Bikram Bhattrai

09/01/2013 09:50

सानो मान्छे ठूलो आत्मविश्वास  

 ----सञ्जय प्रधान---- 

        सृष्टि निर्माताको सृजनात्मक खेलको रहस्य  बुझ्न धेरै गाह्रो छ। मान्छे जन्मिन्छ अनि मर्छ यो क्रम सृष्टिको अनन्तकालसम्म निरन्तर चलिरहन्छ। मानव जीवनको सत्य भनेको पनि यहि नै हो। अनि यहि सत्यभित्र जन्मदेखि मृत्युका दिनसम्म प्रत्येक मान्छेको जीवन विभिन्न तह र तप्कामा संघर्षमय भएर चलिरहेको हुन्छ। संघर्षमय जीवनमा कतिलाई भने आफ्नै जीवनसित कठीन संघर्ष गर्न पर्ने हुन्छ। तर उनीहरूको संघर्ष भने आममानिसहरूलाई आत्मविश्वासका साथमा प्रेरणा दिलाउन सक्ने खालका हुन्छन्‌। यस्ता प्रत्येक संघर्षशीलहरूलाई अर्न्तमनबाटनै सलाम। यसपालीको भीड़भित्रको अनुहारमा प्रस्तुत छ पूर्व सिक्किमको राङ्कास्थित सामालिङदुमका बाल नायक विक्रम भट्टराई जसले जन्मैदेखि आफ्नै जिन्दगीसित संघर्ष गर्दै आएको अहिले एघार वर्ष पुगिसक्यो। आममानिसहरू भाग्यमाथि निर्भर रहन्छन्‌ तर यी अवोध बालक  विक्रमले भाग्यलाई कड़ा चुनौती दिंदै माथि उक्लिरहेका छन्‌। एघार वर्षकै उमेरमा उनी ठूलै कार्यक्रममा मुख्य अतिथि समेत भइसकेका छन्‌। विक्रम एकजना यस्ता बालक हुन्‌ जो दुइ हात दुइ खुट्टा भएकाहरूका लागि गतिलो उदाहरण हुन्‌।

कुरा हो 18 नाभेम्बर 2002 सालको। सो दिन नरपति भट्टराई (ग्राम पञ्चायतका उप-सभापति) र श्रीमती जानुका भट्टराई (सामालिङदुङ निम्न उच्च विद्यालयकी शिक्षिका) को अवस्था कस्तो भएको थियो भन्ने कुरा यहॉं उजागर गर्ने कोशिश गर्दा पनि गाह्रो पर्छ। श्रीमती जानुका भट्टराई गान्तोकको एसटीएनएम (सर टासी नामग्याल मेमोरियल) अस्पतालमा प्रसुती गृहमा भर्ती थिइन्‌। नरपतिले अस्पतालमा छोरा जन्मिएको कुरा राती एघार बजी डाक्टरबाट सुने तर निक्कै साह्रो झस्किए, परिवारको माहौलनै धर्मराएको थियो। वर्त्तमानलाई हेर्दा भविष्य धमिलो देखिन्दै थियो। भर्खर जन्मिएको छोराको दुवै हात थिएन। यस्तो समाचार सुन्दा दुइ पति-पत्नीको मनको अवस्था कस्तो भएको थियो सो कल्पनादेखिका बाहिरका कुरा हुन्‌। डाक्टरले दुवै आमा-बाबुलाई शान्तवना दिंदै आत्मविश्वास भरिदिए। ‘‘यहि नानीले पछि गएर चिन्हाउँछ’’ भनि डाक्टरले सो बेला भनेका कुरा आज नरपति कुरा गर्दै भन्छन्‌। विक्रमको जन्म दुवै हात बिना भएको हो। सानोमा बज्यै श्रीमती सीतामाया भट्टराईले धेरै स्याहारिन्‌। दुवै हात नभए पनि आफूभित्रको आत्मविश्वासले सक्षम छन्‌। आज विक्रमले जिउँदै गरेको जिन्दगीलाई हेर्ने हो भने दुवै हात, दुवै खुट्टा भएकाहरूलाई ठूलो चुनौती हो। उनीसित अतिनै बलियो आत्मविश्वास छ, प्रतिभा छ। अहिले विक्रम भर्खर एघार वर्ष मात्र पुगेको छ। अहिले उनी सामालिङदुमकै विद्यालय इन्दिरा मेमोरियल एकाडेमीमा कक्षा चारमा पढ़दैछन्‌। विक्रमको खुट्टानै हात हो। गर्नु पर्ने जति छ सबै खुट्टालेनै गर्छन्‌। उनको छेउमा बसेर हेर्ने हो भने घरि घरि ती सबै कामहरू हातले गरेको जस्तो लागेर झुक्किन्छ। बाबु नरपतिले बताएअनुसार डेढ़ वर्षको उमेरमा हिड़न थाले अनि दुइ वर्षको उमेरमा बोल्न थाले। उमेरले सानै भए पनि मज्जाले खोलिएर कुरा गर्छन्‌। यसै गफ्‌ गर्दा निर्धक्क भएर बोल्छन्‌ अनि बेला बेलामा आफ्नो बालक सुलभ पनि दर्शाउँछन्‌।

