Gyurmila Bhutia
07/09/2018 00:33
(सिलगडी, भारतबाट प्रकाशित मासिक पत्रिका मध्यमार्ग अनि नेपालको न्यूज पोर्टल दैनिक नेपालमा प्रकाशित)
https://madyamarg.com/sep_2018/ad-29.php
https://www.dainiknepal.com/2018/09/348185.html
रूढिवादलाई चिर्दै ग्ल्यामर वर्ल्डमा ग्युर्मिला
-सञ्जय प्रधान
मोडलिङ जस्तो ग्ल्यामर वर्ल्ड (संसार)- लाई हेर्ने समाजको मानसिकता अहिले पनि रूढिवादीनै छ। ग्ल्यामर वर्ल्डलाई विशेष गरि महिलाहरू विभिन्न किसिमले उत्पीडित र शोसित हुने ठाउँको रूपमा मात्र हेर्ने गरिन्छ। फेसन शो, सौन्दर्य प्रतियोगितामा भाग लिनु साथै यसको आयोजना गर्नु भनेको यता सिक्किम-दार्जीलिङ पहाडी भेकको समाजमा फलामको चिउरा चपाउनु बारबार हो। तर, सिक्किमेली छोरी ग्युर्मिला भोटियाले गएको पाँच वर्षदेखि यो फलामको चिउरा चपाउँदै ग्ल्यामरको संसारलाई हेर्ने समाजको मानसिकतामा परिवर्त्तन ल्याउन छेउछाऊको काँढे घोचाईं कुराहरू खप्दै अघि बढिरहेकी छन्। महिला सशक्तिकरणको क्षेत्रमा सिक्किममा उनी उद्यमी महिला हुन्।
आध्यात्मिक संसार र ग्ल्यामर बेग्ला बेग्लै दिशाका बाटो हुन्। आध्यात्मिक क्षेत्रमा ग्युर्मिला अभ्यासित् बौद्ध हुन्। श्रीसत्य साई बाबाका परम अनुयायी परिवारका छोरी उनी सानोमा बाल विकासमा जाँदा त्यहींबाट नै सामाजिक साथै आध्यात्मिक क्षेत्रका थुप्रै कुराहरू बुझेकी छन्। आफ्नो लागिभन्दा बढी अरूका निम्तिनै सधैँ अग्रसर रहन्छिन्। दाहिने हातले दिएको देब्रेले थाहा नपाओस् भनेजस्तै जसलाई आवश्यकता छ उसलाई चुपचाप सहयोग गर्छिन्। ‘‘तपाई साइलेन्ट सोसियल वर्कर हुनुहुन्छ है!’’ भन्दा उनी उल्टै सोधछिन्, ‘‘तपाईंलाई कसले भन्यो?’’ उनको बारेमा सिक्किमकी सृजनशील उद्यमी छोरी देविका गुरूङ भन्छिन्, ‘‘ग्युर्मिला एकजना कठिन परिश्रम गर्ने युवा महिला हुन्। कसैको दु:ख हेर्न नसक्ने र दु:खमा परेकाहरूलाई चुपचाप सहयोग गर्छिन्। आफूलाई भन्दा बढी अरूलाई हेर्छिन्। उसको उद्देश्य र सपना भनेको नयाँहरूलाई ठूलो मञ्च प्रदान गर्नु रहेको छ।’’ आफूलाई खुशी लाग्ने र दु:ख लाग्ने विषयमा ग्युर्मिला भन्छिन्, ‘‘जुन मान्छे परिपूर्ण हुन्छ उसित केही न केही गर्नसक्ने क्षमता हुन्छ तर, केही गर्न सक्दिन भन्दै बहाना बनाउँदै आफ्नो कमजोरी देखाउनेहरू देख्दा दु:ख लाग्छ। अनि जोसित केही नहुँदा पनि केही गर्ने केही दिन खोज्ने कोशिश गरिरहेको हुन्छ, त्यस्ता मानिसलाई देख्दा औधीनै खुशी लाग्छ।’’ आध्यात्मिक क्षेत्रकै ज्ञानबाट उनी ग्ल्यामर संसारप्रतिको सामाजिक मानसिकतामा पविर्त्तन ल्याउने प्रयासमा कार्यरत् छिन्। वर्तमान समयमा ग्ल्यामरको दुनियँसित जोडिएको फेसन एउटा ठूलो पेशा भएर अघि आएको छ। सौन्दर्य र राम्रो आकर्षक पहिरन मन पर्दैन भन्ने मानिस संसारमा विरलै पाइएला। विश्वभरमा कयौं जातिहरू छन् जसको पहिरन आ-आफ्नै ढाँचाका हुन्छन्। जङ्गलमा बस्ने आदवासीहरूको पारम्परिक पहिरन साथै टाटुहरू समेत आज थुप्रै शोधकार्यहरूपछि शहरीया परिवेशमा पसेर ठूला महानगरहरूको पाँच तारे होटलहरूमा हुने फेसन शोको र्याम्पमा झिलीमिली भइरहेका छन्। फेसन-मोडलिङ एउटा कला भएको हुनाले यो गहिरो अध्ययनको विषय हो। यस विषयमा डिग्री हासिल गर्नेहरू धेरै सङ्ख्यामा छन्।
ग्युर्मिलाले जीवन जिउने अनुशासन र सङ्घर्ष गर्ने प्रेरणा आमा रश्मी भोटियाबाट पाएकी हुन्। परिवारलाई राम्रो अनुशासनमा बाँधेर राख्ने उनकी आमा रश्मी भोटिया स्टेट ब्याङ्क अफ् सिक्किम गान्तोकमा शाखा प्रबन्धक हुन् भने दक्ष लेखिका पनि हुन्। यो लेखको निम्ति ग्युर्मिलासित अनलाइन् कुरा गर्दा एरिजोना अमेरिकामा थिइन्। एरिजोनामा उनकी बहिनी पेनिला सफ्टवेयर इञ्जिनियर छिन्। एरिजोनाको सामाजिक जनजीवन खुबै राम्रो रहेको बताउँछिन् र उताका राम्रा राम्रा कुराहरू यता पनि भित्र्याउन मन पराउँछिन्। फेशनप्रति आकर्षण बारेमा कुरा गर्दा ग्युर्मिला भन्छिन्, ‘‘परिवारमा फेसन बारेमा कुनै चर्चानै हुँदैन थियो। घरमा त फेसनको पत्रिकाहरू ल्याइँदैन थियो। आफन्तको घरमा जाँदा फेसनको पत्रिकाहरू देख्थे र त्यहाँभित्र भएका फोटोहरू हेर्दै सिनेमाका कलाकारहरू बारेमा लेखिएका लेखहरू पढ्थे र खुबै राम्रो लाग्थ्यो।’’ गान्तोकको सन्त थोमस् स्कूलमा प्रारम्भिक शिक्षा हासिल गरेपछि मार्तमस्थित सन्त जोसेफ कन्भेन्ट र पीएनजी गान्तोकमा पढिन्। उच्चतर माध्यमिक परीक्षा पेलिङको सिनियर सेकेण्डरी स्कूलबाट उर्त्तीण गरिन्। सानी स्कूले विद्यार्थी हुँदा पनि अहिले पनि साथीसङ्गीहरू धेरै राख्ने र रमाइलो गर्दै विभिन्न विषयहरूमा चर्चा-परिचर्चा गर्न मन पराउँछिन्। स्कूलमा एसेम्बलीको कार्यक्रमहरू संचालन गर्थिन् अनि नाटक र नृत्यहरूमा अघि हुन्थिन्। गोस्पेल मेलोडीमा रानीको अभिनय गरेको सम्झना गर्छिन्। ‘‘स्कूलमा हुँदा ठूली भएर अभिनेत्री हुन्छु जस्तो लाग्थ्यो’’, उनी भन्छिन्। सानो हुँदा टीभीमा फेसन शो र सिनेमा देख्दा उनको सोचाईं बेग्लै थियो, एउटा नानीकै सोचाई थियो। ती कुराहरू गर्दा उनी अहिले खितिति हाँस्दै भन्छिन्, ‘‘टीभीमा, सिनेमामा नाचेको देख्दा मज्जा लाग्थ्यो, चित्रहार खुब हेर्थे। टीभीमा फेसन शो देख्दा राम्रो राम्रो लुगा लगाउन पाउँदोरहेछ भन्ने लाग्थ्यो अनि एक्ट्रेस बन्न सजिलो लाग्थ्यो। तर, त्यहाँभित्रको कठिन कार्य र सङ्घर्ष भने देख्न सकेको थिइन।’’
