Joseph Lepcha

18/02/2013 10:52

पत्रकार र कलाकारसँगै डोर्‍याउने जोसेफ

(2011 सालमा हिमालय दर्पणमा प्रकाशित)

---सञ्जय प्रधान---

          कोही  बेला रफ्‌...रफ्‌...केही हल्का फुल्का ल्याङफ्याङ देखिने जोसेफ लेप्चा कोही बेला चलचित्रको हिरोभन्दा कम देखिन्दैनन्‌। सिक्किमेली पत्रकारितामा जोसेफ परिचित युवा पत्रकार हुन्‌। सिक्किममा हिजोआज अभिनयको क्षेत्रमा पनि उनको चर्चा हुन थालेको छ। ‘‘हाई जे डी! जोसफ दा! गान्तोकमा धेरै भाई-बहिनीहरू साथै साथीहरूले पनि जोसेफलाई माया आदर गरेर यसरी सम्बोधन गर्छन्‌।  खूबै मिलनसार हँसिला साथै परिआएका बेलामा सहयोग गर्ने खालका  जोसेफ  रौसे युवा हुन्‌।  साथीहरू भेला भएर गफ्‌ गर्दा उनको कुरा सुनेर नहॉंस्ने कोही हुँदैनन्‌ केही न केही रमाइलो कुरा अनि कतै व्यङ्ग हिर्काएर सबैलाई हँसाउने गर्छन्‌। उनी समाजका लागि एकजना विचार गर्ने खालका पत्रकार हुन्‌। कहिले राती एक बजीसम्म पनि लेख्ने काममा व्यस्त हुन्छन्‌। पत्रकारिता जस्तो हतारिएको पेशामा जोड़िएका जोसेफ राम्रा अभिनेता हुन्‌। पत्रकारितासित जति गहिरो सम्बन्ध छ त्यति नै अभिनय कलासित उनको गहिरो सम्बन्ध छ। पहिला रंगमञ्चका कलाकार थिए अनि यसलाई निक्कै वर्ष छोड़ेर पत्रकार मात्र भए तर जोसेफले आफूभित्र दबाएर राखेको कलाकार दब्बिन्‌ मानेन भित्र भित्रै विद्रोह गरेर बाहिर निस्किएर नै छोड्यो। अहिले जोसेफ दुवै पत्रकार र कलाकारलाई संगै डोर्‍याएर हिँड़दैछन्‌ एउटा नयॉं लक्ष्य ताकेर। आफ्नो लक्ष्य क्या हो अहिले बताउँदैनन्‌।

           अहिले 39 वर्ष पुगेका जोसेफको जन्म दक्षिण सिक्किमको पन्द्रह माइल चिया बगान राभोङमा भएको हो।  हिजोआज यो चिया बगान छैन। बाबु म्यानुएल लेप्चा यहि चिया बगानमा कम्पाउण्डर थिए। 1994 सालमा बाबुको देहवासन भयो। यसबेला जोसेफले आफूलाई प्रेरणा दिने मुल स्रोत नै गुमाए। यिनै बाबु हुन्‌ जसले जोसेफलाई सानोमा गिटार बजाउन सिकाएर कलाको क्षेत्रमा आउने बाटो देखाएका थिए। अहिले आमा श्रीमती मार्था लेप्चा, पत्नी कर्मा छोडेन लेप्चा सबैबाट प्रेरणा र सहयोग पाइरहेका छन्‌। पत्नी कर्मा नर्स जस्तो जिम्मेदार पेशामा भए तापनि जोसेफलाई पत्रकारिता साथै कलाको  क्षेत्रमा हौसला दिन्छिन्‌। सानो छोरा जेरियल छिरीङ गान्तोकमा नै होली क्रस स्कूलमा कक्षा पॉंचमा पढ़दैछन्‌। वाल्यकाल पुस्तैनी घर रिनोकमा बिताए। रिनोक प्राथमिक पाठशालामा पढ़ेर एघार-बाह्र कक्षा गान्तोकमा इञ्चे सेकेण्डरी विद्यालयबाट उर्त्तीण गरे।

 

