीब नौ वर्ष काठमाड़ौमा शिक्षिकाकै काम गरेर बिताइन्। सो बेला उनको जीवन संघर्ष तनावपूर्ण रूपमा चलिरहेको थियो। यस्तैमा सो बेला विदेशतिर जाने विचार पनि गरेकी थिइन्। साथीहरू दुबईतिर भएका हुनाले जान सक्ने मौका थियो। तर उनी त्यतातिर गइनन्। काठमाड़ौबाट फर्किएर यता आफ्नै जन्मथलो सिक्किममा आइन् र माइतीघरमा बसिन्। एउटा तनावपूर्ण जिन्दगीले मानसिक तनावमा परेकी थिइन्। विन्ध्याका ती कुराहरूलाई यहॉं राख्ने हो भने अटाउँदैन। काठमाड़ौबाट घर फर्किएर आएपछि तनावमुक्त जिन्दगी जिउनलाई कोशिश गर्न थालिन्। तर तनाव काम भएको थिएन। सानै उमेरको मानसिक तनावले डिप्रेशन (उदासिनता) मा परिसकेकी थिइन्। एक दिन हताश र निराश भएर गान्तोकको एमजी मार्गमा छोरा ईशानसित बसिरहेकी थिइन्। सन् 2009 अक्टोबर 2 ता0 गान्धी जयन्तीको दिनको कुरा थियो। सो दिन उनले जिन्दगीको बारेमा के के कुराहरू सोंच्दै थिइन् यस्तैमा सॉंइली छेमा श्रीमती दुर्गी गुरूङले फोन गरेर घरमा बोलाइन्। छेमासितको कुराकानीमा आफ्नो सबै दुःखका कुराहरू बताइन्। यस्तै कुराहरू बताउँदै उनी भन्छिन्-‘‘छेमाले मलाई जीवन संघर्षका बारेमा धेरै प्रेरणादायक कुराहरू बताइन्।’’ आफू काठमाड़ौमा हुँदा साथमा बसेकी दिदी रिना गुरूङ गान्तोक आएर सम्पर्क गरेको उनी बताउँछिन्। एक हप्ता छेमासित बसिन् र यसपछि रिना गुरूङसित तीन माइलमा महीना दिनसम्म बसेको कुरा गर्छिन्। उनीहरूसित बस्दा जीवन र मानव मूल्यका कुराहरू धेरै बुझ्न सकेको बताउँछिन्। आज पनि उनी भन्छिन्-‘‘मलाई नयॉं जीवन दिने सॉंइली छेमा श्रीमती दुर्गी गुरूङ, रिना गुरूङ र दोर्जी शेर्पा दाज्यूका परिवारहरू हुन्। मेरो जीवनमा उनीहरूलाई भगवानकै स्थानमा राख्छु।’’
यस्तैमा मायल्मू संघ बारेमा एकदिन समाचार पत्रमा लेख पढ़ेपछि त्यहॉं हेर्न जाने इच्छा गरिन्। मायल्मू संघमा गएर त्यहॉं आश्रय लिएर बसेकाहरू सबैले आफ्नै जीवनसित अन्तहीन संघर्षमा जीवन बिताइरहेको देख्दा औधीनै माया लागेर आएको कुरा गर्छिन्। उनीहरूलाई देख्दा लागेको मायाले विन्ध्याभित्र दह्रिलो आत्मविश्वास पैदा भएर आयो अनि जीवनको लक्ष्यनै बदलियो, विचारमा नयॉं परिवर्त्तन र नयॉं स्फूर्ति सृजना भयो। ती साहाराविहीनहरूका निर्मल आँखाले पारिवारिक आत्मियता खोजी रहेको महसुस विन्ध्याले गरिन्। त्यहॉंबाट भेटेर आएपछि उनको मन उथुल-पुथिलिएको थियो उनीहरूका लागि आफूले कसरी, के गर्ने? भन्ने प्रश्न दिमागमा फिन्फिन् घुम्न थाल्यो। अन्तमा उनीहरूको सेवा कार्यमा आफूलाई समर्पित गर्ने निर्णय उनले लिइन्। 2009 सालदेखिनै मायल्मू संघमा आएर एकजना कार्यकर्त्ता भएर काम गर्न थालिन्। सो बेला संघका संस्थापक अध्यक्ष श्रीमती पासङकित लेप्चा थिइन्। त्यहॉं आएर विन्ध्याले पहिला निक्कै गाह्रो चन्दा संग्रह गर्ने काम गरिन्। बिहान बेलुकी संघको आवासमा सेवा कार्यमा समय दिइन् र दिउँसो चन्दा संग्रह गर्न गइन्। सो बेलादेखि शुरू गरेको काम आज पनि निरन्तर जारी राखेकी छिन्। 