Eden Bhutia

09/10/2015 18:20

इडेन : जसको जीवन चित्रकलाको देन

 ‘‘नडरा, किनकि म तँसित छु। निरूत्साहित न हो किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु, म मेरो धार्मिकताको दाहिने हातले तँलाई सम्हाल्ने छु।’’ यशैय्या 41:10

 

-- सञ्जय प्रधान--

गलत उपचार हुँदा सुश्री छिरिङ इडेन भोटिया मृत्युकै मुखमा पुगेकी थिइन्। आफ्नो जिन्दगीलाई माया मारिसकेकी थिइन्। अवस्था यस्तो हुँदा पनि उनको अन्तर्मनमा भने आत्मविश्‍वास जीवित रहेको थियो। जीवनको यस्तो अवस्थामा चित्रकलाले उनलाई नयाँ जीवन दियो। उनीसित गजबकै प्रतिभा छ, आत्मविश्‍वास छ। जीवन हार्दै जानेहरूका लागि उनी प्ररेणा र हौसलाकी स्रोत हुन्। भर्खर 27 वर्ष मात्र पुगेकी इडेन मानव समाजलाई सचेत गराउने सशक्त उदाहरण हुन्।

मृत्युसित सङ्घर्ष गरेकी इडेन एकजना प्रतिभाशाली छोरी हुन्। भावनात्मक चित्रकलामा दिनदिनै निखारिँदै गएकी युवा चित्रकार हुन्। यसबाहेक उनी गायिका पनि हुन् साथै गीत लेख्छिन्, कविता लेख्छिन्। यस्तो प्रतिभा त उनीसित सानैदेखि थियो। तर आफ्नो प्रतिभा खोल्ने अवसर भने पाएकी थिइनन्। बिमारलाई त चित्रकला गीत, कविताले नै जितिन्। गान्तोकको नामनाङ निवासी सोनाम जाङ्पो भोटिया र श्रीमती शर्मिला छेत्रीकी छोरी इडेन 10 कक्षासम्म की-डी-खाङ स्कूलमा पढ़ेकी हुन्। यसै स्कूलमा उनले सानोमा चित्रकला अलि अलि मात्र सिकेकी थिइन्। गीत गाउने सानैदेखि इच्छा भएको हुनाले आफै सिकिन्। नाटक र नृत्य गर्ने इच्छा हुँदा हुँदै पनि यसको लागि स्कूलमा हुने कार्यक्रमहरूमा भाग लिइनन्। नौ दश कक्षामा हुँदादेखि कविताहरू लेख्न शुरू गरिन्। मनका भावनाहरूलाई कवितामा उजागर गरेर लेखेर आफुसित राख्थिन्। नेपाली र अङ्ग्रेजी दुवै भाषामा कविता लेख्छिन्। स्कूलमा रोम्याण्टिक कविता लेख्थिन् र साथीहरूलाई सुनाउँथिइन्। उनी भन्छिन्, ‘‘एक्लै हुँदा मनमा दुःख लागेको बेलामा मनभित्र सल्बलाएका कुराहरूलाई कवितामा परिणत गर्ने कोशिश गर्थें।’’ ‘तिम्रो स्पर्श’ इडेनको यो कविताभित्रको पंक्ति यस्तो छः

‘‘पानीको हरेक थोपा

हावाको हरेक झोंका

घामको हरेक किरणमा

तिम्रै स्पर्श खोज्दैछु...

यस्तै रहेछ जिन्दगी मेरो

जिउँदै छु म...जिउँदै छु...’’