            रंगमञ्चमा पेशादारी कलाकारकै रूपमा काम गर्दै आएका जोसेफ कताबाट हो अचानक यसलाई छोड़ेर 1991 सालदेखि सिक्किमेली पत्रकारितामा प्रवेश गरे। गान्तोकबाट प्रकाशित हुने ‘‘स्वतन्त्र’’ नामक साप्ताहिक समाचार पत्रमा संवाददाताको रूपमा काम गरे। उनले सो समाचार पत्रबाट एक सय पचास रूपियॉं वेतन पाउँथे। 1993 सालसम्म यस पत्रिकामा काम गरे। यसै वर्षदेखि गान्तोकबाट आफ्नै प्रकाशनमा साप्ताहिक समाचार पत्र ‘‘युगधारा’’ प्रकाशित गरे। त्यसबेला सिक्किममा व्यवस्था परिवर्त्तनको लागि जनआक्रोश बढ़दै थियो। व्यवस्था परिवर्त्तनको आवाज व्यापक रूपमा उठिरहेको थियो। सो बेला व्यवस्थाको विरूद्धमा समाचार प्रकाशित गर्न गाह्रो थियो। आफ्नो समाचार पत्रमा व्यवस्था विरूद्ध समाचार-लेखहरू प्रकाशित गर्दा जोसेफ एक महीनासम्म गान्तोक छोेड़ेर भूमिगत हुनु पर्‍यो। अन्य कतिपय पत्रकारहरू पनि सो बेला भूमिगत भएका थिए। जोसेफ एक महीनासम्म सिक्किमभित्र नै भूमिगत भएर बसे। यसबेला एक महीनासम्म युगधारा पनि प्रकाशित गर्न सकेनन्‌। युगधारामा व्यवस्थाको विरूद्ध समाचार-लेखहरू प्रकाशित हुने कारणले गर्दा पत्रिका खोजी खोजी पढ़नेहरू पनि थिए। यसले गर्दा आफ्ना पाठकहरू प्रशंसकका रूपमा रहेछन्‌ भन्ने विश्वासले गर्दा उनलाई आँट आएको थियो। सो बेेला गान्तोकको आम्दो गोलाईमा किरायको घरमा बस्थे। आफू भूमिगत हुँदा सिक्किमभित्र नै एकजना सरकारी कर्मचारीले उनको घरमा राखेको जोसेफले बताउँछन्‌। एक महीना भूमिगत जीवन बसेको सिलसिलामा भन्छन्‌-‘‘एउटा राम्रो कामको लागि योगदान दिन पाएकोमा डरभन्दा बढ़ी आँट नै आएको थियो।’’ त्यसबेला आफू गिरफ्तारी होइन्छ भन्ने तनाव भएको कारणले गर्दा खुला रूपमा हिड़न सकेका थिएनन्‌। त्यसबेला गिरफ्तारीबाट बॉंच्नै पर्ने अवस्था थियो। जोसेफ भन्छन्‌-‘‘त्यसबेला आजको जस्तो सम्पर्कका साधनहरू जस्तै मोबाइल फोनहरू थिएन। मलाई एकजना मेरै शुभचिन्तक पाठक सरकारी कर्मचारीले उसकै घरमा राखेको थियो।’’ एक महीनाको भूमिगत जीवनबाट बाहिर निस्किए। यतिञ्जेसम्ममा सिक्किममा एउटा अनुकूल वातावरणको किरण देखा पर्न थालेको थियो। 1994 सालमा सिलगढ़ीबाट प्रकाशित हिन्दी समाचार पत्र जनपथमा गान्तोकबाट 6 महीनासम्म संवाददाताको काम गरे। त्यसबेला समाचार पत्रमा समाचार पठाउन अहिलेको जस्तो सजिलो थिएन। फ्याक्स इन्टरनेटहरू थिएन। समाचार लेखेर कुरियर सर्भिसबाट पठाउनु पर्थ्यो अनि समाचार दुइ तीन दिनपछि छापिन्थ्यो। कुरियर सर्भिस नभेटाए समाचार लेखिसकेर मोटर स्ट्याण्डतिर सिल़गढ़ीका गाढ़ी चालकहरू खोज्न दुर्गुन पर्थ्यो। 1995 सालमा जोसेफले गान्तोक देवरालीमा लेटर प्रेस (छापाखाना) खोले। युगधारा यहि नै छापिन थाल्यो। गएको केही वर्षदेखि अफसेटमा छापिन थालेको छ। 1999 सालमा ‘‘हाम्रो प्रजाशक्ति’’ मा स्तम्भकारको रूपमा देखा परे। यसमा सामाजिक राजनैतिक विषयमा विचार प्रधान लेखहरू लेख्थे। 2004 सालदेखि 2006 सालसम्म गान्तोकबाट नै प्रकाशित हुने ‘‘समय दैनिक’’ मा संवाददाताको रूपमा काम गरे। यसै बीचमा ‘‘हाम्रो पहाड़’’ दैनिक समाचार पत्रमा पनि काम गरे। यसपछि 2006 सालदेखि आजसम्म हिन्दी राष्ट्रिय दैनिक समाचार पत्र ‘‘दैनिक जागरण’’ मा सिक्किमको समाचार प्रभारी भएर कार्यरत छन्‌। गान्तोकबाट नै प्रकाशित अंग्रेजी दैनिक ‘‘नाव’’ मा पनि उनी सहयोगी स्तम्भकार थिए। 2009 सालमा नावकै प्रकाशनमा प्रकाशित नेपाली पाक्षिक पत्रिका ‘‘आँगन’’ मा 6 महीनासम्म प्रमुख सम्पादकको रूपमा कार्यभार सम्हाले। एक सय पचास रूपियॉं वेतनबाट शुरू गरेको पत्रकारितामा जोसेफ अहिले पूर्णरूपले पेशादार पत्रकार हुन्‌। पत्रकार बन्नभन्दा पहिला जोसेफ कलाकार थिए।

