Gajendra Narayan Pradhan
09/04/2014 15:06
चुईयामा हा... हा....चुईयामा हा...हा
(प्रस्तुत लेख ३१ मई २०१० सालमा हिमालय दर्पणमा प्रकाशित भएको हो)
‘‘चुईयामा हा... हा....चुईयामा हा...हा’’ आजभन्दा छपन्न वर्ष अघि रचिएको यो गीत अहिलेसम्म पनि सबैको मुखमा झुण्डिएको छ| तर यस गीतका गीतकार, संगीतकार, गायक गजेन्द्रनारायण प्रधानलाई कतिले पो चिन्छन् र! १९५४ सालमा यो गीत रचिएपछि साट्ठी र सत्तरको दशकको आधा दशकसम्म यो गीत सम्पूर्ण दार्जीलिङ पहाङभरि नै गुञ्जिएको थियो| सो बेलाका कतिपय मानिसहरू अहिले ती अतीतका कुरा सम्झन्दै भन्छन्|
खरसाङको माथिल्लो दोकान डॉंड़ा निवासी गजेन्द्रनारायण प्रधान अहिले ७५ वर्ष पुगिसकेका छन्| २८ अक्टोबर १९३७ सालमा दार्जीलिङको रिङ्क सिनेमा हल (अहिलेको बिग बजार) नजिक नारायण कटेजमा जन्मिएका हुन्| उनी स्व. आर.प्रधान र स्व. मनमाया प्रधानका छोरा हुन्| खरसाङस्थित उनको निवास स्थान हिलग्रोभ स्कूलमा जॉंदा यो गीत गाउने आग्रह गर्दा उनले त्यही पुरानै जोशमा पियानो बजाउँदै गाएर सुनाए| बुढ़ेसकालमा पनि युवा जोशमा जम्मिएर यसरी गाउँछन् उनी ‘‘चुईयामा हा...हा...चुईयामा हा...हा...सम्झनाको आँसु खसाली, मन उड़छ मेरो डॉंड़ापारि...चुईयामा हा...हा...हिमालको सेतो छॉंयालाई हेरी, मन उड़्छ मेरो डॉंड़ापारि...गाएको गीत भुलुँ कसरी........’’ यो गीत उनले आकाशवाणी खारसाङमा पनि गाएका छन्| बाबु स्व. आर.एन. प्रधान संगीतप्रेमी थिए| घरमा अर्गेन, पियानो, भायोलिन साथै अन्य बाजाहरू थिए| दार्जीलिङमा हुँदाखेरि स्व. आर.एन प्रधान जज बजारको मनो विनोद पुस्तकालयका सक्रिय सदस्य थिए र उनी अर्गेन बजाउँथे| दोस्रो विश्व युद्धको बेलामा उनीहरू खरसाङमा घर सरे|
घरमा संँधै सॉंझमा नौ दसजनाको जमघटमा सांगीतिक माहोल जमिन्थ्यो| कोही गीत गाउँथे भने घरका साना नानीहरू नॉंच्थे| कहिले कॉंही दार्जीलिङबाट दुइजना संगीतकार स्व. हेमनारायण प्रधान र स्व. कर्णबहादुर प्रधान पनि आइपुग्थे| सानो बालक गजेन्द्रनारायण पनि यसो मौका हेरेर आफै बाजा बजाउने कोशिश गर्थे| उनले ठूलाहरूले बजाएको हेरेर र सुनेर नै धेरै सिके| बाबुले पनि बेलामौकामा धेरथोर सिकाए| संगीतका गुरू थापेर उनले तालिम लिएनन् तर रागहरू भने यताउतीबाट टिपनटापनमै सिके| त्यस समय उनी खरसाङ पुष्परानी रोय मेमोरियल हाई स्कूलमा पढ़थे| यसभन्दाअघि उनी दार्जीलिङ नेपाली गर्ल्स स्कूलमा तीन कक्षासम्म पढ़े| स्काउटमा पनि उनको प्रदर्शन राम्रो थियो| कलकतामा भएको जेम्बुरीमा उनलाई गवर्नसर् मेडलद्वारा सम्मानित भए| ‘‘मैले रातो ब्लेजरको कोट लगाउँदा मलाई सबैले रेड कोट नाम राखिदिएका थिए’’ युवाबेलाका कुरा सम्झिएर उनी हॉंस्दै यसो भन्छन्| अहिले ती पुराना कुराहरू उनले धेरै बिर्सिसकेका छन्| सोद्धाखेरि उनी निक्कै सम्झिने कोशिश गर्छन्| खरसाङका बुद्धिजीवि एवं कवि गोपाल भण्डारीका धेरै गीतहरूलाई पनि उनले आफै संगीत रचना गरेर गाएका छन्| गोपाल भण्डारीका शब्दले भरिएका गीत ‘हर गीतलाई तिम्रो सुरले सजाई दिउँला’, ‘सावनको झरी कहिले छ घाम, कहिले छ पानी’ जस्ता गीतहरू सो बेला धेरै नै चल्ती थियो|