2010 सालको मई महीनादेखि संस्थाको अध्यक्षको जिम्मेदारी लिएर काम गर्न थालिन्। सिक्किममा सामाजिक कार्यमा संधै आफ्नो सहभागिता जनाउने सिक्किमका भूतपूर्व मन्त्री टी लाचुङपा, सामाजिक कल्याण आयोगका अध्यक्ष एवं भूतपूर्व मुख्यमन्त्री बी बी गुरूङ, उगेन लदाखी, धिरेन लामा (डीएसपी), श्रीमती दीपारानी थापा, विकाश चमालिङ, टासी पेडेन भोटिया लगायत अन्य कार्यलयका कर्मचारीहरूले संस्थालाई निरन्तर सघाउँदैछन्।
मायाल्मू संघको आश्रय आवास किरायको घरमा संचालन भइरहेको छ। अहिले सो आवासको एउटा ठूलो कोठामा एक्काइस् जना महिलाहरू र अर्को ठूलो कोठामा एघार जना पुरूषहरूलाई राखिएको छ। उनीहरू प्रायः सबैनै मानसिक रोगले ग्रस्त छन् भने कति त्यहीनै स्याहार-सुसारले धेर थोर निको भएकाहरू पनि छन्। त्यहॉं यी सबै बत्तीस् जनालाई उनीहरू 6 जनाले स्याहार-सुसार गर्छन्। त्यहॉं स्याहार-सुसार गर्नेे काम सजिलो छैन। यसको लागि धैर्य, समर्पणको भावना हुनुपर्छ। बिहान दश-सॉंड़े दश बजीभित्रमा सबैलाई खाना खुवाइसक्छन् अनि दिउँसो चिया खाजा र यसपछि राती सात बजीभित्रमा खाना खुवाइन्छ। बत्तीस् जनाको लागि उनीहरू आफै खाना पकाउँछन्। यति मात्र होइन् ती सबैलाई नुहाइदिने र उनीहरू सबैको लुगाहरू समेत धोइदिने काम पनि आफैहरू गर्छन्। राती सबैले मोबाइलमा दुइ दुइ घण्टाको आर्लम लगाएर सुत्छन्। कारण ती रोगीहरू राती उठेर ट्वाइलेट गएको बेलामा भित्र पसेको पसेकै हुने कि निस्किएर पनि दैलोमा बसेको बसेकै गर्ने हुनाले राती संघका 6 जना कार्यकर्त्ताहरू पालैसित उनीहरूको देखरेख गर्न उठ्छन्। अर्जुन गुरूङ र अर्जुन थापा ट्याक्सी चलाउँछन् अनि संघमा कार्यकर्त्ताका रूपमा सहयोग गर्छन्। श्रीमती बसन्ती गुरूङ, सरिना तामाङ र झरना गुरूङ मायल्मू संघका विशेष कार्यकर्त्ताहरू हुन्। झरना संघमानै बसेर सेवा कार्य गर्दै कलेज पढ़छिन्। बिहानको काम सकेर विन्ध्या संघका लागि चन्दा संग्रह गर्न निस्किन्छिन् साथै संघका कामहरू लिएर विभिन्न कार्यलयहरूमा जान्छिन्। मानसिक सन्तुलन गुमाएर शहर, या त कहीं पनि बेस्याहार भएकाहरूलाई कसैले भेटाए मायल्मू संघमा पुर्याइदिन्छन्। विन्ध्याका कुराअनुसार पहिला त यस्ता खालका बिमारीहरूलाई स्याहार्न निक्कै गाह्रो पर्छ। कतिलाई खाना खुवाउन समेत गाह्रो पर्छ कारण उनीहरू खॉंदा खॉंदै बिर्सिएर अनौठो खालका व्यवहार गर्छन्। उस्तै हो भने त्यस्तो अनौठो व्यवहार देख्दा डराउँछन्, तर उनी कुनै डर मान्दिनन्। संघर्षले उनलाई आँटी बनाएको छ। जसलाई शहरका गल्लीहरूमा झाम्रे-झुम्रे अवस्थामा अनौठो व्यवहार गरेर यता र उती भौंतारिएर हिड़ेको देख्दा समाजका प्रत्येकवर्गनै घिनाउने गर्छन्। यस्ताहरूलाई ल्याएर नुहाइदिएर सफा राखेर पारिवारिक आत्मियता दिन्छिन् विन्ध्याले। उनको आत्मियताकै कारणले