‘उकाली ओह्रालीहरूमा, भञ्ज्याङ अनि चौतारीहरूमा...’ नेपाली संसारकी सुप्रसिद्ध गायिका तारा देवीले गाएकी यो गीत नसुन्ने नेपाली विरलै पाइएला| तेह्र वर्षअघि खरसाङको स्प्रीङ साइडमा ‘प्रतिभा परिवार’ -को कार्यक्रममा डोमा शेर्पाले यो गीत गाउँदा सबै गीतमै चुर्लुम्म डुबेका थिए अनि एकैचोटि तालीको गड़्गड़ाहट बर्सिएको थियो| उनले गाउँदा सबैले आफ्ना जीवनका उकाली-ओह्राली सम्झिएका थिए| कैयौं उकाली र ओह्रालीमा सङ्घर्ष गर्दै नेपाली संसारलाई उपहारस्वरूप प्रदान गर्न थुप्रै नयॉं गीतहरूको सृजनामा तल्लीन उनी युवा गायिका, गीतकार, कम्पोजर साथै शिक्षिका हुन्|
बस्तीको सङ्घर्षमय जीवनका झरिला, रापिला भुप्रोले भरिएका पथहरूमा हिँड्दै आएकी श्रीमती डोमा शेर्पा सङ्गीतको क्षेत्रमा लड़ाकू कलाकार हुन्| गायिका पनि लड़ाकू हुन्छ भन्दा उदेकै लाग्ने कुरा हो| उनी सॉंच्चै लड़ाकू नै हुन्| यसैले उनको अघि आएका यमदूत पनि फर्किएका हुन्| नेपाली सङ्गीतको संसारमा उनले गर्नुपर्ने कामहरू धेरै छन्| अहिलेको नयॉं पीढ़ीमा डोमा एकजना सशक्त गायिका, कम्पोजर र गीतकार हुन्| उनको गीतमा जो कोही पनि नाच्नसक्छन्, रमाउनसक्छन्, रूनसक्छन्| ‘खुला छ आकाश’, ‘कहिले काहीं’, ‘उँभो उँभो लेकमा’, ‘शैलुङ पारि’ ‘चरी भनिदेऊ’ उनका उत्कृष्ट गीतहरू हुन्|
जिन्दगीमा धेरै उतार-चढ़ाउसँगै उनले आँधी-बेह्री, हुरी-बतास तुफानसमेतको सामना गरेकी छन्| भारतीय सेनाको ६/११ गोर्खा राइङ्गल्सका जेसीओ सुबेदार स्व. फुरी शेर्पा र श्रीमती निमा ल्हमु शेर्पाकी छोरी डोमाको जन्म सोनादादेखि मुनि मुण्डा बस्तीमा भएको हो| बाबुको पोस्टिङ मुम्बईमा हुँदा सानोमा मोण्टेसरी उतै सैनिक विद्यालयमा पढ़िन्| मुम्बईमा पढ़्दा बाल्यकालमा हिन्दीको प्रभाव परेको हुनाले तोते बोलीमा नै ‘ताक झूम नाचो नशे में...’ गीत गाउँदै घरमा नाचिरहन्थिन्| मुम्बईबाट बस्तीमा आएपछि प्राथमिक शिक्षाको लागि सोनादाको होलिक्रस स्कूलमा पढ़िन्| बस्तीको परिश्रमी जनजीवनमा हुर्किएकी उनी गाईको लागि घॉंस काट्न जॉंदा गीत गाउँथिन्| नृत्यमा इच्छुक हुँदा घरमा आमाको साड़ी लगाएर नाचिरहन्थिन्| स्कूलमा हुने कार्यक्रमहरूमा गुरुमाहरूले नृत्यको लागि सबैभन्दा पहिला डोमालाई नै छानिहाल्थे| घरमा थियो ब्ल्याक एण्ड ह्वाइट टीभी, त्यतिबेला दूरदर्शनमा शास्त्रीय नृत्यको कार्यक्रम हेर्नका लागि