सन् १९६२ मा खरसाङमा मोहताब क्लबमा आकाशावाणी खरसाङ (रेडियो स्टेशन) स्थापना भयो| यसको उद्घाटन समारोहमा उनले ‘स्वर्गभन्दा पनि बढ़ी जननी जन्मभूमि’ गाएका थिए| यस गीतका शब्दकार को हुन् उनले अहिले बिर्सिएका छन्| तर यसै उद्घाटन समारोहदेखि उनी आकाशवाणी खरसाङका एकजना प्रमुख गायक बने| त्यसबेला नेपाली गीत संगीतले विस्तारै पाइला चाल्दै थियो| अहिलेको जस्तो विकास भएको थिएन| गजेन्द्रनारायणले त्यसबेला दार्जीलिङ पहाड़मा बामे सर्दै गरेको नेपाली गीत संगीतलाई धेरै टेवा दिएर अघि ठेल्ने काम गरे| युवा अवस्था उनी खरसाङका पुरानो सामाजिक संस्था गोर्खा जनपुस्तकालयमा आयोजना हुने संगीत प्रतियोगिताहरूमा भाग लिन्थे| जहिले पनि प्रतियोगिता उनले मात्र जित्थे, यसैले गर्दा उनलाई आयोजक समितिले उप्रान्त प्रतियोगिताहरूमा प्रतियोगी गायक भएर होइन तर अतिथि गायक भएर कार्यक्रममा आउने सुझाउसम्म दिएका थिए|
सन् १९५० को अन्ततिर उनले कलकता विश्वविद्यालयको कार्यक्रममा पनि नेपाली गीत गाए| उनका समकालीन संगीतकर्मीहरू सुपरिचित संगीतकारद्वय अम्बर गुरूङ र गायिका शान्ति ठटाल हुन् भनी उनी बताउँछन्|
साट्ठीकै दशकमा आकाशवाणी खरसारङमा वरिष्ठ कथाकार स्व. शिवकुमार राईका कथा ‘माछाको मोल’ लाई रेडियो नाटकको रूपमा प्रस्तुत गरिएको थियो| यस नाटकमा पार्श्व गीत ‘जालहारी दाज्यू जाल फिजाई देऊ....हरियो दहमा जाल जाल फिजाई देऊ....’ कवि तथा रेडियो नाटककार गोपाल भण्डारीले लेखेका थिए गजेन्द्रनारयण स्वंयले संगीत भरेर गाएका थिए| यो गीत पनि धेरै नै लोकप्रिय भएको थियो|
आफ्नो समयमा उनले धेरै राम्रा गीतहरू रचना गरेर रेडियो साथै बाहिरतिरका कार्यक्रमहरूतिर प्रस्तुत गरे| तर एउटै पनि रेकर्ड एल्बम निकालेनन्| अहिले उनी आफ्ना गीतहरू रेकर्डहरू गराउने इच्छामा छन्| अहिलेका गीतहरू कस्तो लाग्छ भनि प्रश्न गर्दा उनी भन्छन्, ‘‘अहिलेका नेपालीइ संगीत, अहिलको जमानाका लागि ठीक छ होला|’’ उनका धेरैवटा गीतहरू अहिले पनि निक्कै मजाले जम्मिने खालका छन्| आफूले संगीत रचना गरेका गीतहरू करीब ढेड़ सयवटा भएको उनी बताउँछन्| कुरा गर्दा घरिघरि उनी जोशिन्दै भन्छन्, ‘‘अहिले पनि अभ्यास राम्ररी गरें भने घत्मा लाग्ने गीत गाउनसक्छु| यसो भन्दा उनी १९५५ सालतिर कालेबुङको कार्यक्रमलाई सम्झिन्छन्| त्यसबेला कालेबुङ मेला ग्राउण्डमा ‘‘चुईयामा हा...हा..’ गीत गाउँदा त्यहॉं ग्राउण्डभरि खचाखच भीड़ जमिएको थियो, उनी भन्छन्| १९५८ सालमा उनी भारतीय रेलवे विभागमपा कार्यरत भएर १९९५ सालमा सेवा निवृत्त भए| कार्यावधिको बीचमा उनी स्थान्तर भएर असमतिर पनि गए|
असमम एक महीना मात्र गाउनलाई तालिम लिए| यसबीचमा उनले गीत गाउन छोड़े तर अझ पनि उनको अन्तरआत्माआबाट संगीत मेटिएको छैन| अहिले पनि उनी स्तरीय संगीत सृजना गर्न संगीत सृजना गर्न सक्छन्| आफ्नो समयमस नेपाली संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान दिएकामा कदर गर्दै २००४ साला खरसाङको गोर्खा सांस्कृतिक संस्थानले उनलाई पहिला वैशाखको कार्यक्रममा सम्मान जनायो| अब फेरि गजेन्द्रका गीत संगीतहरूलाई फेरि जगाउने प्रयास चाहिएको छ|
उनका गीत ‘जीवनको दोबाटोमा बोटो बिराएँ’ यसमा अलिकति मिले पनि नमिले पनि जबरजस्ती यसरी थप्न मन लाग्छ ‘बाटो बिरायौ त के भयो, अब फर्किआउ आफ्नो त्यो बाटोमा जहॉं थियो तिम्रो संगीतको मोल|’