Kailash Subba

24/01/2015 00:17

( स्वर्णभूमि दैनिकमा प्रकाशित)

सेनाको शानमा लोभिएका कैलाश...

......सञ्जय प्रधान........

         सेनाका जवानहरूलाई टिपटप र उनीहरूको शान देख्दा सानो स्कुले केटो कैलाश सुब्बालाई सेनामा भर्ती हुने ठूलो इच्छा थियो| नौ-दश कक्षामा हुँदाखेरि पनि उनको ध्यान सेनामा नै थियो| एकदिन बाबुले ‘हिमालचुली’ दैनिक समाचार-पत्रमा भारतीय सेनालाई राम्रो व्यवस्था छैन भन्ने लेख पढ़्दा सेनामा जाने ध्यान हट्योे| यस्तो भएको पनि राम्रै भयो भन्दा हुन्छ| सेनाबाट ध्यानै हटेको भए पनि शिक्षक बन्ने उनको चाहना थिएन तर उनलाई एउटा घटनाले अन्तर्मनबाटै शिक्षक बन्ने प्रतिबद्धता जगायो| अहिले उनी धेरै ऊर्जा, योजना, अवधारणा, भविष्यले भरिएका एकजना शिक्षक हुन्|

      जलपाइगढ़ी जिल्लाअन्तर्गत डाबग्राम-१ ग्राम पञ्चायत क्षेत्रको खोलाचन्द गाउँमा अवस्थित खोलाचन्द फाप्री प्राथमिक विद्यालय अहिले समाचार-पत्रहरूमा छाइरहने निक्कै चर्चित स्कूल हो| सन् १९७० सालमा स्थापित यो स्कूल अहिलेको जस्तो थिएन| अहिले जसले यो स्कूलको बारेमा सुनेका छन्, उनीहरू एकपल्ट अवश्यै त्यहॉं हेर्नजान्छन्| ‘‘सरकारी स्कूल पनि यस्तो हुनुसक्दो रहेछ त!’’ यसो भन्दै फर्किन्छन्| खोलाचन्द फाप्रीका सामाजिक चिन्तक स्व. धनबहादुर राईको प्रयासमा अनि कृष्णप्रसाद अधिकारी, जीतबहादुर राई, तिलकबहादुर छेत्री, जयप्रसाद शर्मा, सुनील मिर्धा, ज्योतिषपालको सक्रियतामा स्कूल स्थापना भएको हो| यो स्कूल सरकारी बनिएपछि संस्थापकहरूले देखेको सपनाजस्तो भएको थिएन| स्कूलको प्रशासन दह्रिलो नहुँदा, टीम वर्क  नहुँदा व्यवस्था नै लथालिङ्गै भएको थियो २००३ सालसम्म| ‘‘पहिला त यहॉं स्कूलमा दिउँसो सर निदाएको बेलामा नानीहरूले खुट्टा बॉंधिदिएर भाग्थे’’, सो गाउँका कति मानिसहरू अहिले हॉंस्दै यसरी कुरा गर्छन्| पहिलाकै कुरा गर्ने हो भने स्कूल गोठ र खण्डहरजस्तै  थियो भन्छन् धेरैले| पुराना कुराहरू गाउँवासीका आँखाबाट लुकेका छैनन्|

        २००३ सालदेखि भने स्कूलले कॉंचुली फेर्न शुरू भयो| कैलाश सुब्बा यस स्कूलमा २००३ सालदेखि शिक्षक नियुक्त भएका हुन्| स्कूलमा आएपछि उनले देखे सम्पूर्ण दुर्दशा| यस्तो देख्दा उनको मन अमिलो भए पनि यसलाई एउटा मोडलको रूपमा खड़ा गर्ने सङ्कल्प गरे| यसका लागि उनले अवधारणा तयार पारे, टीम बनाए|

