-------विमल राई
‘तथाकथित नेता हुँ भन्नेहरूले भित्रभित्रै क्वाप्प खाइदियो’, ‘जनताले छाला तार्नुपर्छ’ ‘पहाड़का कार्यालयहरू भकाभक सिलगढ़ी सार्दा पनि यहॉंका सुतुवा जनता ट्वॉं पेरेर हेरिबस्छन्’ ‘आरटीआई भन्नेबितिक्कै यहॉंका कतिपय उच्च अधिकारीहरू पनि बिनाबिच्चामा छुलछुल हुन्छन्’ ‘मिड-डे मिलले मारूती किन्नेहरूलाई भोकानाङ्गा गरीब नानीहरूको श्राप लाग्छ नी, होशियार सरहरूको बोंसे आन्द्रामा ट्यूमर निस्केला नी’ ‘के साहित्यिक विद्वानहरू भन्नु मोरा आरिसेहरू! बुद्धि भएर पनि गॉंड़ कोराकोर गरिबस्छन्’ ‘नारदमुनिजस्तो यताको कुरा उता, उताको कुरा यता गर्ने पोलाहा, छुस्के, चम्चेहरूलाई पनि पत्रकार भन्नु र? छात्तीमा रौ छ भने खोतलेर कड़ा लेखोस् न अर्काको कुरा ओसारेर कहिले?’ ‘खबरकागत भनेको सत्ताधारीहरूको स्वस्थ समालोचक ,विपक्षीहरूका संरक्षक ,आमजनताको आँखा र आवाज हो। यसले आफ्नो निष्पक्षता र पारदर्शिताको धर्म पालन गर्नैपर्छ। यसलाई बन्द गर्नु गणतन्त्रको आत्महनन हो।’ ‘लेख्दा पनि भएन भने म त हातैले पो अर्जापी दिन्छु,पाकपाक-पुकपुक पारेको छु कतिखेप त।’
जनम राई कमानेका यस्ता ठाड़े धारे,आरे शब्द र वाक्यंाशहरूले भरपुरिएका रचनामा पल्किने पाठकहरूलाई कमाने कुन ताल र चालका मनुखे हुन् भनी परिचय दिइरहने उत्ति दरकार पर्दैन। तीखो लेखाइ, छुच्चो ओठ, खोजेर-घोंचेर लेख्ने, प्याचपुच भनेर कसैलाई बॉंकी नराख्ने जोरीपारी खोज्दै आइलाग्नेहरूलाई दोक्चाइ पनि दिइहाल्ने तर आफ्नो लुते कुख्रे छात्तीभित्र सधै आलोआलै रचनात्मक र सृजनाशील विचारको हेक्का बोकेर हिँड़ने भीड़भित्रका बिरालाकोटी युवा स्वतन्त्र पत्रकार हुन्-जनम राई ‘कमाने’।
लाग्छ यो होचिएको हेलिएको ‘कमाने’ उपमा किन रोज्यो जनमले? तर जनमको चोसे उत्तर छँदैछ-
‘‘ अब कमानको मान्छे, सिधै कमाने भइगयो नी। कमानेलाई कमाने नभनेर लण्डनेे भन्नु? तर यो कमान(चियाबारी)दार्जीलिङलाई विश्वमा चिनाउने सुवासित ट्रेडमार्क पनि हो है ! दार्जीलिङको गत्तिलो चिन्हारी हो कमान। यो कमान शब्दभित्र थुप्रै छ- हेलाहोंचो, शोषण, रगत, पसिना,आँसु, हॉंसो, रोदन, इतिहास, भूगोल अनि न्यायसम्मत द्रोह र विद्रोह पनि। कमानेको अर्थ आफै कोट्याएनोस्। म त खाली जाबो जनम राई कमाने मात्र।’’
पाठकहरूको ठहर छ-
नडराई रॉंट्टो मारेर लेख्ने त जनम राई कमाने नै हुन्। हुनु पनि समसामयिक विषयहरूलाई बोलचाले भाषा ,शैलीमा ठाड़ै आक्रमक साथै कसी लाएर लेखेकैले गर्दा कमानेको कलमले धेरैको चेत खोलिदिएको छ। त्यसमा पनि आफ्ना कानूनन् अधिकारसम्मत विषयहरूमा चिलिमच्वॉंट पहाड़े जनताका हिमायती बनेर निष्पक्ष लेखन गर्दै कमानेले लप्पनछप्पन गर्ने कतिपय नेता, अधिकारीहरूलाई गिदी पकाइदिएका छन्। खासैमा हाम्रा पहाड़ेवीरहरू ऐन-कानून भनेपछि बिनाबिच्चामा छुलछुल हुन्छन्। हामीले नै उपभोग गर्नुपर्ने विषयमा हामी आफू गोबरगणेश छौं। त्यसैले तर्कातर्की गर्दै क्रिया-प्रतिक्रिया गर्दै, आँखाको छारो हुँदै पनि केही गर्नैपर्छ भन्ने कमानेको लेखन प्रतिबद्धता छ। तँ नाथे एउटा हुट्टीट्याउँले के नाप्छस्, हेरौं न तेरो हुती भनेर हाक्काहाक्की हेप्ने अधिकारीहरू, प्रबन्धक पक्षहरूसित जुझ्दै जनमले अहिलेसम्म दुइ सयभन्दा बढ़ी सूचना अधिकार ऐन(आरटीआई 2005)तहत नालिश सूचना उत्तरहरू मागेर धेरैको टुप्पी पक्रेका छन्।