सानोमा टीभीमा देखेको फेसनको छाप उनको स्मृतिपट र हृदयमा गहिरो गरि छापिएको छ। उनलाई त फेसन डिजाइनिङ मन पर्थ्यो। तर, स्कूल सकेपछि २००८ सालमा एभिएशन एण्ड हसपिटालिटी म्यानेजमेन्टको डिप्लोपा गर्न कलकता गइन्। एभिएशनमा मेकअप् साथै लुगा लगाउन सिकाउँदा उनलाई राम्रो लाग्थ्यो। केबिन क्रू बन्ने कोशिश गरिन् तर, यसमा घरि वजन र घरि मेडिकलमा अडकिँदै भए पनि कोर्स गरिन्। यही कोर्सको बेलामा कलकतामा हुँदाखेरि एकदिन साउथ् सिटी मलमा उनी बसिरहेकी ठाउँमा एकजना व्यक्ति सोझै अघि आएर एक्कासी सोधे, ‘‘तपाईलाई मोडलिङ गर्ने इच्छा छ?’’ ती व्यक्तिले सोध्न त उनको मनको इच्छाकै कुरा सोधेका थिए। तर, अचानक कुनै अपरिचित व्यक्तिबाट यस्तो प्रश्न आउँदा पहिला त हिच्किचाइन्। कुरा राम्ररी बुझ्दा ती व्यक्ति कम्पनीको एजेन्ट थिएछ। मुखमा आएको गाँस पन्छाइनन्, हातमा आएको अवसरलाई समाति हालिन् र साथीहरूसित सल्लाह गरिन् र सबैले जाने सुझाव दिए। भोलिपल्ट एजेन्टकहाँ साथीहरूसित गइन्। मोडलिङको क्षेत्रमा उनको पहिलो कदममा सो एड एजेन्सी कम्पनीबाट बङ्ला, अङ्ग्रेजी वृत्तचित्रहरू र स्पाको निम्ति फोटो सुटहरू गर्न थालिन्। ग्ल्यामर संसारमा भइरहने ठूला ठूला पार्टी र जमघटमा एकपल्ट ‘ग्याङ्स्टर’—चलचित्रका नायक साइनी अहुजा पनि आएका थिए। माहौल निक्कै रङ्गीचङ्गी थियो, ग्युर्मिला पनि पहिलोपल्ट त्यो जमघटमा साथीहरू लिएर सामेल भएकी थिइन्। तर, उनलाई त्यो जमघटको परिवेश पटक्कै मन परेन। आफूलाई मन नपरेको बारेमा एजेन्टलाई भन्दा कुनै वास्तानै गरेनन्। उनी भन्छिन्, ‘‘त्यो जमघटमा मैले आफ्नो आत्मसम्मानमा ठेंस पुर्याएको जस्तो लाग्यो सानोमा बाल विकासको शिक्षाले मलाई त्यो जमघटमा बस्न पटक्कै मन परेन अनि म साथीहरूसित त्यहाँबाट फर्किहालेँ। म एउटा अनुशासित परिवारबाट आएकी हुनाले अभिनय कलालाई सम्मानको दृष्टिले हेर्छु।’’ यसपछि पनि मोडलिङको काममा भने निरन्तरता दिँदै आफ्नो काममा जान्थिन् कसैसित उस्तो गफ् हुँदैन थियो र फोटो सुट दिएर फर्किन्थिन्।