        विक्रम सामालिङदुमकै स्वच्छ रमाइलो प्राकृतिक वातावरणमा हुर्किन्दै गए। घर वरिपरिका हरियो रूखको डालामा विभिन्न किसिमका सुन्दर रङ्गी-विरङ्गी चरा-चुरूङ्गीहरूको सुन्दरता अवलोकन गर्दै सुमधुर आवाजभित्रको रमाइलो परिवेशमा रम्मिन्दै गए। टुकुल-टुकुल हिड़न थालेपछि घरमा भएका पेन्सिल आफैले खुट्टाले टिपेर बाल हृदयमा भएका मनका अभिव्यक्तिहरूलाई कागजमा कोर्न थाले। यसरी विस्तारै दिन प्रतिदिन खुट्टामा पेन्सिल च्यापेर कागजमा कोर्दै जॉंदा कहिले कुनै चराका चित्र त कहिले पुतलीका चित्र अनि कहिले फूलका चित्रहरू बनिन थाल्यो। बाह्र वर्ष पुगेकी दिदी अञ्जलीले भाईलाई आफूले बुझे जति र जाने जति चित्र बनाउन सिकाउँछिन्‌। खुट्टाले चित्र बनाइसकेपछि हेर्ने हो भने खुट्टामानै पेन्सिल च्यापेर बनाएको भन्न सकिन्दैन। बनाईसकेको चित्र हेर्दा हातले बनाएको जस्तो लाग्छ। चित्रकलामा अहिले छिप्पिएका छैनन्‌ तर उनीभित्रको चित्रकार भने विस्तारै मौलाउन सक्ने स्पष्ट हुन्छ। बाल चित्रकारितामा उनले राष्ट्रिय स्तरमा रजत पदक प्राप्त गरेका छन्‌। 14 नोभेम्बर 2011 सालमा दिल्लीमा महिला एवं बाल विकास मन्त्रालयको आयोजनामा भएको राष्ट्रिय बाल चित्रकला प्रतियोगितामा उनलाई ‘‘उत्कृष्ट उपलब्धि हेतु राष्ट्रिय बाल पुरस्कार-2011’’ रजत पुरस्कारले सम्मानित गरिएको छ। आईटीबीपी (इण्डो टिबेटन बोर्डर पुलिस) को आयोजनामा भएको खुल्ला चित्रकला प्रतियोगितामा 2012 सालमा कलकतामा पश्चिम बंगालको राज्यपालको बाहुलीबाट प्रमाण पत्र प्राप्त गरिसकेका छन्‌।  