सॉंझमा कृषि दर्शन हेरेर रूङ्थिन् अनि विभिन्न मुद्राहरू सिक्थिन्| १९८७ सालको अन्त्यतिर तीन कक्षामा हुँदा एकदिन आमासित दार्जीलिङ जॉंदा त्रिवेणी सङ्गीतालयमा प्रशिक्षिका ल्हमू शेर्पाले शास्त्रीय नृत्य सिकाउँदै गरेको देखिन् र भर्ती भइन्| १९८८ सालको ङ्गरवरी महीनामा ४० दिन हड़ताल हुँदा दार्जीलिङमा नृत्य सिक्न जान सकिनन्|
स्कूलमा हिसाब पढ़ाउनु हुने गुरुमा द्रौपदी छेत्रीले गीत सिकाउँथिन्| अल इण्डिया रेडियो (आकाशवाणी) खरसाङमा सुपरिचित गायिका श्रीमती डेजी बराइलीको गीत ‘बिर्सिजाने निष्ठुरीले...’ सुन्दा सानी बालिका हुँदै नै गीतले प्रभाव पारेको हो| एकदिन डेजी बराइली पति सङ्गीतकार चन्दन लोम्जेलसित आफन्त भेट्न मुण्डामा आउँदा आमाले टाढ़ैबाट ‘‘उनै हुन् डेजी बराइली’’ भनेर देखाइन्| आज पनि ती कुरा सम्झिँदै भन्छिन्, ‘‘त्यतिबेला डेजी दिदीलाई देख्दा उनको व्यक्तित्वले गहिरो प्रभाव पार्यो|’’ स्कूलको प्रतियोगितामा त्यही गीत गाइन्| गायिका हुन्छु भन्ने त उनले सोचेकै थिइनन्|
होलिक्रस स्कूलमा दिउँसो साड़े तीन बजीपछि प्रधानाध्यापिका सिस्टर कुरूणाले गायनको कक्षा सञ्चालन गरेर खुबै राम्रो पहल गरेकी थिइन्| त्यहॉं अरूले हार्मोनियम बजाएको देख्दा पॉंच कक्षामा पढ़्दै गरेकी डोमालाई पनि बजाउन मन लाग्यो| हार्मोनियम बजाउनकै लागि गायन कक्षामा भर्त्ती भइन्| सङ्गीतकार गणेशकुमार घिसिङले हार्मोनियम बजाउन सिकाउँदै सारेगमप सिकाउँथे| जब रागहरूको अध्याय आइपुग्यो, त्यतिबेला थाहा पाइन् आङ्गूले गायन सिकेको कुरा| झुक्किएर भए पनि शास्त्रीय गायन निक्कै सिकिसकेकी थिइन्| बाल्यकालको यस्तो कुरा सम्झिँदै उनी खित्का छोड़ेर हॉंस्छिन्| यसपछि सोनादामै सुर तरङ्ग सङ्गीत महाविद्यालयमा शास्त्रीय गायनको तालिम लिइन्| त्यहॉंका गुरु थिए प्राचार्य देवकुमार प्रधान र कैलाश राई| गायनलाई अझ निखार्न ‘श्रुति निकेतन’ दार्जीलिङमा सूर्यकुमार रोय, एल.एन. प्रधान र स्व. जे.सी. राईसित पनि सिकिन्| ‘‘गायन सिक्नका लागि हार्मोनियम चाहिन्थ्यो’’, उनी भन्छिन्, ‘‘हार्मोनियम किन्न सकिएन| घरमुनि बस्नुहुने अङ्कल गजेन्द्र सुब्बाको हार्मोनियम थियो र उनले रियाज् सकेपछि म चलाउँथें| हार्मोनियम नभएकै कारणले क्लासमा पनि छिटो जान्थें र ढीलो आउँथें|’’ निक्कै सङ्घर्षहरू झेलेर उनले शास्त्रीय गायनमा ‘बी.म्युज्’ गरिन्| १९९४ सालमा आकाशवाणी खरसाङमा अडिशन पास गरिन्|
