Deepak Thapa
14/12/2012 23:49
यसलाई भनिन्छ जीवन संघर्ष
-----सञ्जय प्रधान
कागज र रिबिनका सुन्दर फूलहरू साथै गुड्डीहरू खुट्टाले बनाउँछन् भन्दा धेरैलाई पत्यार नलाग्ला। तर दार्जीलिङ पहाड़ी भेकमा एकजना यस्ता व्यक्ति पनि छन्, जसले आफ्नो संघर्षमय जीवन बिताउँदै यस्ता सामग्रीहरू बनाएर स-साना बाल-बालिकाहरूलाई खुशी राख्छन्। उनको सीप र संघर्षलाई हेर्दा कसैको पनि आँखामा आँसु छल्किएर मनै कुड़िएर आउँछ।
वर्त्तमान समाज कति विकसित अनि कति विकृत भएको छ, यस बारेमा 46 वर्ष पुगेका दीपक थापा (मगर) लाई थाहा छैन्। यस्तै आधुनिकवादतिर लम्किन्दै गरेको वर्त्तमान समाजलाई पनि वर्षौदेखि आफ्नो जीवनसंग कठिन संघर्ष गरिरहेका दीपकहरूका विषयमा थाहा छैन्। खरसाङदेखि करीब बीस किलोमिटर टाड़ो जोगमाया चियाबगानमा बस्छन् दीपक। उनको दुवै हात चल्दैन्, कम्मरको भाग जीउ पनि चल्दैन अलिक खुम्चिएको दुइवटा खुट्टा मात्र चल्छ। उनी बोल्छन् तर स्पष्ट बोल्न सक्दैनन्। बोल्दा उनलाई धेरै गाह्रो पर्छ। आफ्नो ओछ्यानबाट उठ्न पनि सक्दैनन्। खाना सुतेर आफै खान्छन् सोझै थालमा मुख हालेर। कसैले चम्चीले खुवाइदिन पर्दैन। दिशा पिसाब ओछ्यानमानै गर्नुपर्छ। नुहाउने कामहरू घरकाहरूले गरिदिन्छन् अनि कहिले छेउ छाउका छिमेकीले नुहाइदिन्छन्। यसरी आफ्नै जीवनसंग संघर्ष गरेको 46 वर्ष भइसक्यो।
दीपक शारीरिक अवस्थाले नब्बे प्रतिशत विकलांग भए तापनि के भयो त? उनसित दृड़ आत्मविश्वास छ, राम्रो सीप छ। स्वभावले हँसिला छन्। कति वर्ष पुग्नु भयो भनी सोद्धा बल गरेर भन्छन्-‘‘छ्य़़़ा..............लिस..........व..र्ष।’’ उनले खुट्टाले कागजेको फूलहरू बनाउन थालेको पैंतीस वर्ष भइसक्यो। कागज र रिबीनको फूलहरू बनाउन एघार वर्षको उमेरदेखि आफै सिकेको बताउँछन्। यस बारेमा सोद्धा उनी भन्छन्-‘‘मैले आफ्नै मानोज्ञानले सिकेको।’’ फूलहरू बनाउँदा खुट्टालेनै कैंची चलाएर काट्छन्। कागजमा गम पनि खुट्टालेनै लगाउँछन्। खुट्टाले धारिलो छुरी चेपेर कागज काट्छन् साथै मसिना बॉंसहरू पनि सजिलोसित काट्छन्। स-साना विद्यार्थीहरूले विद्यालयमा लानु पर्ने कागजका हस्तकलाहरू बनाइदिन्छन्। हातलेनै गाह्रो बनाउन गाह्रो पर्ने गुड्डी दिपकले खुट्टरलेनै बनाएर सबैलाई चकित पारेका छन्। गुड्डीको सिजनमा खुट्टालेनै गुड्डी बनाइदिन्छन्। लामेा लामो बॉंसहरू खुट्टामा छुरी चेपेर गुड्डीको