Franklin Mukhia

26/02/2013 22:11

‘‘मुसु मुसु हॉंसी देउ न लै लै’’

-------सञ्जय प्रधान-----

                    ‘‘मुसु मुसु हॉंसी देउ न लै लै....मुसु मुसु हॉंसी देउ...’’ अनि ‘‘गाजलुले आँखै छोप्ने....’’ वर्षौंदेखि नेपाली जनजिब्रोमा झुण्डिएको ‘‘द हिमालन्स्‌’’ को यो गीत सुन्दै नसुनेका नेपाली विरलै पाइएला। जहिले पनि कहीं न कहीं युवाहरू भेला भएर बसेका ठाउँमा यो गीतले संधै रौसिलो वातावरण जमाएको हुन्छ। एक जमानामा कलेजको विद्यार्थी हुँदा आफू स्वंय पनि यो गीत गाउँदै साथीहरूको हुलमा बुरूक्‌ बुरूक्‌ हुँदै छिल्लिएको समयलाई बिर्सिएको छुईंन। धेरैको त हातमा गिटार पर्ने साथ यो गीत फ्याट्टै मुखमा स्वत्‌: आइहाल्छ। यो गीत सुन्ने बित्तिकै जसलाई पनि छोइ हाल्छ। नेपाली संसारमा संधै लोकप्रिय भएर कालजयी गीत बनेको छ। भारतका सुपरिचित गायक शान्ले पनि यसैको दुई लाइन्‌ गीत ‘‘मुसु मुसु हॉंसी देउ न लै लै....मुसु मुसु हॉंसी देउ...’’ देखि उता ‘‘जरा मुस्कुरा दे...मुस्कुरा दे...’’ हिन्दी शब्द जोड़ेर गाउँदै निक्कै लामो समयसम्म बलीबुडदेखि सम्पूर्ण भारतमा ढोल पिटेर हुँड़ीबिड़ी मच्चायो। यस गीतले शानको लोकप्रियतालाई अझ धेरै बढ़ाएर लग्यो। यस्तो गरिमामय लोकप्रियता हासिल गरेको यो गीत ‘‘द हिमालयन्स्‌’’ अर्थात ‘‘हङकङ ग्रुप’’ को हो भन्ने कुरा धेरै जस्ता सबैलाई नै थाहा भएको कुरा हो। तर यस्तो जनजिब्रोमा झुण्डिएको गीतका खास गायकअ को को हुन्‌? भन्ने प्रश्नको जवाब दिनेको संख्या आधा औला गन्ती गर्दा नै सकिन्छ। नेपाली संसारलाई यस्तो कालजयी गीत कोशेलीको रूपमा दिने गायकहरू आज घना भीड़भीत्र ओझेलमा परेर बसेका छन्‌।

