Hari Chettri

17/04/2013 08:25

          घोर निन्द्राबाट ब्यूँझिएपछि हरि

 ------सञ्जय प्रधान-------

        कसैले एक बाल्टी चिसो पानी खन्याइदिएर घोर निन्द्राबाट ब्यूँझाइदिएको जस्तो लाग्छ हरि छेत्रीलाई। दार्जीलिङ पहाड़ी भेकमा जसले पनि एचआईभी/एडस्‌को जनचेतना कार्यक्रमहरूमा भाग लिएका छन्‌ उनीहरू प्रायःले नै हरिलाई राम्ररी चिन्दछन्‌। समाजलाई एचआईभी रोगको संक्रमणबाट सुरक्षित राख्ने अभियानमा हरि आफै उदाहरण भएर अघि आएका छन्‌। 2005 सालदेखि उनी एचआईभी रोगसित आफै संघर्ष गर्दै आइरहेका छन्‌। दार्जीलिङ पहाड़ी भेकमा एचआईभी रोगीहरूलाई सहयोग गर्ने, उनीहरूको समाजिक अधिकारको सुरक्षा गर्ने अनि समाजलाई यस रोगबाट सुरक्षित राख्ने अभियानलाई उनले निरन्तरता दिंदै आइरहेका छन्‌। यति मात्र होइन्‌ समाजमा बढ़दै गएको दुर्व्यशनलाई नियन्त्रणमा ल्याउनलाई पनि उनी जनजागरणको अभियानमा ओर्लिएका छन्‌। कतिका लागि हरि शोधकार्यका विषय समेत भएका छन्‌। आफ्नो बितेको जिन्दगीलाई हरिले उदाहरण स्वरूप प्रस्तुत गर्दै समाजको अघि यस अभियानमा ओर्लिएका छन्‌।