कक्षा आठमा हुँदा ‘कला मञ्च’ -द्वारा रङ्मूकमा आयोजित आधुनिक गीत प्रतियोगितामा पहिलोपल्ट भाग लिएर विजयी भइन्| सो बेला उनलाई आधुनिक सङ्गीत कस्तो हुन्छ थाहा थिएन| प्रतियोगितामा उनले सङ्गीतकार पवन लामाले सङ्गीत भरेका देवकुमार प्रधानको गीत ‘यहॉं को छन् र आफ्नो भन्ने...’ गीत गाएकी थिइन्| दर्शकहरूको खचाखच भीड़ भएको कार्यक्रमको मञ्चमा गाएको यही नै प्रथमपल्ट थियो| १९९८ सालमा दार्जीलिङमा गोदुनिसद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा ‘सर्वश्रेष्ठ गायिका’ -को उपाधि पाइन् भने ‘युगल’ मा उनी र पवन लामा विजयी भएका थिए| पहिलो कमर्शियल प्रोग्राम ‘स्काइलार्क’ -सित सोनादामा गरिन्|
होलिक्रसबाट माध्यमिक सकेपछि सन्त टेरेजा स्कूलबाट उच्च माध्यमिक गरिन्| त्यहॉं पढ़्दा दार्जीलिङको चर्चित ब्याण्ड ‘कार्निभल’ -सित उनले धेरै ठाउँमा कार्यक्रमहरू गरिन्| खरसाङको ‘बागीना’ साथै अन्य ब्याण्डहरूसित पनि कार्यक्रम गरिन्| सन्त जोसेङ्ग कलेजबाट १९९९ सालमा बीएससी सकेपछि २००२ सालमा रामकृष्ण बी.टी. कलेज दार्जीलिङमा बीएड गरिन्| सङ्गीतले उनको शिक्षालाई बाधा दिएन| सङ्गीतसँगै शिक्षाको यात्रालाई पनि अघि बढ़ाउँदै विनायक मिशनबाट एमएससी गरिन्|
१९९७ सालमा डोमा र पवन लामाले संयुक्त रूपमा एल्बम ‘टर्मिनस’ निकाले| यसको गीत ‘ओ रामा, हरे कृष्ण’ -को म्युजिक भिडिओ नेपालको ‘इमेज च्यानल’- ले निकालेको थियो| उनी भन्छिन्, ‘‘यसले मलाई धेरै चिनायो|’’ ‘टर्मिनस’ कै अर्को गीत ‘सृजना श्रृङ्गार’ -को म्युजिक भिडिओ दार्जीलिङको ‘हिमाली च्यानल’ -ले निकालेको थियो| १९९९ सालमा लोक र आधुनिक सङ्गीतको सम्मिश्रणमा ‘सैलुङ पारि’ एल्बम निकालिन्| गीतकार अजित बस्नेतको शब्द अनि पवन लामाले सङ्गीत भरेका गीत ‘चरी भनिदेऊ...’ इमेज च्यानलले निकालेको थियो| नेपाली सङ्गीतमा यो गीतलाई राम्रो स्तरको मान्नसकिन्छ| यसपछि ‘सुनौलो सपना’ अर्को एल्बम निकालिन्| यसै वर्ष २०१५ सालमा उनले ‘सेरवी रिकसुम’ शेर्पाको संस्कारमाथि शेर्पा भाषामा एल्बम निकालेकी छन्| यसबाहेक उनले तामाङ, तिब्बती साथै लिम्बू भाषाहरूमा पनि गीत गाएकी छन्| उनी जुनै पनि भाषामा गीत गाउनसक्छिन्| उड़िया भाषाको गीतसमेत पनि राम्रो गाउँछिन्| भवेश ठकुरीद्वारा निर्देशित चलचित्र ‘तुवॉंलो’ -मा सुपरिचित नाटककार किरण ठकुरीको शब्द भएको ‘सुनौलो सपना’ एल्बममा उनले गाएको गीत ‘हेलम्बु डॉंड़ापारि’ राखिएको छ| ल्हमु शेर्पाद्वारा निर्देशित यस गीतमा डोमा स्वंयले पनि नृत्य गरेकी छन्|