                ‘‘द् हिमालयन्स्‌’’ का सदस्यहरू मध्येमा एकै जना गायक एवं गिटारिस्ट फ्‌रयाङ्कलिनसित मात्र भेट भयो। यसपालीको भीड़भित्रको अनुहारमा प्रस्तुत छ स्व0 जेम्स मुखिया र स्व0 लुसी मुखियाका छोरा फ्‌रयाङ्कलिन मुखिया। ‘‘मुसु मुसु हॉंसी देउ न लै लै....मुसु मुसु हॉंसी देउ...’’ का दुइ जना खास्‌ गायक मध्ये एकजना यिनै फ्‌रयाङ्कलिन मुखिया हुन्‌। यसै गीतका अर्का बेजोड़का गायक नोरदेन तेञ्जिङ लण्डनमा छन्‌ भन्ने कुरा उनीबाट नै जानकारी प्राप्त भयो। नोरदेन तेञ्जिङ, फ्‌रयाङ्कलिन मुखिया, नवीन राई, दीपक चन्द्र, विजय थापा र सोनाम छिरीङ  ‘‘द् हिमालयन्स्‌’’ थिए। नवीन राई मात्र छिमेकी मुलुक नेपाल धरानका थिए। सबैको  नजरबाट ओझेल भएका फ्‌रयाङ्कलिन अहिले खरसाङको निम्न डुमाराम बस्तीमा छन्‌। खरसाङमा नै जन्मिए अनि यहिकै सन्त अलफन्सस्‌ स्कूलमा पढ़िसकेर दार्जीलिङको सन्त जोसेफ कलेजमा पढ़े। विद्यार्थी जीवनदेखि नै संगीतप्रति उनको गहिरो चासो भएको हुनाले गिटार बजाउन आफै सिके अनि भेनाज्यू रेजिनोल्ड कर्मोस्‌बाट पनि निक्कै सिकेको कुरा उनी बताउँछन्‌। खरसाङमा उनका सो बेलाका साथीहरू एन्थोनी गुरूङ, लियोनार्ड गुरूङ, एडमण्ड थापा र फ्रेडी योञ्जनलाई अहिले पनि सम्झिन्छन्‌। साथीहरू पनि संगीतकै क्षेत्रमा लगाव भएका हुनाले 1967 सालतिर खरसाङबाट एउटा पप्‌ संगीतको ब्याण्ड उनीहरूले खोले। सो ब्याण्डको नाम थियो ‘‘वियोगीज्‌’’ जसलाई ‘‘ब्रोकन हार्ट’’ पनि भनिन्थ्यो। 1968 सालमा सुनदह नजीक गोराबारीमा कहालीलाग्दो पैह्रो गएको थियो। अहिले पनि पुराना मानिसहरू गोराबारीको पैह्रो भनेर कुरा गर्छन्‌ र 1968 साल ठ्याक्कै सम्झिन्छन्‌। यसै पैह्रोलाई लिएर ‘‘वियोगीज्‌’’ ले ‘‘बिर्सिन्न है बिर्सिन्न है  68 सालको पैह्रोलाई’’ भन्ने गीत तयार पारेको थियो। सो बेला वियोगीज्‌को एउटा गीत ‘‘रातो रातो गालामा, कालो कोठी भएकोले...झुक्याएको हो कि मलाई’’ भन्ने गीत खरसाङमा निक्कै चल्ती भएको थियो। वियोगीज्‌ ब्याण्डमा फ्‌रयाङ्कलिनले गीत गाउँथे साथै गिटार पनि बजाउँथे। 1969-70 सालमा दार्जीलिङमा भएको बिट्‌ कन्टेस्टमा वियोगीज्‌ उपविजेता भएको थियो। दार्जीलिङको पप्‌ ब्याण्डहरूको इतिहासमा वियोगीज्ले एउटा बेग्लै छाप छोड़ेको छ।

                 1972 सालमा फ्‌रयाङ्कलिन ब्रिटिश सेनामा भर्ती भएर हङकङ गए। उनको पल्टन थियो सात गोर्खा राइफल्स्‌ र यसमा क्लर्क थिए। त्यहॉं संगीतमा धेरै भिजेका युवा साथीहरू भेट भयो। खरसाङबाट फ्‌रयाङ्कलिन र नोरदेन तेञ्जिङ, सिपाहीधुराका अजय गुरूङ र नेपाल धरानबाट नवीन राई भेट भएपछि संगीतको माहौल जम्न शुरू भयो। यसरी संगीतको माहौल निरन्तर जम्मिन थाल्दा त्यहॉं उनीहरूको एउटा सानो तिनो म्युजिकल ग्रुप नै भएको थियो। हङकङमा उनीहरूको सांगीतिक माहौल त चल्दै नै थियो। यस्तैमा 1974 सालमा त्यहॉं दार्जीलिङबाट दीपक चन्द्र राई आएर उनीहरूसित सहभागी भए। फ्‌रयाङ्कलिनले बताएअनुसार दीपक दार्जीलिङको ‘‘फोरबिडन फ्रुटस्‌’’ भन्ने ब्याण्डमाथिए। उनीहरूको सात गोर्खा राइफल्स्‌‌‌का हेड क्लर्क दार्जीलिङका सहरसिंह सुब्बा संगीतमा चासो राख्ने व्यक्ति थिए। उनकै चासोले पनि त्यहॉं उनीहरूको ग्रुप खोलिएको आज सम्झिन्दै कुरा गर्छन्‌। यसमा ब्रिटिस्‌ साथै गोर्खा सैन्य अधिकारीहरूको पनि चासो थियो। यस्तै सबैको चासो र सक्रियताले ‘‘द्‌ हिमालयन्स्‌’’ ब्याण्ड नाम राखेर खोलियो। पछिबाट यसैलाई ‘हङकङ ग्रुप’ पनि भन्ने गरियो। यस सिलसिलामा फ्‌रयाङ्कलिन भन्छन्‌-‘‘हामीले त हङकङ ग्रुप राखेका होइनौं। नेपालका साथीहरूले नै पछिबाट हङकङ गु्रप भन्न थाल्यो।’’ यसरी द् हिमालयन्स्‌को अर्को नाम हङकङ गु्रप पनि भयो र यहि नामले बढ़ी परिचित भयो। द् हिमालयन्स्‌ गठन भएपछि हङकङमा भएका उनीहरूकै सैनिक छाउनीमा हुने पार्टीहरूमा कार्यक्रम प्रस्तुत गर्न शुरू भयो। खुबै राम्रो प्रस्तुतीका कारणले हङकङको ब्रिटिस्‌ सैनिक छाउनीहरूमा द हिमालयन्स्‌ लोकप्रियता बढ़ेर गयो। उनीहरूको संगीत सुनेर ब्रिटिश गोराहरूले ‘‘गोर्खा बिटल्स्‌’’ पनि भन्थे। कार्यक्रमहरूबाट पैसा उठ्‌न थालेपछि ग्रुपलाई चाहिने संगीतका लागि सामग्रीहरू किनेर जोगाड़ गर्न थाले। गीतहरू रेकर्ड गर्न उनीहरूले धेरै समस्याहरू झेल्न परेको थियो। पहिला बाजाहरू पनि थिएन त्यति बेला छाउनीमा कार्यक्रमहरू गर्दा सहयोग र हौसला दिने सात गोर्खा राइफल्स्‌का बाबुजीहरू र सबै सहयोगीहरू प्रति आज पनि उनी आभार प्रकट गर्छन्‌। द् हिमालयन्सका सहयोगी सदस्यहरू श्याम लामा, अजय गुरूङ, कृष्णमिलन नेवार द हिमालयन्सका सहयोगी सदस्यहरू थिए।