        हरिको बितेको जिन्दगीलाई हेर्ने हो भने एउटा सानो बालकलाई ड्रग्स्ले सिङ्गै निलेको कथा छ। कशोर अवस्था (टिनेज्‌) भताभुङ्गै भएको दर्दनाक कथा हरिसित जोड़िएको छ। अहिले ठूला ठूला राष्ट्रिय साथै राज्य स्तरका सेमिनारहरूमा एचआईभी/एडस्‌ बारेमा शोधपूर्ण प्रस्तुती दिने हरि सानोमा लजाउने खालका थिए। मानिसहरूको भीड़को सामना गर्न सक्दैन थिए। दार्जीलिङको गाउँ तुङसुङमा साथीहरूसित खेल्थे तर अन्यहरूसित भने लजाएर बोल्न सक्दैन थिए। सन्त रोबर्टस्‌ स्कूल पढ़दा सानो विद्यार्थी हुँदा हरिलाई पुलिस अधिकारी र अधिवक्ता बन्न मन पर्थ्यो। ठूला ठूला दाज्यूहरूले सिग्रेट पिएर धुँवा उड़ाएको देख्दा सानो हरिलाई पनि यसले आकर्षित पार्‍यो। ठूलाहरूले गजक्क परेर सिग्रेट पिउँदै धुँवा उड़ाउँदै गफ्‌ गरेको देख्दा यसप्रति हरिको कौतुहल जाग्न थाल्यो। ठूलाहरूले किन सिग्रेट पिउँछन्‌ र यो मुखमा च्यापेर धुँवा उड़ाउँदा के हुन्छ र कस्तो महसुस हुन्छ? भन्ने कौतुहलले भरिएको प्रश्न हरिको टाउकोमा फिन्‌फिन्‌ घुम्न थाल्यो। यति बेला हरि 6 कक्षमा पढ़दै थिए। ठूलाहरूले मज्जाले तान्ने सिग्रेट कस्तो नै हुँदो रहेछ भनेर यसको स्वाद लिनलाई हरिले 6 कक्षमा नै सिग्रेटको सर्को मारे। सिग्रेटको सर्कोले असर पारिहाल्यो। साथीहरूको अघि सिग्रेट पिउँदा आफूलाई ठूलै मान्छे सम्झिन थाले र आफ्नो व्यक्तित्वमा केही परिवर्त्तन आएको ठाने ती 6 कक्षाको बालक हरिले। त्यति बेला मनभित्रको डर र लाज हराएको जस्तो लाग्यो। यस्तो हुँदा हरिलाई सिग्रेटको लत्‌ लाग्यो। यसपछि विस्तारै साथीहरूको संगतमा परिवर्त्तन हुँदै गयो। आफू भन्दा ठूला दाज्यूहरूसित हिड़थे। हरिले  उनीहरूमा जहिले पनि एउटा छुट्टै खालको स्फूर्ति देख्न थाले। उनीहरू ड्रग्स्‌ सेवन गर्ने भएका हुनाले दुर्व्यसनको शिकार भइसकेका थिए। सानो बालक हरिलाई यो कुरा थाहा थिएन। ड्रग्स्‌ के हो सो बेला उनले बुझेका थिएनन्‌। चौदह वर्ष पुग्दाखेरि हरिले साथी दाज्यूहरूको होहोरीमा पहिलोपल्ट ड्रग्स्‌ चाखे। पहिलो चखाईमा शरीरमा केहि क्षण स्पूर्ति पैदा भएको महसुस भयो। सानो बालकलाई नशालु पदार्थले एकैपल्टमा झ्वाम्मै छोपिहाल्यो। यसरी सानो बालक ड्रग्स्‌कै पछि दौड़िन थाले। सो बेला नाइन्ट्रोसम टेन (एन-टेन), फेन्सिड्रिलहरू खान थाले। यो कुरा हो सन्‌ 1993 सालतिरको। ड्रग्स लिंदा उनलाई आत्मविश्वास बढ़ेको जस्तो लाग्न थाल्यो। ती कुराहरू सम्झिन्दै अहिले हरि भन्छन्‌-‘‘त्यो सबै केही क्षणको लागि सिमित समयको एउटा खेल मात्र थियो। जादुवालाले केही क्षणको लागि देखाएको जादु जस्तो मात्र थियो।’’ अहिले हरि ड्रग्सदेखि कोशौं कोश टाड़ा छन्‌। चौदह वर्षको कलिलो उमेरमा ड्रग्स सेवन गर्न थालेपछि चौबीस वर्षको उमेरसम्म नै यसको कुलतमा फँसे। समाजका प्रत्येक युवावर्गलाई ड्रग्समुक्त गराउने उद्देश्यले आज हरि आफै एउटा उदाहरण भएर आफ्नो बितेका कुराहरू केही नलुकाइ प्रत्येक जनचेतनामूलक कार्यक्रममा भन्छन्‌। आफू दुर्व्यासनी भएको बेलाको अवस्था बारेमा उनी भन्छन्‌-‘‘म दुर्व्यसनमा फँसेपछि मलाई ड्रग्सको लागि पैसा चाहिने भयो। ड्रग्स पाएपछि केही चाहिन्दैन थियो। ड्रग्स पाएपछि फेरि अर्को खुराकको लागि पैसा कसरी जोगाड़ गर्नु यसको पछि लाग्थे। ड्रग्स पर्याप्त भए पैसा चॉंहिदैन थियो। पैसा पाएपछि ड्रग्स कसरी जुटाउनु यसको  पछि लाग्थे। दश वर्ष मेरो जिन्दगी ड्रग्स र पैसा अनि ड्रग्स र पैसामा नै घुमिरह्यो। यो बाहेक दिमागमा अरू केही आउँदैन थियो।’’