        विद्यालयमा अरू साथीहरूले हातले लेख्छन्‌ भने विक्रमले खुट्टाले लेख्छन्‌। उनलाई डेस्क पनि अलग्गै बनाइदिएको छ। खुट्टामा पेन्सिल च्यापेर सजिलोसित लेख्छन्‌। बाबु नरपतिले छोरा-छोरीको लागि घरमा कम्प्युटर राखिदिएका छन्‌। विक्रम कम्प्युटर खुट्टालेनै चलाउँछन्‌। अरू नानीहरूले हातले माउस र किबोर्ड चलाएर कम्प्युटरमा गेम खेल्छन्‌ भने यता विक्रमले त्यस्ता सबै गेमहरू खुट्टाको औलालेनै माउस र कीबोर्ड चलाएर खेल्छन्‌। खुट्टाले इन्टरनेट चलाउँछन्‌ र सिक्किमको म्याप, नाम्ची सामड्रुप्चेस्थित गुरू रिम्पोछे पद्मसम्भवको विशाल मूर्ति र सोलोफोकको चारधाम हेर्न मन पराउँछन्‌।  यति मात्र होइन्‌ खुट्टाले माउस चलाउँदै कम्प्युटरको पेन्ट ब्रसमा किसिम किसिमका चित्रहरू बनाउँछन्‌। कम्प्युटर चलाउन स्कूलको किताबबाट सिकेको भन्छन्‌। कसरी चित्र बनाउन सिकेको भनि सोद्धा भन्छन्‌-‘‘आफै पनि अनि अञ्जली दिदीले पनि सिकाएको होे।’’ विक्रमलाई फूल, चरा र पुतलीहरूका साथमा कार्टुन बनाउन साह्रै मनपर्छ। शायद विक्रमलाई पुतली चॉंहि बढ़ी मनपर्ने भएकोले होला उनले बनाएको चित्रहरू हेर्दा कतिवटामा एक कुनामा पुतलीहरूनै बनाएका छन्‌। कागजमा चित्र बनाउँदा स्केच पेन, क्रेयोन्स्‌ र पेन्सिल प्रयोग गर्छन्‌। स्केच पेनले रंग भर्छन्‌ र सकेपछि हेर्दा हातलेनै काम गरेको जस्तो देखिन्छ। बसेर कम्प्युटर चलाउनु र चित्र बनाउनु मात्र होइन बाहिरतिर खुब खेल्न मन पराउँछन्‌। फुटबल खेल्छन्‌ अनि मिड फिल्डमा खेल्न मन पराउँछन्‌। विद्यालयमा पनि फुटबल खेल्छन्‌। अझ उनलाई नदेख्नेहरूलाई ब्याटमिन्टन पनि खेल्छन्‌ भन्दा अचम्भ लाग्छ। घरमा दिदी अञ्जलीसित मज्जाले ब्याटमिन्टन खेल्छन्‌। दिदी ब्यामिन्टनको र्‍याकेट चलाउँछन्‌ भने भाई विक्रमले खुट्टा चलाएर खेल्छन्‌। विक्रम एकजना राम्रा बाल धावक पनि हुन। 2011 सालमा नाम्चीको भाइचुङ स्टेडियममा  शारीरिक रूपमा असक्षमहरूका लागि खेलकूद आयोजना भएको थियो। सो खेलकूदमा विक्रमले पचास मिटरको दौड़मा प्रथम अनि एक सय मिटरको दौड़मा दोस्रो भएर सबैलाई चकित पारेका थिए।

         विक्रमलाई घरमा कसैले खुवाइदिनु पर्दैन। चिया पिउँछन्‌ कप हातले समातेको जस्तै गरेर खुट्टाले समाउँछन्‌। खुट्टालेनै चम्ची समातेर खाना खान्छन्‌। बिहान दॉंत माझ्छन्‌ त्यो पनि खुट्टालेनै ब्रस च्यापेर  गर्छन्‌। यस्ता कामहरूका लागि कसैमाथि निर्भर छैनन्‌। यतिनै हो लुगा लगाउन र बाथरूमका लागि मात्र साहरा चाहिन्छ। बारीमा यता उती काम परे त्यो पनि हल्का-फूल्का चिज गर्दनमा च्यापेर बोक्दै काम पनि सघाउँछन्‌। पढ़नमा पनि निक्कै राम्रा छन्‌। उनलाई मोरल साइन्स्‌ पढ़न धेरै मन पर्छ। सानै भए पनि अन्धविश्वासमा पटक्कै विश्वास गर्दैनन्‌। उमेर सानो छ तर आत्मविश्वास भने धेरैनै बलियो छ। आत्मविश्वास बलियो भएको कारणले गर्दानै धेरै कुरामा सक्षम छन्‌। मिलनसार स्वभाव भएका विक्रम बाबुसित बाहिरतिर यता उती घुम्न गएको बेला असहाय मानिसहरू देख्दा औधीनै माया लागेर आउँछ भन्ने कुरा गर्छन्‌। राष्ट्रिय बाल चित्रकलामा रजत पदकले सम्मानित भएपछि सिक्किममा विभिन्न विद्यालय, साथै संघ-संस्थाहरूबाट दर्जनपल्ट भन्दा बढ़ी अभिनन्दित भईसकेका छन्‌। सामालिङदुम निम्न माध्यमिक पाठशाला, रूम्तेक विद्यालय, न्याशनल ट्रस्ट अफ्‌ इण्डिया लोकल लेभल कमिटी (पूर्व) लगायत अन्य विभिन्न संघ-संस्थाहरूबाट सम्मानित भइसकेका छन्‌। थुप्रै ‘‘बस अनि चित्र बनाउ प्रतियोगिता’’ हरूमा धेरैपल्ट जिती सकेका छन्‌।