                  त्यहॉं हङकङमा एउटा संस्था थियो ब्रिटिश फोर्सेस्‌ ब्रोड कास्टिङ सर्भिस्‌। यसै संस्थाबाट 1975 सालमा द हिमालयन्सको पहिलो पॉंच वटा गीतहरू वटा गीतहरू 1) गाजलुले आँखै छोप्ने 2) टाड़ा टाड़ा जानु छ मैले 3) यी मेरा रोदनका छालहरू 4) बिर्सिदेउ मलाई र 5) फर्कि हेरे मेरो जीवन... रेकर्डिङ भयो। यस मध्येमा ‘‘गाजलुले आँखै छोप्ने’’ गीतका शब्दकार एवं संगीतकार खरसाङ निवासी स्व0 अरूण थापा हुन्‌ भने अन्य गीतका शब्दकार विजय थापा थिए। नेपाली संसारमा ‘‘गाजलुले आँखै छोप्ने’े’ गीतले आजसम्म पनि धेरै लोकप्रियता हासिल गरेको छ। एउटै कार्यक्रममा  दर्शकहरूको बढ़दो मागले गर्दा यो गीत चार पॉंचपल्ट गाउनु पर्थ्यो। ‘‘फर्कि हेरे मेरो जीवन’’ का शब्द रचना फ्‌रयाङ्कलिन र विजय थापाले गरेका थिए। द् हिमालयन्स्‌मा गीतका मुख्य शब्दकार विजय थापा थिए भन्ने कुरा फ्‌रयाङ्कलिन बताउँछन्‌। त्यति बेला रेकर्डिङ गर्न आजको जस्तो सजिलो थिएन।