विस्तारै सामान्य अवस्थामा फर्किन्छन्। जस्तै अवस्थामा भए पनि उनी पटक्कै घिनाउदिनन्। एकपल्ट गान्तोकमा एकजना वृद्ध व्यक्तिको शरीरमा घाउ भएर पुरै गन्हाउने भएर किरा परिसकेको थियो। केही जस्तो नमानी ती वृद्ध व्यक्तिलाई उनले नुहाइदिइन्। उसलाई तीन महीनासम्म गान्तोकको एसटीएनएम अस्पतालमा राखेर स्याहारिन्। यति मात्र होइन् मायल्मू संघमा भएका आश्रित व्यक्ति कसैको मृत्यु भए उनीहरू आफलेनै दाह संस्कार गर्न लान्छन् मलामी भन्ने हुँदैन। कारण ती मृतकहरूको परिवारहरूको पत्तो हुँदैन। यदि परिवार भए पनि आउँदैनन्। मरौ पर्दा सहयोग गर्ने कोही नहुँदा अहिलेसम्ममा सात वटा लाश विन्ध्या र संघका पॉंच जना कार्यकर्त्ताहरू भएर जलाइसकेका छन्। एकपल्ट एक जनाको राती मृत्यु हुँदा कोही थिएनन्। उपाय केही थिएन रातभरि विन्ध्या एक्लै लाश रूङ्गेर बसिन्। यस्ता कुरा बताउँदै उनी भन्छिन्-‘‘अब त बानीनै भइसक्यो।’’ कठिन परिस्थितको सामना गरेर चल्दै आएको मायल्मू संघले जता ततै जति पायो त्यति पैसा खर्च गर्न सक्दैन। लाश जलाउनका लागि पोंढ़ेलाई अरूले जस्तो धेरै पैसा दिन सक्ने क्षमता संघसित छैन्। लाश जलाएको पॉंच सय रूपियॉं दिने गरेकी छिन्। पैसा कम्ति दिन्छ भनेर आफूलाई देख्न साथ पोंढ़े भाग्ने गरेको उनी बताउँछिन्। शमशान घाटमा पोढ़े र विन्ध्याको खेदाखेदीसम्म पनि भएको छ। सो कुरा बताउँदै उनी भन्छिन्-‘‘एकपल्ट लाश लिएर जॉंदा मलाई देख्न साथ शमशान घाटबाट पो़ंढे भाग्यो। म पनि उसलाई खेद्दै पछि पछि कुद्दै गए र समातेर ल्याएँ अनि संगै बसेर लाश जलाऍं।’’ मृत्यु भएपछि कर्मकाण्डको लागि पुरोहित पनि हुँदैन। उनी आफलेनै प्रार्थना गरिदिन्छिन्। उनी जात धर्म हेर्दिनन् मान्छेले मान्छेलाई गर्नु पर्ने कत्तर्व्य मानव धर्मलाई प्रमुखता दिन्छिन्। भर्खरै 4 ता0 दिसम्बरसम्म संघमा बाह्र जना पुरूषहरू थिए। यसै बीचमा 5 ता0 दिसम्बरको दिन बिहान करीब 75 वर्ष पुगेका धनबहादुर राईको मृत्यु भएपछि अहिले त्यहॉं एघार जना पुरूषहरू छन्। धनबहादुर राईलाई बेस्याहार अवस्थामा युवा पत्रकारहरूले भेटाएर मायल्मू संघमा पुर्याएका थिए। उनको अन्तिम संस्कार पनि गान्तोकका पत्रकारहरूलेनै गरिदिए। मरौ पर्दा अलिक भेला भएको भनेको यहिनै पहिलोपल्ट हो भन्ने कुरा उनी बताउँछिन्।
मायल्मू संघलाई जति सहयोग अहिलेसम्म प्राप्त भएको छ त्यो तुलनात्मक रूपमा हेर्दा कम्तिनै हो। यसमा सरकारी सहयोगकोनै बढ़ी खॉंचो छ। विन्ध्याले बताएअनुसार पहिला 2008 सालदेखि संघलाई वर्षेनी सरकारबाट दिइने एक लाख रूपियॉंको अनुदानलाई पोहोर 2011 सालमा बढ़ाएर डेढ़ लाख रूपियॉं दिएको थियो। संघको खर्च अहिले यता उती चन्दा उठाएको र कतिले मासिक रूपमा दिएको रकमले दुःख सुख चल्दैछ। घरको किराय, खाना, औषधीहरू लगायत अन्य खर्चहरूका साथमा संघको महीनामा करीब पचास हजार जति खर्च हुन्छ। बिमारी अस्पतालमा लाने परे त्यसको