          रिनोकमा दुइ तीन कक्षामा हुँदा सानो फुच्चे जोसेफले त्यहॉं एकजना सफाई कर्मी धनीकलाललाई देखेका थिए। धनिकलालले बोलेको, मातेर गीत गाएको ध्यान दिएर हेरिरहन्थे। हुबहु उसकै नकल गर्न थाले। कक्षा तीनमा हुँदा भानु जयन्तीको कार्यक्रममा उनले रंगमञ्चमा धनिकलालकै क्यारिकेचर गरेर दर्शक दर्शकहरूलाई भक्कु हँसाएर सबैको मन जितेका थिए। यसपछि जोेसेफ रिनोकमा बाल हॉंस्य कलाकारको रूपमा चिन्न थाले। पाठशालामा विभिन्न कार्यक्रमहरूमा गिटार बजाउँथे, नॉंच्थे, नाटक खेल्थे, क्यारिकेचर गर्थे। रिनोकमा हुने भानु जयन्तीको कार्यक्रममा यस्ता सबै थोक नै गर्ने हुँदा ‘‘जोसेफ नाइट’’ पनि भनिन्थ्यो। सिक्किमका चारवटा जिल्लाहरूका विभिन्न ठाउँहरूमा धेरै कार्यक्रमहरू गरे। 1989 सालदेखि 1991 सालको अगस्त महीनासम्म पेशादार कलाकारको रूपमा रंगमञ्चमा कार्यक्रमहरू प्रस्तुत गरेर हॉंस्य कलाकार भएका हुनाले उनका प्रशंसकहरू निक्कै थिए। 1991 सालदेखि अपजसे धन्दा पत्रकारितामा प्रवेश गरेपछि आफूभित्रका कलाकारलाई दबाएर राखे। रंगमञ्चसित सम्बन्ध विच्छेद गरे। तर 2009 सालमा जोसेफले आफूभित्र दबाएर राखेको कलाकार अठाह्र वर्षपछि पुनः बाहिर निस्कियो। 2009 सालमा प्रेस क्लब अफ्‌ सिक्किमले नाटक आयोजना गरेको थियो। नाटक थियो सुपरिचित नाटककार सी के श्रेष्ठको ‘‘अन्धाहरूको राम कहानी’’। यसमा एकजना शारीरिक रूपले असक्षम लठेप्रो व्यक्ति सुमेको भूमिका निर्वाह गरेका थिए। सुमेको भूमिकामा अभिनयमाथि उनले आफ्नो पूर्ण दखल देखाए। यसमा जोसेफ पूर्णरूपले समर्पित भएर लागेका थिए। उन भन्छन्‌-‘‘यसबेला म केही मोटे मोटे भएको थिएँ। सुमेको भूमिकामा केही दुब्लाएको हुनुपर्ने थियो। यसका लागि मैले एक महीनासम्म राती बिस्किट र चिया मात्र खाएर पॉंच किलो वजन घटाएर पचपन्न किलो बनाए।’’ यसरी कुरा गर्दै झण्डै खुस्केको नी भनेर हॉंस्छन्‌। नाटक मञ्चन भइसके पछि कलेजकी छात्रा लठेप्रो सुमेलाई खोज्दै मञ्चको पछिल्तिर गईछन्‌। त्यसबेला जोसेफ आफ्नो मेकअप्‌ उतार्दै थिएछन्‌ र त्यति नै बेला ती छात्रा आएर सोधिछन्‌-‘‘दाज्यू अघिको लठेप्रो खालको मान्छे कहॉं छ? विचरा त्यस्तो मान्छे पनि ड्रामा खेल्दै रहेछ नी!’’ जोसेफले लठेप्रो आफू नै हो भन्दा पत्याएनन्‌ र त्यही अभिनय गरेर देखाउँदा मात्र पत्याइन्‌।  यसरी बताउँदै जोसेफ भन्छन्‌-‘‘त्यतिबेला मलाई लाग्यो मैले अभिनयमा सही न्याय गरेछु।’’