        हरिलाई ड्रग्सले पुरै खाइसकेपछि अवस्था नाजुक भइसकेको थियो। ड्रग्स नपाउँदा जीउ नै बिसञ्चो हुने भइसकेको थियो। कहिले एक्लै त कहिले साथीहरूको हुलमा बसेर ड्रग्स सेवन गर्थे। 1995-96 सालदेखि सुईंद्वारा ड्रग्स सेवन गर्न थाले। ड्रग्सकै कारणले पढ़ाइमा पनि बाधा परेको थियो। उनी भन्छन्‌-‘‘त्यति बेला ड्रग्स कसरी जुटाउनु भन्ने मात्र विचार आउँथ्यो।’’ ड्रग्स नै जिउने साधन भइसकेको थियो। समय यसरी नै बित्दै गयो। संगै बसेर ड्रग्स लिने साथीहरू ड्रग्स छोड़ेर सामाजिक मूलस्रोतमा आइसकेको उनले देख्न थाले। यस्तो देख्दा हरिलाई ड्रग्स छोड़ेर यसदेखि धेरै टाड़ो बस्न मन लाग्थ्यो। ड्रग्स छोड़न चाहेर पनि उनलाई ड्रग्सले पिछा छोड़दैन थियो। दुर्व्यसनको रोगले पुरै च्यापी सकेको थियो। यसको उपचार हुन्छ भन्ने कुरा थाहा थिएन। हरिले बताएअनुसार घर परिवारले ड्रग्स छोड़ाउनका लागि पुरोहित लगाएर पूजा पाठ गराए अनि यसबाट पनि नहुँदा धामी-झॉंक्री समेत लगाए। तर हरिभित्र जरा गाड़िसकेको दुर्व्यसनको रोग भने निस्किन सकेन। दुर्व्यसनबाट मुक्ति दिलाउन दार्जीलिङको पुर्नवास केन्द्र कृपा फाउण्डेशनमा हरिलाई उपचारको लागि साथीहरूले नै भर्ती गराए।

      कृपा फाउण्डेशनमा नै उपचार भएर हरि ड्रग्सबाट मुक्त भए। यसपछि उनले ड्रग्स सेवन गर्न छोड़े। तर छोड़ेपछि उनीमाथि ठूलो वज्रपात भयो। ड्रग्स छोड़ेको एक वर्षपछि रगत जॉंच गर्दा आफूलाई एचआईभी रोगले संक्रमित भएको पाए। साथीहरूको हुलमा सुईंद्वारा ड्रग्स सेवन गर्दा खेरि नै यस रोगले संक्रमित भइसकेका थिए। यस्तो ठूलो वज्रपात हुँदा हतास भए अनि जिन्दगी निष्पट कालो-अँन्ध्यारो देखे। हतासिएर नै उनले फेरि ड्रग्स सेवन गर्ने विचार समेत गरे। तर आफूमाथि चमत्कार नै भएको सम्झिएर रोके। उनी भन्छन्‌-‘‘म माथि चमत्कार नै भएको थियो। दुइपल्ट ओडी (ओभर डोज्‌) भएर पनि म बॉंचेको हो। त्यस बेला मलाई भगवानले नै केही कारणले जिउँदो राखेको जस्तो लाग्यो।’’ मनमा त्यस्तो कुराको सम्झना आउँदा सो बेला आफै सम्हालिए। ड्रग्स मुक्त भएर कृपा फाउण्डेशनकै प्रोजेक्टमा काम गर्न थाले। त्यति बेला एचआईभी/एडस्‌ जनचेतनाको प्रचार अहिलेको जस्तो व्यापक रूपमा हुँदैन थियो। पर्चा र पोस्टरहरू हुन्थ्यो तर जनचेतनामूलक कार्यक्रमहरू भने उति बढ़ी भएको थिएन।