      अहिले ३६ वर्ष पुगेका कैलाश सुब्बा  ७२ धुरा लाटपञ्चर निवासी बुद्ध सुब्बा र श्रीमती लीला सुब्बाका जेठा छोरा हुन्| माइला भाइ विकास अल्पायु मै ब्रह्मलीन भएका हुन्| अहिले कैलाश र उनका कान्छा भाइ प्रकाश छन्| लाटपञ्चरकै ७२ धुरा प्राथमिक पाठशालामा शिक्षा आर्जन गरेपछि ५ कक्षा लाटपञ्चर हाई स्कूलमा पढ़े| ६ कक्षादेखि पञ्चबत्ती हाई स्कूल शेल्पुमा पढ़े र त्यहींबाट नै उनले माध्यमिक पास गरेका हुन्| यसपछि उच्च माध्यमिक कृष्णमाया मेमोरियल स्कूलबाट अनि सिलगढ़ीकै सूर्यसेन कलेजबाट इतिहासमा एम.ए. गरे| बाबु सिन्कोना बगानमा क्लरिकल विभागमा कार्यरत् छन्| सिन्कोना बगानको सङ्घर्षमय जीवन देखेका उनी भन्छन्, ‘‘सङ्घर्ष भने त्यस्तो थिएन|’’ गाउँले वातावरणमा हुर्किएका उनमा सानोमा केवल पढ़्नुपर्छ भन्ने मात्र थियो| तर पढ़िसकेर के गर्नुपर्छ भन्नेबारेमा भने केही थाहा थिएन| आमा घरमा सचेत भएकी हुनाले ‘‘पढ़ेर राम्रो हुनुपर्छ भन्थिन्’’| सानो स्कुले ठिटो हुँदा गाउँकै धुलो-मुलोमा फूटबल खेल्दै हुर्किए| आफ्नै फूटबल टीम बनाएर गाउँदेखि बाहिरतिर खेल्न जान्थे| राइट् विङमा खेल्थे, उनले एउटा टीमलाई नेतृत्व दिनथालेको पनि त्यति बेलादेखि नै हो| सामाजिक कार्यमा पनि सानैदेखि यताउती गाउँ घरमा सघाउन पुग्थे| त्यति बेला भानु जयन्तीमा उनी सक्रिय भएर गाउँका कलाकारहरूलाई डोहोर्‍याएर हिँड़्थे| कक्षा नौदेखि नै उनले कविता लेख्नथालेका हुन्| उनकै शब्दहरूले भरिएका गीतको एल्बम ‘मन्थन’ तयार हुँदैछ|

        अहिले उनी एकजना उदाहरणीय शिक्षक हुन्| आफू प्राथमिक पाठशालामा कक्षा तीनमा पढ़्दाखेरिको कुरा अहिले स्मरण गर्दै भन्छन्, ‘‘गेल २ नम्बरका सर अशोक डुम्जनले सधैं नयॉं नयॉं तरीकाले पढ़ाउनुहुन्थ्यो र मजा लाग्थ्यो| उनलाई सबैले नयॉं सर भन्थे| अहिले म उनकै थियोरी अप्नाइरहेको छु| म अहिले उनलाई सम्झिन्छु|’’ पल्टन जाने सुर चढ़्दा उनी भर्ती हुन दार्जीलिङको जलपहाड़मा पुगे अनि छात्ती नाप्दा फर्किए| स्कूलमा उनी नाटकहरू खेल्थे| एउटा प्राथमिक विद्यालयमा भएको कविता प्रतियोगितामा उनले दोस्रो पुरस्कारको रूपमा जनवादी कवि स्व. विकास गोतामेको पुस्तक ‘रगतका रेखाहरू’ प्राप्त गरेका थिए| ११/१२ कक्षा कृष्णमाया स्कूल सिलगढ़ीमा पढ़्दा फाराबारी नेपाली बस्तीमा बस्दा त्यहॉंको नवीन स्मृति संघसित जोड़िएर दुइ-तीनवटा नाटकहरू खेले| कलेजमा पढ़्दा ‘मुना मदन’ गीति नाटक आफ्नै निर्देशनमा गरेर राम्रो प्रशंसा पाए| उनले थुप्रै लघु नाटकहरू लेखेका छन्| कतिवटा मञ्चन पनि भएको छ|