खर्च संघले गर्नु पर्छ। मायल्मू संघ आर्थिक चपेटमा पर्दै भए पनि विभिन्न समस्याहरूसित जुझ्दै संचालन भइरहेको छ। मानसिक रोगका चिकित्सक डा0 सी एल प्रधान महीनामा दुइपल्ट गएर सबैको स्वास्थ्य जॉंच गर्छन्। बत्तीस जनालाई आश्रय दिएर यस्तो संस्था चलाउन सजिलो काम छैन् जो सुकैसित यस्तो काम गर्ने सामर्थ्य हुँदैन। यदि सरकारी तौरमा पनि यस्तो संस्था संचालन गर्ने हो भने कति खर्च लाग्छ सो कसैले पनि अनुमान लगाउँदा हुन्छ। सिक्किमलाई भिखारी मुक्त राज्य बनाउने सरकारको कुरालाई मायल्मू संघले धेरै हद्सम्म पुरा गरेको छ। अहिले मायल्मू संघ विन्ध्याको नेतृत्वमा धेरैनै राम्ररी संचालन भइरहेेको छ। संघको लागि सिक्किममा आफ्नै एउटा घर हुनु जरूरी छ। यसको लागि संघसित जमीन छैन्। यदि सरकारले जमीन उपलब्ध गराइदिए घर बनाइदिने समाज सेवक पनि छन् भन्ने उनी बताउँछिन्। कुरा यतिनै हो संघलाई दह्रिलो सहयोगको आवश्यकता छ।
विन्ध्या ती डेस्टिट्युटहरूको सेवामा समर्पित छिन्। उनी भन्छिन्-‘‘मेरो लागि यहिनै असल धर्म हो। यसरी सेवा गर्दा मलाई आत्म सन्तुष्टी प्राप्त हुन्छ। यी बिमारीहरूले मलाई खुबै माया गर्छन्। उनीहरूले मलाई जिउन सिकाएका छन्। उनीहरूबाटनै जीवन संघर्ष सिके। उनीहरूलाई देख्दा आत्मविश्वास बढ़ेर आउँछ।’’ विन्ध्या मात्र होइन उनका दश वर्षको छोरा ईशान पनि आमासंगै सेवा कार्यमा लाग्छन्। ईसान अहिले मार्तामस्थित सन्त जोसेफ स्कूल 6 कक्षामा पढ़दैछन्। छुट्टी भएको बेलामा आमासितै बस्छन् र काम सघाउँछन्। उनलाई पारिवारबाट पनि धेरै हौसला प्राप्त छ। पिता देववीर गुरूङले प्रत्येक कुरामा उनलाई सहयोग पुर्याउँछन्। आफूले कठीन संघर्ष गर्नु परेको भए तापनि अब अरू छोरी-चेलीहरूले दुःख नपाओस् भनेर कामना गर्छिन्। यसरी कुरा गर्दा उनको आखॉंको कुना हल्का रसिएर आउँछ। उनी दाइजो प्रथाको विरूद्धमा छिन्। समाजमा भित्रभित्रै चल्ने दाइजो प्रथा बन्द हुनुपर्छ अनि बुहारीलाई पनि छोरीको दर्जा दिनु पर्छ भन्ने पक्षमा छिन्। बिहे भएको छोरीले यदि दुःख पाएर आए माइती घरले पनि बिहे अघिको जस्तै छोरीको दर्जा दिएर सहयोग पुर्याउनु पर्छ भन्ने विचार प्रकट गर्छिन्। कहींबाट सहयोग नपाए एउटा छोरीको जीवन बरबाद भएर जान्छ भन्ने कुरा गर्छिन्। छोरी-चेलीहरूलाई आह्वान गर्दै भन्छिन्-‘‘कुनै पनि छोरीहरूले दुःख पाएँ भनेर नराम्रो बाटोमा जानु हुँदैन। सामाजिक कार्यमा संलग्न भएर स्वस्थ समाज निर्माणमा लाग्नु पर्छ। युवाहरू पनि नराम्रो बाटोमा नलागेर हाम्रो संस्थामा आएर सेवा कार्य गर्न सक्छन्।’’ आफ्नो युवा अवस्थालाई यसरी समाज सेवामा समर्पित गर्ने विन्ध्या वर्त्तमान समाजका प्रत्येकवर्गका लागि उदाहरण र प्रेरणाका प्रतीक हुन्। उनलाई काम गर्ने शक्तिको कामना गर्दै शुभकामना!
(यसपालीको भीड़भीत्रको अनुहारमा विशेष सहयोग पुर्याउने पत्रकार भाई शेखर खवासप्रति आभार प्रकट गर्दछु)