      एचआईभी/एडस्‌ रोगलाई कलंकित मान्ने र यस्ता रोगीहरूलाई अप्रत्यक्ष रूपमा सामाजिक भेद्भाव गर्ने गरिन्थ्यो। सो बेला हरिले एउटा बस्तीमा एकजना महिला पनि यस्तै रोगले ग्रस्त भएको सुनेका थिए। ती महिलालाई समाजिक भेद्भाव गरिएको थियो। ती महिलाको कोठामा कोही पस्दैन थिए अनि खाना पनि दैलो सानो उघारेर बाहिरबाट नै ठेलेर भित्र दिइन्थ्यो। कुरा सुनेर हरि ती महिलालाई उसको घरमा गए र उसको कोठाभित्र पसे। कोठाभित्र पस्दा ती महिलाले हरिलाई अँगालो हालेर डॉंको छोड़ेर रोइन्‌। ती कुरा सम्झिन्दै हरि भन्छन्‌-‘‘मैले त्यति बेला बुझे एचआभी/एडस्‌ रोगीलाई रोगले होइन्‌ समाजिक भेद्भावले नै मार्दो रहेछ।’’ सो बेला अस्पतालमा समेत यस्ता रोगीहरूलाई हेर्न हिचकिचाउँथे। समाजमा कलंकित ठानेर भेद्भाव गरिन्थ्यो, नोकरीबाट निकालिन्थ्यो, यदि कोही विद्यार्थी छन्‌ विद्यालयबाट समेत निकलिन्थ्यो। समाजमा एचआईभी/एडस्‌ रोगीको अनुहार देखेको थिएन। सञ्चार माध्यम, पत्र पत्रिकाहरूमा समाजिक भेद्भावका कारणले उपचार नपाएर जीवनको अन्तिम अवस्थामा पुगेर खिङ्‌ग्रिङ्ग भएको तस्वीर प्रकाशित हुनु पनि समाजिक भेद्भावको कारण थियो। समाजमा यस्ता रोगीहरूलाई स्वीकार गर्न मान्दैन थियो अझ पनि यसमा जनचेतना भन्ने कुरा पूर्ण रूपमा आउन सकेको छैन। ती महिलाको अवस्था देखेपछि हरिले सामाजिक भेद्भाव हटाउन र रोगीहरूलाई सहयोग गर्नका लागि अभियान चलाउनलाई काम गर्न थाले। हरि र साथीहरूले पहिला सृष्टि नाम गरेर एउटा संस्था खोलेका थिए। सन्‌ 2005 सालदेखि सृष्टि नै शंकर फाउण्डेशन भएर दार्जीलिङ पहाड़ी भेकमा एचआईभी/एडस्‌ रोगीहरूको उपचार, रोगीहरूलाई सहयोग गर्न र सामाजिक भेद्भाव हटाउनका लागि अघि आयो। सन्‌ 2005 सालसम्म दार्जीलिङ पहाड़ी भेकमा एचआईभी रोगी कस्तो हुन्छ सो प्रत्यक्ष रूपमा देखेको थिएन। यस्ता रोगीहरूको अनुहार समाजको अघि काल्पनिक मात्र थियो। सामाजिक भेद्भाव हुने डरको कारणले एचआईभी रोगीहरू खुला रूपमा अघि आउन सकेका थिएनन्‌। सामाजिक भेद्भाव बन्द गर्ने प्रयास चल्दै गरेको बेलामा उता छिमेकी राष्ट्र नेपालमा समाजको अघि खुला रूपमा आएका एचआईभी रोगी राजीव काफ्ले सन्‌ 2006 सालमा दार्जीलिङ आइपुगे। दार्जीलिङमा आएर काफ्लेले आफूलाई खुला रूपमा सबैको अघि एचआईभी रोगी बताए। उनले अन्य रोगीहरूलाई पनि समाजको मूलस्रोतमा आउने आह्वान गरे। सो आह्वानपछि हरि साथै उनका दुइ तीन जना साथीहरू पनि सबैको अघि सञ्वार माध्यमबाट खुला रूपमा समाजको अघि आए। खुला रूपमा अघि आएको बताउँदै हरि भन्छन्‌-‘‘एचआईभी भएको मान्छे पनि आममानिसहरू जस्तै हो भन्ने देखाउनलाई खुला रूपमा अघि  आएको कारण हो।’’ एचआईभी रोगीहरूको उपचार, सहयोग र अधिकारको लागि, एचआईभी रोगबाट समाजलाई बचाउन, युवावर्गलाई सचेत गराउनका लागि हरि शंकर फाउण्डेशनबाट खुला रूपमा निस्किए। एचआईभी/एड्‌सका प्रत्येक जनचेतनामूलक कार्यक्रमहरू, संगोष्ठीहरूमा हरिले आफू जस्तै रोगीहरूलाई समाजको मूलस्रोतमा आउने गर्छन्‌ साथै समाजका प्रत्येक वर्गलाई यसबाट सचेत गराउँछन्‌। हरि एकजना यस्ता एचआईभी रोगी हुन जो अन्य रोगीहरूका लागि जीवन जिउने साहारा हुन्‌। यस रोगसित संघर्ष गर्दा गर्दैै उनी यसमा विशेषज्ञ नै भएका छन्‌। समाजको प्रत्येक वर्गमा एचआईभी रोग बारेमा कसरी जनचेतनामूलक कार्यक्रमहरू गर्ने, कसरी शिक्षित गराउने, रोगीहरूको उपचार र सहयोग गर्ने जस्ता विषयहरू उनले ठूला ठूला गैर सरकारी संस्थाहरूबाट प्रशिक्षण प्राप्त गरेका छन्‌। एचआईभी रोगीहरूको मानव अधिकार बारेमा लयर्स कलेक्टिभ दिल्लीमा प्रशिक्षण लिएका छन्‌। यसका साथै चेन्नईको होप फाउण्डेशन (इण्डियन नेटवर्क अफ्‌ एचआईभी पोजिटिभ पिपल), क्यानडाको लाउरा लुई फाउण्डेशनबाट महाराष्ट्रमा पनि प्रशिक्षण लिइसकेका छन्‌। यस बाहेक एचआईभी/एडस्‌ बारेमा राष्ट्रिय स्तरका साथै ठूला ठूला संस्थानहरूमा हुने संगोष्ठीहरूमा जनचेतनामूलक प्रस्तुती दिइसकेका छन्‌। दिल्लीमा राष्ट्रिय स्तरको, कलकतामा आईआईटीडीमा भएको राज्य स्तरको संगोष्ठीमा अनि सिक्किम विश्वविद्यालय, हिमालयन फार्मास्यूटिकलमा आफ्नो प्रस्तुतिहरू दिएका छन्‌। हरि र शंकर फाउण्डेशन अनि अन्यहरूमाथि शोधकार्य गरेर सिक्किम विश्वविद्यालयका प्रा0 बिनु सुन्दासले एचआईभी/एडस्‌ बारेमा ‘‘एचआईभी/एडस्‌ इन्‌ दार्जीलिङ एर्मजिङ इन्‌ सोसियो पोलिटिकल कन्सर्न’’ पुस्तक लेखेका छन्‌। हरिका कुराअनुसार समाजिक भेद्भाव बन्द नभएसम्म रोगीहरू लुकी बस्छन्‌ र रोग अझ बढ़ी फैलिरहन्छ। उनी भन्छन्‌-‘‘एचआईभी रोगीहरूलाई समाजको मूलस्रोतमा ल्याउन र बचाउनका लागि सामाजिक भेद्भाव बन्द हुनुपर्छ। एचआईभी भएपछि जीवनशैली बदल्नु पर्छ।’’ ड्रग्स बारेमा उनी भन्छन्‌-‘‘ड्रग एडिक्सनले आफूलाई मात्र बिगार्दैन एउटा परिवारलाई भताभुङ्ग बनाउँछ, समाज भत्काउँछ। यो एडिक्सन उपचार हुने रोग भएको हुनाले समयमा नै उपचार गरिहाल्नु पर्छ।’’