                  हङकङमा हिमालयन्स्‌को कार्यक्रमहरू सैनिक छाउनीमा लोकप्रिय बन्दै गइरहेको बेलामा 1975 सालमा नै उनीहरूको पल्टन बु्रनईमा सर्‍यो अनि सबै सरूवा भएर त्यही पुगे। हङकङमा सैनिक छाउनीमा मात्र उनीहरूको कार्यक्रम हुन्थ्यो। ब्रुनईमा उनीहरूले आमनागरकिहरूसित मिसिएर कार्यक्रमहरू गर्ने मौका पाए। द हिमालयन्सको बहुचर्चित गीत ‘‘मुसु मुसु हॉंसी देउ न लै लै’’ ब्रुनईमा रचियो। 1976 सालमा दार्जीलिङ तुङसुङ निवासी सोनाम छिरीङ शेर्पा ब्रिटिश सेनामा भर्त्ती भएर बु्रनई पुगे र उनीहरूसित भेट भयो। उनले ड्रम बजाउँथे। सैनिक छाउनीको कार्यक्रममा ‘‘मुसुमसु मुसुमुसु हॉंसी देउ न लै लै’’ गीत गाउँदा गोराहरू साह्रै नै रमाउँदै नॉंच्थे। यही गीतले गोराहरू उनीहरूको फ्यान भए। गोराहरूले पनि यो गीत सिकेर आफ्नै लवज्‌मा गाउँदा उनीहरू पनि छक्क पर्थे। विदेशको भूमिमा  नेपालीहरू आफ्नो संगीतको क्षेत्रमा माथि उक्लिसकेको प्रमाण उनीहरूले त्यति बेला नै दिएका हुन्‌। बुनईबाट पुन हङकङ फर्किएपछि  1978 सालमा  द हिमालयन्स्‌को यी गीतहरू रेकर्डिङ भयो। यो 6 वटा गीतहरू सबैले नै अहिलेसम्म पनि लोकप्रियता हासिल गरेको छ। 1) मुसु मुसु हॉंसी देउ न लै लै 2) मायाले माया साटी देउ 3) मलाई धेरै धेरै माया चाहिन्छ कि सोधन 4) चिसो बतासले सन्देश के ल्यायो 5) बिन्ती छ तिमीलाई र 6) कहॉं तिम्रो मायालुलाई छाड़ी राख्यौ 7) चॉंप गुरॉंस जब फूल्दछ...आदि गीतहरू रेकर्डिङ भएको थियो। यी गीतहरूले एउटा सिङ्गो एल्बमको रूप लिएर निस्किएन। प्रत्येक पिढ़ी-पिढ़ीसम्मका युवावर्ग संग संगै चल्न सक्ने खालको द् हिमालयन्सका यी गीतहरू  कालजयी नै भएर रहनेछ। फ्‌रयाङ्कलिनले भनेअनुसार ‘‘कहॉं तिम्रो मायालुलाई छाड़ी राख्यौ’’ गीत दार्जीलिङको सानो-ठूलोको गीत हो। ब्रिटिश फोर्सेस्‌ ब्रोड कास्टिङ सर्भिस्ले यी गीतहरू नेपाल रेडियोलाई पठाएको थियो। नेपाल रेडियोमा यी गीतहरू बज्न थालेपछि चारैतिर यसको लोकप्रिय बढ्यो। सो बेला धेरैले नै यी गीतहरू नेपाल रेडियोबाट रेकर्ड गरे। द् हिमालन्स्‌को कतिवटा गीतहरू सुन्दा बिटल्स्‌को गहिरो छाप परेको महसुस हुन्छ। उनहरूको गीतमा पाश्चत्य पप्‌ संगीतको छाप परेको भए तापनि नेपालीपन स्पष्ट झल्किएको छ। गीत सुन्दा नेपाली जनजीवन भएको पहाड़ी भेकको रमाइलो परिवेशको दृश्य आँखा अघि झलझल्ती आउँछ। 1981 सालसम्म हङकङमा द हिमालयन्स्‌ कार्यक्रमहरू सैनिक छाउनीमा भइ रहेको थियो। यसै साल उनीहरूको पल्टन इंगल्याण्डमा सर्‍यो। इंगल्याण्डमा सरेपछि नोरदेन, नवीन र सोनाम उतै बसे अनि फ्‌रयाङ्कलिन हङकङ आए। यसपछि कोही इंगल्याण्डमा अनि कोही हङकङमा बसाईं भएपछि 1981 सालदेखि नै द हिमालन्स्‌ ग्रुप नेपाली संसारमा संधैका लागि एउटा अमिट छाप छोड़ेर नेपाली पप्‌ संगीतको इतिहासको पानामा अजर अमर भएर बस्यो। अहिले नोरदेन तेञ्जिङ सोनाम छिरीङ इंगल्याण्डमा, नवीन हङकङमा र दीपक चन्द्र काठमाड़ौमा छन्‌, तर सबै एक अर्कासित सर्म्पकविहीन छन्‌। विजय थापाको देहान्त भइसक्यो। उनको सम्झनाले फ्‌रयाङ्कलिनलाई दुःखी बनाउँछ।