देख्नमा मोडल बन्न सुहाउने अनि सानैदेखि गम्भीर स्वभावकी इडेनको चाहना मोडलिङमा रहेको छ। एघार-बाह्र कक्षा गान्तोककै वेस्ट पोइण्टमा पढ़ेपछि तादोङस्थित सिक्किम सरकारी महाविद्यालयबाट बी.ए. उत्तीर्ण गरेकी हुन्। उनको जिन्दगी एउटा सृजनात्मक लक्ष्यको पथमा हिँड़्दै थियो। सन् 2010 -देखि 2012 -सम्म गान्तोकमा नै पाल-साङ एकाडेमीमा शिक्षिकाको रूपमा काम गर्दै थिइन्। सन् 2010 -देखि नै बिमारले चाप्नथालेको थियो। पेटभित्र भएको सानो घाउले भने उनलाई यमराजकै दैलो अघि पुर्‍याएको थियो। ट्युबरक्युलोसिस् (टीबी) अर्थात क्षय रोगको अन्तिम चरण एक्सडीआरमा पुर्‍याएको थियो उनलाई। तर इडेनको कुराअनुसार डाक्टरले सही औषधि नदिँदा यस्तो भएको हो। पेटभित्रको घाउलाई डाक्टरले क्षयरोग बताएर सेकेण्ड क्याटेगरी आठ महीनाको औषधि र दुइ महीनाको इञ्जेक्शन दियो। यसको कोर्स पूरा भएपछि डाक्टरले जाँच गरेर निको भएको छैन भनेर फेरि तीन महीनाको औषधि दिएका थिए। यो औषधि शुरू गरेपछि उनलाई लिभर जण्डिस् भयो। औषधिको साइड एफेक्टले यस्तो भएको थियो। डाक्टरले दिएको औषधि उनको उमेर र शरीरको ओजनको अनुपातमा हेभी डोज भएको थियो। ‘‘मेरो उमेर 22 वर्षको थियो अनि ओजन 33 किलो मात्र थियो’’, उनी त्यति बेलाको कुरा सम्झिँदै भन्छिन्। डाक्टरले सेकेण्ड क्याटगरीको औषधि बन्द गरेर लिभर जण्डिस्को लागि 15 दिनको औषधि दिएको थियो। 15 दिनपछि डाक्टरले जाँच गरेपछि लिभर जण्डिस् निको भएको बताउँदै ङ्गेरि त्यही क्षय रोगको सेकेण्ड क्याटगरीको औषधि तीन महीनाको लागि दिइएको थियो। यो औषधिको कोर्स शुरू भएको हप्ता दिनमा ङ्गेरि लिभर जण्डिस् बल्झियो। ‘‘मेरो स्वास्थ्यको अवस्था देखेर आप्पा र मम्मीले त्यो औषधि बन्द गरे अनि आफ्नै जिम्मेदारीमा भेल्लोर सीएमसीमा उपचारको लागि मलाई लिएर जानुभयो’’, इडेन भन्छिन्।

सो बेला उनको अवस्था पुरै बिग्रिएको थियो। त्यतिबेला इडेनको अवस्था सुन्दा  कसैको पनि हृदय एकपल्ट च्वास्स घोंच्छ पोल्छ। आफ्नो सो बेलाको अवस्थाबारेमा उनी भन्छिन्, ‘‘म हिँड़्न पनि सक्दिनँ थिएँ। मेरो लामो कपाल सबै झरेको थियो र मैले बोइज् कट बनाएकी थिएँ। मेरो शरीरको छालाभरि कालो दाग बसिसकेको थियो। औषधिले गर्दा यस्तो भएको थियो।’’ करीब सात महीनासम्म उनले ऐना पनि हेरिनन्। सीएमसी भेल्लोरमा पुगेपछि त्यहाँ उनको रोगबारेमा पुनः जाँच गरियो। जाँचपछि त्यहाँ डाक्टरहरू  गलत उपचार भएको देखेर छक्क परेका थिए भन्ने कुरा इडेन बताउँछिन्। गलत उपचारकै कारणले उनलाई एक्सडीआरको अवस्थामा पुर्‍याएको थाहा पाइन्। यसपछि सीएमसीमा दुइ वर्षको नयाँ औषधि र नौ महीनाको इञ्जेक्शन दिइयो। पहिलोपल्ट 15 दिनसम्म सीएमसीमा नै बसिन्। यसपछि भने गान्तोकबाट तीन तीन महीनामा भेल्लोर जानपर्ने भयो। इञ्जेक्शन लगाउने व्यवस्था भने घरमा नै गरिएको थियो। इडेन भन्छिन्, ‘‘त्यति बेला म बाँच्दिनँ जस्तो लागेको थियो। म आफैले आशा मारिसकेकी थिएँ।’’ बिमारीकै  कारणले गर्दा नजीकका साथीहरू पनि उनीदेखि टाढ़िएका थिए। टाढ़िनु मात्र होइन ङ्गोनमा समेत पनि कुरा गर्न साथीहरू हिचकिचाउनथालेका थिए। साथीहरूको फोन पनि आउन छोड़िसकेको थियो। यस्ता कुराले उनलाई सो बेला निक्कै दुःख लागेको थियो। उनी भन्छिन्, ‘‘रोग सर्छ भन्ने डरले उनीहरू आउँदैन थिए। मलाई थाहा थियो यो रोग सर्छ भन्ने तर फोनमा त कुरा गर्नसक्ने थिए नि!’’ तरै पनि उनलाई बहिनी मान्ने दाज्यू साथै कति साथीहरू भने हेर्न आउँथे। उनीहरूले नै एमजी मार्गमा हिँड़ाउँदै लैजान्थे। इञ्जेक्शन लगाउँदा लगाउँदा शरीरमा यसको लागि ठाउँ नै रहेको थिएन। शरीरका धेरै ठाउँमा गाँठा परेको हुनाले यसलाई खोल्न हिँड़्नपर्ने सुझाउ दिएका थिए। अवस्था यस्तो हुँदा उनी डिप्रेशनमा पुगिसकेकी थिइन्। आत्मबल दह्रो भएकी हुनाले हार मानिनन्। रोगले चापेको भए पनि केही न केही सृजनात्मक काम गर्ने अन्तर्मनबाट प्रतिबद्धता जगाइन्। आफुले सानोमा स्कूल पढ़्दा सिकेको स्केच गर्न शुरू गरिन्, कविता लेख्नथालिन्। तर उनले बढ़ी जोड़ चित्रकलामा दिइन्। यस्तो देख्दा साथी शीतल राईले स्केच बुक र ड्रइङ पेन्सिल उपहार दिएका थिए। बिमारी साथै डिप्रेशनको अवस्थामा रहेर नै उनले चित्रहरू बनाउँदै राख्नथालिन्। उनी भन्छिन्, ‘‘दाज्यूहरूले चित्रहरू फेसबुकमा हाल्नू भन्ने सुझाउ दिए। फेसबुकमा एउटा चित्र हालें अनि नभन्दै त्यो चित्र बिक्री पनि भयो। चित्र किन्न घरमै आए।’’ यसपछि भने चित्र बनाउँदै ङ्गेसबुकमा हाल्नथालिन्। उनले यसरी चित्र बिक्री गर्न थालेको कारीब डेढ़ वर्ष भइसक्यो।