            यसपछि उनकोमा सिक्किमका विज्ञापनहरू र टेलि-चलचित्रहरूको लाइन्‌ लाग्यो। कतिवटा पत्रकारिताको पेशाले गर्दा भ्याएनन्‌। पहिलो विज्ञापन युडी एण्ड एचडी (अर्बान डेभलपमेन्ट एण्ड हाउसिङ डिपार्टमेन्ट) को जतासुकै मैला नफ्यॉंक भनि सन्देश दिएको विज्ञापनमा जोसेफलाई गनगने बुढ़ाको भूमिकामा देखिएको छ। स्टेट पोल्युशन कन्ट्रोल बोर्ड पीएचईको  विज्ञापनहरू पनि गरिसकेका छन्‌। चलचित्र ‘‘मगरजुङ’’ मा गोखार्र् क्याप्टनको भूमिकामा पहिलोपल्ट अभिनय गरे। चुन्नीलाल घिमिरेद्वारा निर्देशित टेलिफिल्म ‘‘ओपरेशन’’ मा सानो भूमिका निर्वाह गरे। अमर रसाइलीद्वारा निर्देशित ‘‘के साइनाले बोलाउँ’’ चलचित्रमा लाटोको भूमिका देखिएको छ। यस चलचित्रका उनले नेपालका हॉंस्य कलाकार जितु नेपाल, सुपरिचित अभिनेता उत्तम प्रधान, हॉंस्य कलाकार महेन्द्र बागदास, हेमन्त गिरीसित अभिनय गरेका छन्‌। जितुले उनको टीभी सिरियलका लागि काठमाड़ौ आउने अफर समेत दिएका थिए।  यता पेशादारी पत्रकारितामा संलग्न भएका हुनाले उता गएर जोखिम उठाउन मानेनन्‌। उनले सिक्किमबाटै निर्मित  मारवाड़ी चलचित्र ‘‘खोटो सिक्को’’ मा पनि अभिनय गरेका छन्‌। युवा कवि वीरू वाङदेलको पटकथा र सन्तोष राईको निर्देशनमा तयार हुँदै गरेको धारावाहिक ‘‘चम्रेलजीको सद्गत’’ मा कवि चमे्रलको मूल भूमिकामा जोसेफ छन्‌। सो धारावाहिक गान्तोकको नयूमा टेलिभिजनबाट प्रसारण हुनेछ। निर्देशक सन्तोष राई च्यानल ‘‘खोज’’ का निर्देशक हुन्‌।