डोमाको साङ्गीतिक यात्रा साह्रै नै सजिलो छैन| जीवन यात्रामा उनले यमदूत साथै सुनामीसमेत सामना गरेकी छन्| एकपल्ट उच्च रक्तचापले उनलाई अचेत बनायो| उच्च रक्तचापको घातले डोमाको शरीरको देब्रे भाग एकदिन पुरै चलेन| उनको यस्तो अवस्था देख्दा परिवार साथै सबैको होशै उड़ेको थियो| उनको अघि यमदूत नै खड़ा भएको थियो| तर यहॉंको मानव समाजमा डोमाले गर्नपर्ने थुप्रै राम्रा कामहरू रहेको हुनाले अघि आएको यमदूत फर्किए| सङ्गीतको यात्रामा कतिपल्ट उनको हृदयसमेत चिरिएको छ|
घरमा त साङ्गीतिक माहौल थिएन| बाबु फौजमा देशको सिमानाका रक्षक| यता बस्तीको सङ्घर्षपूर्ण जीवन| यस्तोमा उनलाई कसरी सङ्गीतको प्रभाव पर्यो, यो बुझ्न गाह्रो कुरा हो| कलेज पढ़्दा छुट्टीमा आफन्तकहॉं काठमाण्डौं जॉंदा सङ्गीतको भविष्य त्यहॉं देख्दा उतै बस्ने इच्छा गरेकी थिइन्| विधिको विधान भनौं वा विडम्बना अचानक बाबु क्यान्सरले थलिएको समाचार पाइन्| दाज्यू पासाङ निमा कलकत्तामा थिए| बाबुको समाचार सुन्दा डोमाको हृदयमा कस्तो आँधीबेह्री चलेको थियो होला सो महसुस गर्न धेरै गाह्रो कुरा हो| त्यतिबेला उनको प्रार्थना गीत ‘म्हाने’ रेकर्डिङ हुनैलागेको थियो र सो परा गरेर फर्किन्| यता डाक्टरले बाबुलाई समय दिइसकेका थिए| २००१ सालमा बाबुको देहावसान भयो| डोमा थिइन् बाबुको अति नै प्यारी छोरी, यो दुःख सहनु धेरै कठिन परेको थियो| सो बेलाको यस्तो हृदय नै चरक्क पोल्ने कुरा भन्दा उनको आँखाबाट आँसुको धारा बग्छ| बररर आँसु झार्दै भन्छिन्, ‘‘मैले ग्य्राजुएशन गरेकोमा बाबाले ममाथि गर्व गर्नुहुन्थ्यो| बाबाले मलाई असाध्यै माया गर्नुहुन्यो| छोरीहरूले धेरै पढ़्नुपर्छ भन्दै हौसला दिनुहुन्थ्यो|’’ बाबु एकजना प्रगतिशील व्यक्ति थिए| सेनामा भर्ती जॉंदाखेरि बाबुको शिक्षा उस्तो थिएन तर थिए एकजना आत्मविश्वासी मेहनती व्यक्ति| सेनामा आङ्गूले पाउने सहुलियतहरू अरूलाई दिएर छाउनीमै पढ़े| बाबुकै सपनालाई साकार परिन् डोमाले पढ़ेर| बीएड गर्न छेमा श्रीमती पासाङ ल्हमु श्रेष्ठले प्रोत्साहन दिएको बताउँछिन्|