‘‘अहिले चित्रकला मेरो साथी हो। चित्रकलाले नै मलाई नयाँ जीवन दियो’’, इडेन भन्छिन्। उनी अझ भन्छिन्, ‘‘प्रिमुला भण्डारी आण्टीले मलाई रङ्, ब्रश, क्यान्भस् उपहार दिएकी थिइन्।’’ प्रिमुला भण्डारी स्वयं पनि कुशल चित्रकार हुन्। इडेनको चित्रकलामा आफ्नै शैली छ। उनका  चित्रहरूमा प्रायः जस्तो आध्यात्मिक एवं धार्मिक छाप देखिन्छ। ‘‘म आफ्नै धुनमा चित्र बनाउँछु। यसलाई अझ निरन्तरता दिनेछु’’, उनी भन्छिन्। बढ़ी मात्रामा एक्रेलिक रङ् प्रयोग गर्छिन्।

चित्रकलासँगै उनलाई मनपर्ने विधा अर्को सङ्गीत हो। एउटै मात्र गीत रहेको एल्बम ‘साथी’ -मा इडेन र शेराब छोपेल भोटियाले गाएका छन्। यो गीत इडेन र शेराबले लेखेका हुन् भने लेख्दा प्रणिता राईले सहयोग गरेकी हुन्। यसमा सङ्गीत भर्ने काम अभिषेक सिक्देलले गरेका हुन् भने स्टुडियो ‘अण्डरवायर’ -मा रेकर्डिङ गरिएको छ। उनको अर्को गीत ‘सक्दिनँ’ पनि रेकर्डिङ भइसकेको छ। यो गीत गान्तोकमा रेड एफएम र रेडियो मिस्टीमा बज्दैछ। यस गीतबारेमा इडेन भन्छिन्, ‘‘ङ्गोक ब्रदर्सका शीतल राईले आफ्नो यो गीत मलाई उपहारस्वरूप दिएका हुन्। यसमा सङ्गीत पनि उनले नै भरेका हुन्। यस गीतमा कतिपय ठाउँमा शब्द मैले नै भरेकी छु।’’ यो गीत उनले आफ्ना स्वर्गीय साथीलाई समर्पित गरेकी बताउँछिन्। सङ्गीतलाई पनि निरन्तरता दिने कुरा उनी बताउँछिन्। आध्यात्मिक विषयमा पनि चासो भएको हुनाले पुस्तकहरू त्यस्तै पढ़्छिन्। प्रकृतिको हरेक सृजनालाई उनी मन पराउँछिन् र भन्छिन्, ‘‘प्रकृतिबाट हामीले सबै कुराहरू पाएका छौं। मानव हितका ती प्रत्येक कुराहरूको हामीले संरक्षण गर्नुपर्छ। म नेचर लभर हो।’’

इडेनलाई समाजमा थुप्रै राम्रा राम्रा कामहरू गर्ने इच्छा छ। सामाजिक कार्यमा उनी बढ़ी रूचि राख्छिन्। आफ्नो क्षमताअनुसार सामाजिक कार्यहरूमा सहयोग पनि पुर्‍याउँछिन्। उनी भन्छिन्, ‘‘यो संसारमा हामी कसैले पनि केही लिएर आएका छैनौं अनि जाँदा पनि केही लिएर जाने छैनौं। आफ्नो कार्यलाई स्वच्छ राख्नुपर्छ। ‘अलवेज् किप योर कर्मा क्लिन्’। समाजमा राम्रो काम गरेर जानुपर्छ।’’ यस्तो विचार प्रकट गर्छिन् उनी। आफ्नै शैली र ढाँचामा चित्र कोर्ने प्रतिभा इडेनसित छ। अहिले उनी स्वस्थ छिन्। नयाँ नयाँ चित्रहरूको सृजना उनी तल्लीन छिन्। उनको हातबाट अझ धेरै उत्कृष्ट सृजनाहरू होस्। शुभकामना!!­­­­