लागि चिर्छन्। यसर बनाउँदा कसैले केही पनि सघाउन पर्दैन। उनले यसरी काम गरेको सबैले अचम्भ मानेर हेरिहन्छन्। त्यही गुड्डी साना बालकहरू खुशी हुँदै उड़ाउँछन्। उनले बनाएका फूलहरू हेर्ने हो भने कुनै सिपालु हस्तशिल्पीको हातले बनाएको जस्तो लाग्छ। उनको मनेारञ्जनको लागि प्रिय साथी रेडियो हो। रेडियो खुट्टाले खोल्छन् र स्टेशन मिलाउँछन्। खुट्टालेनै रेडियोको ब्याट्री फेर्छन् अनि कभर बन्द गर्छन् यति मात्र होइन् रेडियोको तार चुँड़िए खुट्टालेनै जोड़छन्। नेपाल रेडियो र खरसाङ रेडियो सुन्छन्। यसमा नेपाल रेडियो बढ़ी सुन्छन्। खबर कागज पढ़नु हुन्छ भनि संोद्धा बल गरेर भन्छन्-‘‘पढ़नु जान्दिन्।’’ उनी पढ़न जान्दैनन् तर रेडियोमा हिन्दी र नेपाली समाचार सुन्छन्। रेडियोमा बढ़ी भजनहरू सुन्ने गरेको कुरा दीपक बताउँछन्। टीभीमा उनी भगवानको धारावाहिकहरू हेर्न मन पराउँछन्। उनको कोठामा तीनवटा भगवानका मूर्तिहरू छन्, जसलाई सुतेरै पूजा गर्छन्। दीपक भन्छन्-‘‘मलाई भगवानको पूजा गर्दा खुशी लाग्छ।’’ खाना शुद्ध शाकाहारी खान्छन् ।
दीपककी आमा श्रीमती शान्ति मगरले बताएअनुसार, 6 महीनाको शिशु हुँदा उसलाई टाइफइड भएको थियो। त्यसबेला उल्टा औषधी भएको कारणले त्यसै बेलादेखि दीपकको अवस्था बिग्रियो। 6 महीनासम्मको हुँदा उसको हात-खुट्टा राम्रै चल्थ्यो अनि स्वस्थ थिए। दीपक कलकताको बेहलामा जन्मिएका हुन् । 1965 सालतिर उनको परिवार जोगमाया चियाबगानमा आएका हुन्।
दीपकका माइला भाई नारायण थापाले बताएअनुसार जिल्ला समाजिक कल्याण कार्यलयबाट विकलांगको प्रमाण पत्र दिइएको छ, तर उनले एकजना विकलांगले पाउनु पर्ने अधिकारको सहुलियत सरकारबाट केही पनि पाएका छैनन्। अहिले दीपक कान्छा भाई विकाश थापासित बस्छन्। उनको संघर्षमय जीवनलाई हेरेर घरकाहरू दु:खी हुन्छन्। तर उनको मिलनसार हँसिलो स्वभाव र सीपलाई हेरेर खुशी पनि हुन्छन्। शहरदेखि अभेक ठाउँमा भएका हुनाले दीपकको सीप र कला यतिका वर्षसम्म पनि फस्टाउन पाएन। यस विषयमा सरकारी मात्र होइन गैर सरकारी संस्थाहरू पनि अघि आउनुपर्छ । दीपकको सीप र कलालाई समाजले त्यसै खेरो जान दिनुहुँदैन। उनको कठीन संघर्षमय जिन्दगी समाजमा धेरैलाई प्रेरणा साथै आत्मविश्वासको स्रोत हुनेछ भने बिनासित्तीमा डुलिहिड़ने कतिपय पाखुरेहरूका लागि चुनौतीपूर्ण उदाहरण हो।।
(सोमबार 11 मई 2009 मा प्रकाशित)