शिक्षिकाजस्तो व्यस्त कार्य अनि एकजना जिम्मेदार आमाको भूमिका निर्वाह गर्दै छोरा पाल्जरलाई हुर्काउँदै सङ्गीतको यात्रालाई निरन्तरता दिइरहेकी छन्| पति उर्गेन छिरिङ भोटियाले सङ्गीतको क्षेत्रमा उनलाई धेरै हौसला साथै सहयोग दिन्छन्| परिवारका यस्तै हौसलाहरू बटुलेर २००८ सालमा सङ्गीतको महासमरमा लड़्न देशको चर्चित टीभी च्यानल ‘जी बङ्ला’ -को रियालिटी शो-मा पुगिन्| यसमा पुग्नका लागि सुपरिचित गायक कर्म शेर्पालाई धन्यवाद जनाउँछिन्| ‘जी बङ्ला’ -मा उनी भोटिङ राउण्डमा पुगेर आठवटा एपिसोड गरिन् र दुइपल्ट ‘सङ् अव् द् डे’ (शो टपर) पनि पाइन्| ‘जी बङ्ला’ -मा सबैले उनको प्रतिभाको कदर गरेका थिए| तर दार्जीलिङ पहाड़मा हाम्रै लोसेपनाले उनको प्रतिभालाई राम्ररी हेर्नसकेन अनि सहयोगको लागि अर्को भेल उर्लिएन| यसरी डोमा मात्र होइन थुप्रै असल प्रतिभाहरू रियालिटी शो-हरूबाट फर्किरहेका छन्|
नेपाली सङ्गीतको संसारमा डोमा एकजना यस्ता नारी प्रतिभा हुन्, जो वर्तमान युवा पीढ़ीमा पाउन गाह्रो पर्छ| उनीसित गाउने, गीत रचना गर्ने, सङ्गीत सृजना गर्ने बेजोड़को क्षमता छ| करीब दुइ दर्जन गीतहरू आङ्गै शब्द रचना गरेर सङ्गीत भरेकी छन्| उनले सङ्गीत भरेका सबै गीतहरूमा राम्रो भेराइटी पाइन्छ| उनले गाएका आधुनिक गीतहरूको स्तर उत्कृष्ट छन् अनि लोक भाकाका गीतहरूले रौसिलो माहौल जमाउनसक्छन्| गीतलाई सङ्गीतको सागरमा चुर्ल्लुम्मै डुबाउँछिन्, जसले गर्दा गीत सुन्दा सङ्गीतभित्र तैरिन पुगिन्छ| मनभित्र उर्लिएका भावनाहरूलाई उजागर गर्छिन् र सङ्गीतसँगै उरालेर गीत सृजना गर्छिन्| उनी भन्छिन्, ‘‘मैले पनि यस्तो गीत गाउनु पाएँ हुन्थ्यो भनेर मेरो आत्मसन्तुष्टिको लागि सङ्गीत भर्न थालेकी हो|’’ ‘सुनौलो सपना’ एल्बमका आठवटा गीतहरू उनले नै गाएकी छन् भने ६ वटा गीतहरूको शब्द र सङ्गीत आफैले भरेकी छन्| यसै एल्बमको गीत ‘दुर देश’ उनले बाबु पल्टनमा हुँदाखेरिको अनि बितेपछिका कुरालाई समेटेर रचना गरेकी हुन्| अहिले उनी शेर्पा समुदायको लोक बाजा ड्राङ्यान (डोङमेन्-टुङ्ना) बजाउन सिक्दैछिन्| २००१ सालमा प्रज्ञा प्रतिष्ठान काठमाण्डौंमा भएको कार्यक्रममा ‘वज्र कला कुञ्ज’द्वारा सम्मानित भएकी हुन्| यसबाहेक उनी थुप्रै संघ-संस्थाहरूबाट सम्मानित भइसकेकी छन्| १९९९ सालमा अल इण्डिया शेर्पा एशोशिएसन र स्याण्ड्रुप तारगेलिङ सोनादाले ‘मञ्जुश्री’ -को मूर्ति प्रदान गरेर सम्मान जनाएका थिए|