         हरि आफै एचआईभी रोगी भएर समाजमा अब यसको रोकथामको लागि साथै अन्य रोगीहरूलाई पनि समाजको मूलस्रोतमा ल्याउन समाजिक कार्यकर्त्ता कै रूपमा अघि आएका छन्‌। हरि साथै शंकर फाउण्डेशन जस्ता धेरै गैर सरकारी संस्थाहरू एचआईभी रोकथाम र यसमा हुने समाजिक भेद्भाव हटाउने अभियानमा अघि बढ़ीरहेका छन्‌। सामाजिक चुनौतीहरूको समाना गर्दै अभियान चलिरहेको छ। आज एचआईभी/एडस्‌ र ड्रग्स्‌ रोकथामको लागि चलिरहेको अभियानलाई हर्ने हो भने हरि जस्ता मूलस्रोतमा आएका सामाजिक कार्यकर्त्ताहरू सम्मानका हकदार हुन्‌।  एचआईभी रोग र रोगी बारेमा लेख्न, कुरा गर्न, संगोष्ठीहरूमा भाषण छॉंटन्‌, नाटक, वृत्तचित्र, सिनेमा बनाउन सबैको लागि चाखलाग्दो विषय हुन्छ। तर समाजको मूलस्रोतको कुरा नै अहिले एचआईभी रोगभन्दा ठूलो चुनौती भएको छ।