            जोसेफसित पत्रकारिता र कलाकारिता दुवै जोड़िएको छ। यस सिलसिलामा भन्छन्‌-‘‘अभिव्यक्तिको  कला दुवैमा पाइन्छ। समाजका समस्याहरू समाचार पत्रमा लेखेर समाधान पहल गर्न अघि बढ़ाउँछौं भने यता यसैलाई अभिनयबाट प्रस्तुत गर्छौ। अव्यक्त छट्‌पटीहरू समाजभित्रका उकुसमुकुस भएका कुराहरूलाई अभिनयको माध्यमबाट व्यक्त गर्दछौं। दुवै वटा क्षेत्रले एउटै  काम गर्दो रहेछ जस्तो लाग्यो। कलाकारिताले अलिक समय लिन्छ र ती सबै समाजलाई सचेत गर्ने खालका हुन्छन्‌।’’ समाजका विभिन्न समस्याहरूलाई लिएर लेख्न उनी रूचाउँछन्‌। 2007 सालमा कञ्चनजंघाको आधारशिला जेमु ग्लेशियर पग्लिन्दैछ भन्ने जोसेफको विशेष समाचारले राज्यका सरकारलाई सचेत बनाएको थियो। यस समाचारको असरले राज्य सरकारले एउटा आयोग पनि गठन गरेको थियो। ‘‘मातृ भाषामा प्रकाशित समाचार पत्रको महत्व धेरै छ कारण यो ग्रामीण स्तरका आममानिसहरूमा पुग्छ’’ उनी भन्छन्‌। अहिले सबैलाई समाचार पत्र आवश्यक भएको कुरा गर्दै भन्छन्‌-‘‘पहिला मानिसहरू थाना, कोर्ट, पञ्चायत मन्त्रीकहॉं जानुपर्छ भन्थ्यो तर अहिले पहिला प्रेसमा जानुपर्छ भन्छ। यसले गर्दा समाचार पत्र  सबैलाई आवश्यक भएको हुनाले यो दह्रिलो भएको छ।’’ पत्रकारितामा राम्रो अध्ययन हुनुपर्ने र यसको सिद्धान्तमा बसेर पेशाको रूपमा अप्नाएर काम गर्नुपर्छ भनि आफ्नो विचार प्रकट गर्छन्‌। पत्रकारितालाई उनी गरिमामय पेशा बताउँछन्‌। पत्रकारितामा समर्पित भएर कार्य गरेकोमा कदर गरेर 2006 सालमा ‘‘राम पात्रोस्मृति पुरस्कार’’ द्वारा सम्मानित भइसकेका छन्‌। सो पुरस्कार उनलाई सिक्किमका तत्कालीन राज्यपाल भी रामारावको बाहुलीबाट प्रदान गरिएको थियो।

           जोसेफ सानोमा चञ्चले स्वभावका थिए र सबैलाई  नै आलोचनात्मक दृष्टिले हेर्ने गर्थे।  हिन्दीको डायलग ‘‘कानुनका हात बहुत लम्बा होता है...उनले सानैदेखि यसरी जोड़ेका छन्‌...लम्बा होता है लेकिन उगंली नही होती है इस लिए नही पकड़ पाते’’। अहिले पनि घरि घरि यसरी नै भन्छन्‌। आफू सिक्किमका भए पनि दार्जीलिङलाई खुब माया गर्छन्‌ सम्मानको दृष्टिले हेर्छन्‌। जोसेफ भन्छन्‌-‘‘दार्जीलिङ सिक्किमका लागि मात्र होइन भारतभरिका नेपालीहरूका लागि तीर्थस्थल हो। दार्जीलिङले कला-साहित्य विरासतमा पाएको छ। नेपालले पनि भन्छ दार्जीलिङबाट धेरै पाएका छौं। हामी दार्जीलिङबाट कला, साहित्य सृजना गर्ने प्रेरणा धेरै पाउँछौ।’’ पत्रकारिता र अभिनय कलामा उनको यात्रा निरन्तर चलिरहोस्‌ सबैले यहि कामना गरौं।