                 ‘‘मुसु मुसु हॉंसी देउ न लै लै’’ यति बढ़ी लोकप्रिय भएको गीत हो जसको हुबहु नकल 1999  सालमा बलीवुडको चलचित्र ‘‘प्यार मे कभी कभी’’ मा हुबहु नकल गरियो। यस गीतको शुरूको लाइन्‌ जस्ता को त्यस्तै राखेर अरू सबै हुबह एउटै लयमा शान्ले गाएका छन्‌। यस सिलसिलामा उनले भनेअनुसार एकजना केटीले मुम्बईबाट फोन गरेर स्वत्वाधिकारको लागि गीतको क्यासेट मागेकी थिइन्‌। उनी भन्छन्‌-‘‘मैले ओरिजिनल पठाएर भूल भयो। पछि मैले फोन गर्दा त्यो केटी यहॉं काम गर्दैन भन्यो।’’ उनले बताएअनुसार यसमा दार्जीलिङकै एकजना केटीको भूमिका थियो। यसमा उनले मुद्दा हाल्ने कोशिश गरेका भए पनि खासै केही भएन। यसले गर्दा उनले 2000 सालमा सुपरिचित गायकहरू र गायिकालाई लिएर रिमिक्स एल्बम ‘‘द हिमालयन्स्‌’’ ‘देन एण्ड नाव’ नाम दिएर निकाले। यस रिमिक्स एल्बममा सुरेश कुमार, थुपदेन भोटिया, सञ्जय प्रसाद, सञ्जय श्रेष्ठ, हारीश मोथे र सुकमित गुरूङले गाएका छन्‌। गीत गाउने जोश अहिले पनि फ्‌रयाङ्कलिनसित उतिकै छ। उनीसित गफ्‌ गर्दा गर्दै गीत गाउने अनुरोध गर्दा आफ्नो टुवल्भ स्ट्रिङ गिटार बजाउँदै ‘‘मुसु मुसु हॉंसी देउ न लै लै’’ गीत गाउँदा अहिले चौवन्न वर्षको उमेरमा पनि पुरानै बीस वर्षे युवाको जोश झल्किएको थियो। सानैदेखि संगीतसित झ्याम्मिएका उनलाई  दिदी डोरथी मुखियाको प्रभाव परेको बताउँछन्‌। उनी संगीतसित झ्यामिन्दै गएको बेला डोरथी मुखिया दार्जीलिङमा बाहर एकाडेमीमा राम्रो गायिका थिइन्‌। लेफ्टिनेन्टको पदमा पुगेर 1994 सालमा अवकाश भएपछि खरसाङ फर्किए र अहिले पनि केही गर्ने सोंचमा छन्‌। अहिले धर्मपत्नी श्रीमती हेमा मुखिया उनको हौसला हुन्‌ छोरा अञ्जन न्यूजील्याण्डमा बिजिनेश्‌ म्यानेजमेन्ट पढ़दैछन्‌।  अहिले पनि उनीसित कति वटा पहिला रचेका राम्रा गीतहरू छन्‌। जसलाई निकाल्ने प्रयासमा छन्‌।

                     नेपाली समाजमा प्रत्येक युवा पिढ़ीलाई भ्याउने गीतहरू सृजना गर्ने द हिमालयन्सका गायक-संगीतकारहरूलाई कयौंले चिनेका छैनन्‌। उनीहरू आजसम्म ओझेलमा छन्‌। प्रत्येक युवा पुस्ताका लागि कालजयी गीतहरू नेपाली समाजलाई कोशेलीको रूपमा पस्किन सकेको योगदानको कदर गरेर नेपालको सर्वाधिक लोकप्रिय कान्तिपूुर एफएम रेडियोले 2009 सालमा द हिमालयन्स्लाई लाइफ्‌ टाइम एचिभमेन्ट अवार्डले सम्मानित गरेर धेरै नै प्रशंसनीय कार्य गर्‍यो। सो अवार्ड काठमाड़ौमा एउटा भव्य समारोहमा फ्‌रयाङ्कलिनलाई सम्मानपूर्वक प्रदान गरियो। अहिले यता दार्जीलिङ पहाड़ी भेकमा द हिमालन्स्‌ भनेको फ्‌रयाङ्कलिन मात्र छन्‌। उनको समृद्धि र सुस्वास्थ्यको कामना गर्दै....नेपाली संगीतको इतिहासमा द हिमालन्स्‌ अजर-अमर रहोस्‌।

(सम्पर्कको लागि सहयोग गर्ने मेरो कलेजका साथी पानीघट्टा निवासी श्रीमती तुलसी राणा र डुमाराम बस्ती निवासी पवित्र दिदीप्रति अभार प्रकट गर्दछु)

फ्‌रयाङ्कलिन मुखियाको सम्पर्क नम्बरः 9932632772