कानून केलाउनु कचकुड़े काम हो। तर, साह्रोगाह्रो परेपछि के गर्ने? फेरि हाम्रो जनजीवनचर्या कानूनदेखि बाहिरिन पनि त सक्दैन। यही चुनौतीहरूलाई स्वीकार गरेर जनमले क्षेत्रीय, राष्ट्रिय,अन्तर्राष्ट्रिय ,स्तम्भ, लेखौट, निकाय विभाग र प्रतिष्टानहरूबाट ज्ञान लिएका छन्। दागोपाप , राज्य सरकार, केन्द्र सरकारलाई जनमुखी विषयका सूचनाहरू मागेर हिमालय दर्पणमा आउने आफ्नो कलम ‘खुल्दुली’-मार्फत जनमले सार्वजनिक गरेका समसामयिक विषयहरूले पाठकहरूलाई सचेत तुल्याएको त हरेकलाई थाहै छ।
दार्जीलिङ पहाड़बाट भरपत्यारलाग्दा आरटीआई एक्टीभेष्ट चिन्हित भएकोले जनम भ्रष्टाचारमुक्त भारत अभियानका अनि आरटीआई ज्यूरीसंलग्न आह्वाक अन्ना हजारे ,अरिबिन्द केजेरिवालका जमातसित पनि जड़ित छन्।
आफ्नो बाबु गाड़ेर मैले बद्लीमा टिचर काम पाएको भन्ने जनम सालू चियाबारी प्राथमिक पाठशालाका प्रधानशिक्षक, घरमूली जत्तिकै दायित्वशील व्यक्ति हुन्।
सुपारी टोक्दा दुइवटा चप्परे दॉंत तन्नेरीमै फुस्किए तापनि हुर्र हुइँय्यामा चुर भएर बॉंकटे हान्दै हिँड़ने रक्सीबाज होइनन् जनम राई कमाने। पहाड़मा शिक्षा व्यवस्था बिथोलिनुमा दागोपाप राज्य सरकारसँगसँगै कतिपय शिक्षकहरू पनि कम्तिका छैनन्। पतनोन्मुख शिक्षा व्यवस्थामा पानी फिराउनु हो भने नयॉं प्रविधिमूलक नीति र शिक्षा प्रदान प्रणालीमा सहकार्य नीति निष्ठावान बन्नुपर्छ। दास मानसिकता लिएर मात्रै हुँदैन। राजनीति हावी हुन्छ तर सिक्किम,केरला, कर्नाटकतिर जस्तो कानून बनिए कतिपय शिक्षकहरू आफै तैनमा आउँछन्। अनि त्यो शक्तिलाई सुधारार्थ लाउन सकिन्छ जनमको स्पष्ट विचार छ। समस्या हेरी सचेतना जगाउनुपर्छ। सत्ताधारी र प्रशासनिक पक्षको सहकार्य र तालमेलबाटै जनमुखी विकासको उदय हुनेभए तापनि दार्जीलिङमा चाहिँ छरिएका गिदीधारी हुललाई मात्रै गणतान्त्रिक शक्ति हो भन्ने दुर्नियति रहेको छ। असफलता छ, तर अथक र इमानदार हुनुपर्छ। मुद्दा र गोर्खाल्याण्डको सपनालाई साकार बनाउनु हो भने हत्या,हिंसा र एकाधिपत्यॉंइलाई हटाएर राष्ट्रिय स्तरको प्लाटफममा हामी एकबद्ध हुनुपर्छ। अब गर्नुपर्ने आन्दोलनको आयाम भनेको सहमति सल्लाह, सुझावपूर्ण एकबद्धता नै हो। यस्तो साधारण तालमेल नमिल्दा नै जनशक्ति तुहेर खेर गइरहेछ, जनम मठारेर सरल-सत्य कुरा राख्छन्।
शोधखोजपूर्ण स्वतन्त्र पत्रकारको लेखनमा लागेका जनमलाई धेरैवटा संघसंस्थाहरूले सम्मान-सम्बर्द्धना जनाइसकेका छन्।
हार्मोनियम बजाउने, ब्याटमिन्टेन खेलिटोपल्ने जनम अब कानून समीक्षाका पुस्तकहरू निकाल्न तर्खरिरहेका छन्। लुकाएर लेखिराखेको 30 वटा कविता ,12 वटा कथामा पनि अझै थप्दैजाने सुरसार छ। खुल्दुलीलाग्दो उनको लेखन परिचय साट्ने क्रम जोड़दा साहित्यिक लेखनमा पनि जनमको सिधै झोसझॉंसे पक्षपोषण त होला नै। कमाने तल-वितल अवस्था व्यवस्थामा सधैं निकटस्थ भएर जनमको लेखन पित्ताम चलेको छ।
सचेतसमूह, मानव अधिकार संगठन उच्च अधिकारीहरूसित हेमखेमिएका जनम राई ‘कमाने’ बिजनबारी रोडको सालु फाटकदेखि 3 किलो मीटर तल पर्ने सालुका खोल्साघरे हुन्। पैदल चल्नुपर्ने उकाली-ओराली त एकाम्मे हो। तर, फाटकदेखि सालु झर्नुपर्ने यो बाटोको गरेगरे अवस्थाले पसिना कढ़ाउँछ। आरटीआईबाटकै सूचनाले थाह पाउँदा यो 3 किलो मिटर बाटोको दुरावस्था भने रातभरि रूङ्गयो बुढ़ी जिउँदै भनेजस्तै छ।
‘‘जनताको भाग कसले क्वाप्प पार्यो हँ?’’
मन खुल्दुल्याउँदै पसिनासरि फाटक उक्लिएका जनमलाई देखेर उनका पाठकहरू साउती गर्छन् -
‘‘उ चुच्चो ओठ, छुच्चो बोली। त्यॉं देखेनौ जनम राई ‘कमाने’ भन्ने मान्छे त्यही त हो त हौ ।’’