शिक्षक बन्ने त उनलाई रहर पनि थिएन इच्छा पनि थिएन| १२ कक्षाको परीक्षा दिँदै थिए, आमाले कालेबुङबाट प्राइमेरी टीचर्स टे्रेनिङ इन्स्टिट्युट (पीटीटीआई) -को फारम काका अशोक सुब्बाको हातमा पठाइन्| आमाको यो आदेशलाई उनले नकार्न सकेनन् र फारम कालेबुङमा गएर बुझाए| शिक्षक बन्ने इच्छा नहुँदा उनले पीटीटीआईबाट केही सूचना नआओस् भन्ने कामना गरेर बसेका थिए| दैव संयोग! उनलाई पीटीटीआईमा जोइन् गर्नुपर्ने सूचना आयो| आमाको आदेशलाई शिरोपर गरेर उनी कालेबुङ गए ट्रेनिङको लागि| ट्रेनिङको कुरा गर्दा उनी भन्छन्, ‘‘ट्रेनिङमा धेरै कुरा बुझें| तर रिजल्ट पाउँदा सन्तुष्ट भइनँ| विद्यार्थीहरूमाथि गणतान्त्रिक भावना राखेको हुनुपर्छ|’’ त्यतिबेला उनले  विद्यार्थीहरूमाथि गणतान्त्रिक परिवेश राखिको थिएन भन्ने कुरा बुझे| यसले उनको मनमा निक्कै धक्का लागेको थियो| यसैबेला उनले भविष्यमा शिक्षक बन्ने दृढ़ सङ्कल्प गरे| ‘‘भविष्यमा शिक्षकको नोकरी पाए  देखाउँछु’’, भन्ने उनले मनमा ठाने| त्यतिबेलादेखि नै उनले शिक्षक र विद्यार्थीहरूमाझमा गणतान्त्रिक परिवेशसित घनिष्ट सम्बन्ध हुनुपर्छ भन्ने कुरा बुझेका थिए| कालेबुङको बीटी कलेजबाट प्रकाशित हुने ‘नवपल्लभ’ पत्रिकामा ट्रेनिङ गर्ने शिक्षकहरूले अनिवार्य रूपमा लेख्नपर्थ्यो कुनै पनि विषयमा| यसै पत्रिकामा राष्ट्रपति पुरस्कारले सम्मानित शिक्षकको अन्तर्वार्ता प्रकाशित गर्नलाई उनीहरू चार-पॉंचजना साथीहरू गएका थिए| सो अन्तर्वार्तामा सन्तोषजनक उत्तरहरू नपाउँदा निक्कै असहज भएको थियो भन्ने कुरा उनी गर्छन्| यसले उनलाई मनमा निक्कै धक्का लागेको थियो| यसपछि त उनले जीवनमा शिक्षक बन्ने लक्ष्य राखेर नै कलेज पढ़े| कलेजको जीवनदेखि उनको सामाजिक साथै राजनैतिक क्षेत्रमा पनि लगाउ शुरू हुनथाल्यो| राजनीतिको छाप त उनलाई बाबुबाट नै परेको हो| आफ्नो कार्यमा उनलाई पत्नी श्रीमती विमला कुमारी छेत्रीेले पनि हौसला दिन्छिन्|

        सामाजिक विषयहरूमा चेतनशील रहने कैलाशहरूकै सक्रियतामा कलेजभित्रै सङ्घर्षशील विद्यार्थी मञ्च गठन भएको थियो| त्यतिबेला नेपाली शिक्षकको अभाव देखाएर कलेजको परीक्षामा नेपालीमा लेख्नपाइँदैन थियो| कलेजको प्राचार्यसित निक्कै तर्कातर्की गरेर नेपाली लेख्नपाउने बनाए| कलेजमा भानु जयन्ती हुँदैनथियो| उनीहरूले नै भानु जयन्ती मनाउन शुरू गरे| केही गर्नपरे उनी अघि सरिहाल्थेे| अहिले पनि उनी त्यस्तै छन्| राजनीतिमा उनी साम्यवादी विचारधारा रूचाउँछन्| समग्र विश्‍वमा क्रान्तिका महानायक अर्नेष्टो चे ग्वेभाराको जीवनी पढ़ेपछि यसले उनलाई गहिरो रूपमा छोएको छ|