साथीहरूले मुम्बईमा मोडलिङको लागि राम्रो अवसर पाइन्छ भन्ने सुझाव दिँदा 2010 सालमा त्यतै लागिन्। मुम्बईको सङ्घर्षमय भूमिमा भत्भती पोल्ने गरममा आफ्नो भविष्य खोज्न एजेन्टको खोजीमा लागिन्। धेरै एजेन्टहरू भेटिन् तर, भित्रबाट उनी डराउँदै सतर्क भइन्। ‘‘कति एजेन्टहरूले राम्रो राम्रो टीभी सिरियलहरू छ भन्दै ट्राइ गर्नुभन्यो। एकपल्ट एउटा एजेन्टले ‘बालिका वधु’को सेटमा बोलायो। एजेन्टले आफूलाई विश्वास गर्दैन भनेर सेटमा बोलाउनुको कारण थियो। तर, म त्यहाँ गइन’’, उनी भन्छिन्। अर्कोपल्ट अर्को एजेन्टकहाँ जाँदा उसले एउटा चलचित्र छ भनेर बताएको कुरा गर्दै उनी हाँस्दै भन्छिन्, ‘‘त्यो एजेन्टले फिल्ममा अमिताभ बच्चन छ भन्दा म छक्क परेँ। मनभित्र शङ्का लाग्न थाल्यो कतै डुपलिकेटसित काम गर्न लाउँलान की भनेर डर लाग्यो। उसको कुरा पत्याइन र गइन।’’ मोडलिङको क्षेत्रमा आमा अलिक डराउँथिन्, तरै पनि मुम्बई जाने अनुमति दिएकी थिइन्। ‘‘हामी सम्पूर्ण परिवार साई भक्त हौं। वर्षेनी पुट्टपर्त्ती जान्छौं। कलकताबाट त्यही साल (2010)-मा म पुट्टपर्त्ती गएँ र त्यहाँ बाबाको दर्शन भयो। त्यहाँ स्वामीको एकजना भक्त चिरन दाज्यूले मलाई मोडलिङको क्षेत्रमा काम नगर्ने सुझाव दिनुभयो। मलाई आध्यात्मिक क्षेत्र मनपर्ने हुनाले यसको प्यास भने भित्र कुनामा बसेको हुँदो रहेछ। मैले रातभरि सोंचे र मुम्बई गइन र सोझै गान्तोक घरमा आएँ। म फर्किएको देखेर आमा खुशी भइन्’’, उनी भन्छिन्।
उनी डेभलपमेन्ट एरिया गान्तोकस्थित घरमा आएर बसेपछि त्यसै बसिनन् अझ थुप्रै नयाँ सकारात्मक विषयहरूमा विचार गर्न थालिन्। आध्यात्मिक क्षेत्रको उर्जाले उनीभित्र सकारात्मक शक्ति सञ्चार भइरहने हुँदा आध्यात्मिक विषयहरू बारेमा निक्कै अध्ययन गरिन्। यसै बीचमा, कुरा हो २०१२ सालको। सिक्किमले सौन्दर्य प्रतियोगिताको क्षेत्रमा बिस्तारै पाइला चाल्न शुरू गरेको थियो। सोही सालमा ग्युर्मिलाकी छेमा र आकु (काका) स्व. पेम दोर्जीका छोरी जेनिला भोटियाले मिस् सिक्किम प्रतियोगितामा भाग लिन लगाइन्। स्व. पेम दोर्जी एक समय कलकताको मोहम्मडन स्पोर्टिङ क्लवका सुपरिचित फुटबल खेलाडी थिए भने उनका छोरी जेनीला ग्युर्मिलाकी बहिनी हुन्। सिक्किममा मोडलिङको क्षेत्रमा नयाँ आयाम दिनलाई ग्युर्मिलाको आवश्यक्ता परेको हुनाले यसको माध्यम बनेर २०१२ सालमा जेनिला आइन्। जेनिलाले नै उनलाई ‘मिस् सिक्किम’ प्रतियोगिताको फर्म भर्न लगाइन्। सो प्रतियोगितामा जेनिला विजयी भएर ‘मिस् सिक्किम’ भइन्। टप फाइभमा पुगेकी