छोराको प्रतिभा निखारिन्दै गइरहेको साथै समाजमा सानै उमेरमा सम्मान पाउँदै गइरहेकोमा बाबु-आमा दवै  हर्षित छन्‌। अहिले विस्तारै छोराले आमा-बाबु चिन्हाउँदै छन्‌। 22 दिसम्बर 2012 को दिन सेन्ट्रल पाण्डाममा दंगाल वंशोत्थान सिक्किम राज्य समितिको आयोजनामा भएको श्रीमद्भागवत्‌ महापुराण ज्ञान यज्ञको कार्यक्रममा विक्रमलाई मुख्य अतिथिको रूपमा राखेर विशेष सम्मान दिइएको थियो। केटा-केटीहरूमा पनि सामाजिक दायित्वको भावना जागृत गराउन साथै यसप्रति प्रेरणा प्राप्त होस्‌ भन्ने विचार लिएर सो कार्यक्रममा एकजना सानो बालकलाई मुख्य अथिति राखिएको भन्ने कुरा समय दैनिकका सम्पादक पारसमणि दंगाल बताउँछन्‌। उनी भन्छन्‌-‘‘हिजोआज विसङ्गती-विकृति आउँदैछ। आमा-बाबुलाई पनि नटेर्ने र सामाजिक दायित्वदेखि भाग्ने भइरहेका छन्‌। विक्रमको दुवै हात छैन्‌ तर सबै काम खुट्टाले गर्छन्‌। उबाट धेरै सिकोस्‌ अनि प्रेरणा प्राप्त होस्‌ भन्ने उद्देश्य लिएर मुख्य अतिथिको रूपमा बोलाएका हौं।’’ बाबु नरपतिका कुराअनुसार दिल्लीमा राष्ट्रिय प्रतियोगितामा रजत पदक प्राप्त गरेपछि विक्रममा धेरै अनुभव र आत्मविश्वास  आएको छ। छोरा अहिले जति सक्षम छन्‌ पहिला त आमा श्रीमती जानुका भट्टराईलाई यस्तो हुन्छ जस्तो लागेको थिएन। उनी भन्छिन्‌-‘‘अहिले पहिलाको भन्दा धेरै सक्षम भएको छ। तर जीवनमा अझ चुनौतीहरू छन्‌।’’ भगवानमाथि विश्वास गर्छन्‌ र बाल सुलभ दर्शाउँदै भन्छन्‌-‘‘देख्नु पनि पर्‍यो नी!’’  सिक्किम सरकारबाट उनले अहिले शारीरिक असक्षमहरूले पाउने पर्ने सहुलियत 6 सय रूपियॉं मासिक पाउँदैछन्‌ र सो ब्यांकमा उनको खातामा जमा गरिदिन्छन्‌।

         अहिले त उनी अझ राम्रा राम्रा चित्रहरू बनाउने अभ्यासमा छन्‌। यसको लागि उनलाई राम्रो गुरूको आवश्यकता छ। आफ्नो बलियो आत्मविश्वासले सक्षम व्यक्तिहरूकै हाराहारीमा पुगेका छन्‌।  प्रत्येक मानवका लागि आत्मविश्वासका प्रतीक विक्रमले ठूलो भएर भविष्यमा डाक्टर बन्ने लक्ष्य राखेका छन्‌। विक्रमको जीवनमा यहॉं बाइबलका यी सुसमाचार सान्दर्भिक हुन्छ-‘‘आफ्नो हिम्मत नफाल, जसको ठूलो इनाम छ।’’ हिब्रु 10ः35।। उनको लक्ष्य प्राप्तिको लागि शुभकामनासहित-सलाम!

विक्रमका बाबु नरपति भट्टराईको सम्पर्क नम्बरः+91-9475009146