अहिले सोनादाको होलिक्रस स्कूलमा उनी विज्ञानकी शिक्षिका हुन्| विज्ञान र सङ्गीतलाई उनले खुबै राम्रो मिसाएकी छन्| विज्ञानलाई हेरेर उनी सङ्गीत विकास गर्छिन् र भन्छिन्, ‘‘विज्ञानमा नयॉं नयॉं कुराहरू सिक्न पाइन्छ अनि यो कहिले सकिँदैन| सिक्ने कुरा कहिले सकिँदैन र सङ्गीत पनि त्यस्तै हो|’’ स्कूलमा पढ़ाउन थालेपछि सङ्गीत बिर्सिन्छिन् अनि सङ्गीतका बेलामा यसैभित्रमा तैरिन्छिन्| शिक्षिकाको रूपमा विद्यार्थीहरूलाई पाठ्यक्रमबाहेक महान् व्यक्तिहरूका जीवन दर्शनबारेमा बताउँछिन्| उनलाई सङ्गीतको मात्र होइन, आध्यात्मिक विषयको पनि ज्ञान छ| जीवनका उतार चढ़ाउहरूमा मार्गदर्शन दिने श्रीमती कृष्ण तामाङलाई आध्यात्मिक गुरु मान्छिन्| उनलाई विभिन्न विषयमा सोध्दै जॉंदा प्रायः जान्दिनँ भन्छिन् तर कुरा गर्दै गएपछि प्रायः सबै जानेकी हुन्छन्| कुरा गर्दा गर्दै उनी बीच बीचमा हँस्यौली पनि गर्छिन्| उनका हँस्यौलीमा कतिपय कुराहरू विचार गर्नलायकको हुन्छ| आङ्गूलाई प्रोत्साहन दिँदै आएकी स्कूलकी प्रधानाध्यापिका सिस्टर सेरिन् साथै सबै शिक्षिकाहरूप्रति आभार प्रकट गर्छिन्| उनी भन्छिन्, ‘‘सिक्किममा राम्रो नचिने पनि त्यहॉंबाट धेरै सहयोग पाइरहेकी छु| अनि नेपालबाट पनि सहयोग पाइरहेकी छु| काठमाण्डौंको बुद्धिष्ट क्यासेट सेण्टरले मार्केटिङमा सहयोग गरेका छन्| सोनादा-दार्जीलिङमा मेरा सबै शुभचिन्तकहरूले प्ररेणा दिन्छन्| म सबैप्रति कृतज्ञ छु|’’
भारतमा ‘शेरवी रिकसुम’ -को विमोचन सिक्किमका मुख्यमन्त्री पवन चामलिङले गरेका थिए| मुख्यमन्त्री चामलिङका गीतहरू बारेमा सोध्दा उनी भन्छिन्, ‘‘उनले रचेका गीतहरू निक्कै गम्भीर खालका हुन्छन्| उनका शब्दहरूमा कुनै गीत जनवादी छन् भने कतिपय रोम्याण्टिक पनि छन्| उनी एकजना सशक्त गीतकार हुन्|’’ ‘‘गीत गाउँदा त्यसै गाएर हुँदैन| एउटा हुन्छ गायक अर्को हुन्छ कलाकार| कलाकारले कुनै पनि परिस्थितिमा गाउनसक्छन् र कलात्मक ढङ्गमा गाउनसक्छन्’’, गायनको क्षेत्रमा यस्तो छ उनको विचार| उनी एकजना सृजनशील कलाकार हुन् कुनै पनि परिस्थितमा सबै किसिमको गीत गाउनसक्छिन्, सङ्गीत सृजना गर्नसक्छिन्| थुप्रै एल्बम निकाल्ने हतार पनि गर्दिनन्| वर्त्तमान युवा पीढ़ीमा बिस्तारैसित नेपाली सङ्गीतको क्षेत्रमा उनी कारीगढ़ीको काम गर्दैछिन्| अझ धेरै उत्कृष्ट गीत सङ्गीतहरू उनीबाट सृजना होस्| शुभकामना॥