ग्युर्मिलाले ‘मिस् फेसबूक’ र ‘मिस् फोटोजेनिक’को उपाधि हासिल गर्न सक्षम भइन्। ‘मिस् सिक्किम’ बनेकै साल जेनिला ‘सनसिल्क मेघा मिस नर्थइस्ट’ अनि २०१४ सालमा ‘एफबीबी फेमिना मिस् इण्डिया कलकता’मा प्रथम उपविजेता भइन्। जेनिला नर्थइस्टको प्रतियोगितामा जाँदा कुनै सही माध्यम थिएन सम्झौताहरू पेशादारी रूपमा हुँदैन थियो। तरै पनि जेनिला आफ्नै बलबुत्तामा गइन्। यस्तो देख्दा सिक्किमदेखि बाहिरका ठूला प्रतियोगिताहरूमा जानका निम्ति सही माध्यम र पेशादारी सम्झौता हुनुपर्छ भन्ने विचार ग्युर्मिलाले गरिन्। यता ग्युर्मिलाले सामसुङ मोबाइलको विज्ञापनमा मौका पाएर राष्ट्रिय स्तरमा आउन सफल भइन्। यसको निम्ति भारतको चर्चित मेहबूब स्टुडियोमा सुटिङ गर्न पुगिन्। उनी भन्छिन्, ‘‘सामसुङको विज्ञापनको निम्ति सुटिङ गर्न मुम्बईको मेहबूब स्टुडियोमा गएँ। मेहबूब स्टुडियोमा पुगेर फोटो सुट गर्न पाउँदा अतिनै खुशी लागेको थियो।’’ २०१३-मा ‘मिस् सिक्किम’ प्रतियोगिताको आयोजनामा निक्कै सहयोग गरिन्। यहींबाट सिक्किमलाई ग्ल्यामरको संसारमा नयाँ आयाम दिनका निम्ति नयाँ अवधारणा साथै योजनाहरू बारेमा मन्थन् गर्न थालिन्।
आध्यात्मिक ज्ञानले आत्मविश्वास बटुलेकी ग्युर्मिलाले इङ्ल्याण्डबाट आएका उद्यमी साथी विजय सुब्बासित मिलेर २०१४-देखि ‘पोजिट्युड’ स्थापना गरिन्। यसमा ग्युर्मिला सीईओ अनि विजय सुब्बा एमडी हुन्। २०१४-देखि निरन्तर ‘मिस् सिक्किम’ प्रतियोगिताको आयोजना ‘पोजिट्यूड’को मञ्चबाट भइरहेको छ। यसको निम्ति पैसा लागानी गरेर मेघा नर्थइस्टका एमडी अभिजीत सिन्हालाई सिक्किम भित्र्याएर पहिला प्रशिक्षणको कार्यहरू गराइन्। ‘पोजिट्यूड’ले आज ‘फेमिना मिस इण्डिया’सित सम्बन्धित भएर सौन्दर्य प्रतियोगिता आयोजना गरिरहेको छ। ‘मिस् सिक्किम’ प्रतियोगिताबाट हिजोआज सोझै ‘फेमिना मिस् इण्डिया’मा भाग लिन सकिरहेको छ। ‘मिस् युनिभर्स’ र ‘मिर्स वर्ल्ड’मा भाग लिन पाउने यो ग्ल्यामर संसारको सबैभन्दा ठूलो राष्ट्रिय मञ्च हो। गत वर्ष २०१४-मा रोशनी घिमिरे अनि यस वर्ष २०१८-मा प्रमिला छेत्रीले ‘फेमिना मिस् इण्डिया’मा भाग लिएकी थिइन् भने पेडेन ओङ्मूले मिस् सुप्र नेशनलमा भाग लिइन्। ग्युर्मिलाले आफूले देखेको सपनालाई विपनामा परिणत गरेर आफूजस्तै थुप्रै युवाहरूलाई राष्ट्रिय अनि अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउने बृहत अभियानमा लागिरहेकी छन्। अरूका निम्ति यसरी ठूलो मञ्च तयार गर्दै लैजान सकेकोमा उनलाई आत्मसन्तुष्टि प्राप्त हुन्छ। उनी भन्छिन्, ‘‘यसप्रकारले काम गर्न सकेकोमा खुशी लाग्छ।’’ ‘पोजिट्यूड’मा २० जना सदस्यहरू छन् जसमा कतिले व्यक्तिगतरूपमा सहयोग गर्छन् भने कतिलाई वेतनमा नियुक्त गरिएको छ। ‘पोजिट्यूड’द्वारा आयोजना गरिने ‘मिस् सिक्किम’को कार्यक्रम शिक्षिका अञ्जली छेत्रीले उद्घोषणा गर्छिन् अनि फोटोग्राफर आकाशदीप गजमेर रहेका छन्। ग्युर्मिला ग्लोबल ग्रुप अफ् कलेजद्वारा महिला सशक्तिकरणको निम्ति सम्मानित भइसकेकी छन्। बेसी जस्तो शाकाहारी खाना मन पराउने ग्युर्मिला ग्ल्यामर संसारदेखि छुट्टै समय निकालेर मेडिटेशन गर्छिन्। पुरै घरेलु छिन् र घरको रखरखाउ, सजावटमा धेरै चासो राख्छिन्। उनको कार्यलाई हेरेर आमा खुशी छिन्।
सिक्किम-दार्जीलिङ हिमाली भेकमा ग्ल्यामर संसार थिएन तर, बिस्तारै यसको क्रेज बढ्दै गइरहेको छ। यसमा एउटा उच्चस्तरको राम्रो पेशदारी छ र यसलाई पेशा बनाउन सकिन्छ भन्ने विषयमा समाज त्यति सचेत हुनसकेको छैन। समाजमा अझ पनि भित्रीरूपमा रूढिवाद कायमनै छ। ग्युर्मिलाले ‘पोजिट्यूड’सम्म आइपुग्न निक्कै सङ्घर्ष गर्नुपर्यो। फेसनलाई हेर्ने समाजको विचार उनी बदल्न चाहन्छिन्। उनी भन्छिन्, ‘‘सङ्घर्ष निक्कै गर्नुपर्यो। कतिले यस्तो कार्यक्रम नगर्नु भन्छ। अहिले पनि रूढिवाद कहीं न कहीं रहेको छ। मोडलिङलाई हेर्ने धेरै मान्छेको अवधारणामा परिवर्त्तन गराउने कोशिशमा छु।’’ ग्ल्यामरको संसारमा सबैभन्दा बढी शोषण र उत्पीढन हुन्छ भन्ने धारणा समाजको प्रत्येक वर्गको स्मृतिपटमा गाढिएको छ। तर, शोषण र उत्पीढन भन्ने कुरा युगौंदेखिनै चारैतिर रहेको छ। अहिलेको युगमा भने शोषण र उत्पीढन समाजको प्रत्येक क्षेत्र साथै वर्गभित्रमा नै रहेको छ। यस्तै कुराहरूको चर्चामा उनी भन्छिन्, ‘‘हरेक क्षेत्रमा नै आफ्नो सुरक्षा आफै गर्नुपर्छ। ग्ल्यामरमा मात्र होइन सबैमा नै शोषण छ।’’ सिक्किममा ग्ल्यामर संसारमा प्रवेश गर्नेहरूलाई उनी आध्यात्मिक विषयहरूमा बताउँछिन् र यसको माध्यमबाट धेरै कुराहरू बुझाउँछिन्। आध्यात्मिक विषयमा ज्ञान हुनुपर्छ भन्ने पक्षलाई उनी महत्त्व दिन्छिन्। उनी भन्छिन्, ‘‘आध्यात्मिक विषय हाम्रो अनन्त जीवनमा लिएर जानसक्छौं। ग्ल्यामर यो शरीर रहेसम्म रहन्छ अनि यो शरीर आत्माको एउटा पहिरन मात्र हो। कर्ममा नै ईश्वर हुन्छ। आध्यात्मिक विषयले मानव मूल्य, नैतिकता सिकाउँछ। अनि हरेक कर्ममा नैतिकता हुन सबैभन्दा आवश्यक हो।’’*
||शुभकामना||