सन् २००३ सालमा उनले  मालबजारको निदाम चियाबगानको स्कूलमा नियुक्ति पाएका थिए| त्यहॉं उनलाई भाषाको समस्या हुँदा सरूवा मागेर खोलाचन्द फाप्रीमा दिसम्बर २००३ -देखि नियुक्ति लिए| स्कूलको बेहाल अवस्था देख्दा पहिला त हरेश खाए, मनै अमिलो भएको थियो| स्कूल उराठलाग्दो  खण्डहरजस्तै जीर्ण थियो| डेस्कहरू थिएन, ड्रेस थिएन, शिक्षकका लागि दुइवटा चौकी र टेबल मात्र थियो| स्कूलको मैदानमा घॉंसको घारी र वरिपरि फोहोरको थुप्रो थियो| यस्तै खालको जीर्ण अवस्था भएको स्केलेटन (कङ्काल) -जस्तै स्कूल अझ अरूतिर पनि छन्| यस्तै कारणहरूले गर्दा मानिसहरूको धारणा सरकारी स्कूलप्रति नकारात्मक रहेको छ| खोलाचन्द फाप्रीको स्कूलको अवस्था हेरेर उनले आफ्नो शिक्षक बन्ने सङ्कल्पलाई सम्झिए| सरकारी स्कूलप्रति मानिसहरूको नकारात्मक  विचारलाई बद्ल्न निजी अङ्ग्रेजी विद्यालयकै ढॉंचामा स्कूल बनाउने दृढ़ सङ्कल्प गरे| स्कूलको सिलेबस बद्ली गराए, नयॉं ड्रेस बनाए अनि गाउँवासी र अभिभावकहरूलाई पनि सहभागी बनाउन स्कूलमै पिकनिक गराए, स्पोर्टस् गराए| बिस्तारै स्कूलको रङ्ग-रूप बद्लिन शुरू भयो| यस्तो देख्दा अभिभावकहरू खुशी भए| पहिला स्कूलमा उनले आफै नानीहरूलाई नुहाइदिन्थे, केश पनि आफै  काटिदिन्थे| केश काट्न कहॉं सिक्नु भएको भन्दा उनी हॉंस्दै भन्छन्, ‘‘गाउँमा हजम थिएन र हामीले आफै काट्न सिक्यौं| केश काट्न सिकेको स्कूलमा नै काममा लगाएँ|’’ यस्तै केश काट्ने कुरामा एउटा रोचक कुरा उनी गर्छन्| साउन महीनामा नानीहरूको केश निक्कै दिनदेखि नकाट्दा लामो झ्यापझ्याप्ती भएको थियो| केश किन नकाटेको भनेर उनले सोध्दा ‘‘साउनमा काट्नुहुँदैन’’, नानीहरूले यसो भने| उनले खातामा नानीहरूलाई लेख्न लगाए ‘‘केश काट्दा के हुन्छ? नकाट्दा के हुन्छ?’’, यसको जवाफ अभिभावकबाट लेखाएर ल्याउनू भने| भोलिपल्ट स्कूलमा उनले नानीहरू कसैलाई चिण्डै-मुड़ुलै, कसैलाई ब्रुस कटिङमा देखे, सबैले केश काटेर आएछन्| स्कूलमा परिवर्तन उनले यसरी साधारण तरीकाले ल्याए| स्कूलका कार्यक्रमहरूमा पश्‍चिम बङ्गालको सूचना एवं सांस्कृतिक विभाग, सिलगढ़ीबाट सहयोग पाए|

             स्कूलमा उनले पढ़ाइ सम्हाले| सन् २००५ -देखि स्कूलले पाउनुपर्ने सर्वशिक्षा अभियानको पैसा खोजे| बिस्तारै स्कूलको रङपचेरा शुरू गरे| २००८ सालमा हेड टीचर भएपछि उनले अभिभावकहरूलाई लिएर नयॉं स्कूल लेभल मनिटरिङ कमिटी गठन गरे| अभिभावकहरूलाई सहयोग मागे| स्कूल समाजको सम्पत्ति हो, भविष्य हो भन्ने कुरा बुझाए| गाउँवासी र अभिभावकहरूबाट उनले सहयोग पाए| कमिटीमा दह्रिलो सदस्य प्रकाश छेत्री हुन् भन्ने कुरा उनी बताउँछन्| स्कूलको विकासमा प्रकाश छेत्रीको ठूलो सहयोग छ भन्छन् उनी| स्कूलको विकासमा कमिटीका सदस्यहरू प्रकाश छेत्री, धनबहादुर छेत्री, वेणुप्रसाद शर्मा, भरत छेत्री, रिकी छेत्री, राजेन छेत्री, सुभद्रा छेत्री, के.के. राई, विकास शर्मा, राजु थापा, राधे श्याम छेत्री, सीता रीता छेत्रीहरूको भूमिका महत्वपूर्ण रहेको छ|

             २००९ सालमा फ्रान्सेली महिला सेनो लरेन्स स्कूलमा आएर स्कूल हेरिन् र आधुनिक ढॉंचामा पढ़ाउनुपर्ने सुझाउ राख्दै एउटा ल्यापटप दिएकी थिइन्| असमबाट आएका सिलगढ़ी निवासी एन.डी. राई र के.के. राईले कम्प्युटर दिए र यसपछि २० हजार रुपियॉं दिएको कैलाश सुब्बा बताउँछन्| स्कूलमा वन विभागले मञ्च निर्माण गरिदिए| सर्वशिक्षा मिशनबाट स्कूलको नयॉं ढॉंचा बनाए| अति नै जॉंगरिला र नयॉं सृजनात्मक विचारले भरिएका शिक्षकहरू मोहन राई, विशाल थापा, लक्ष्मी छेत्री रहेको स्कूलमा कैलाशको एउटा यो सानो टीम छ| यो टीम अहिले सबैका लागि उदाहरणीय र प्रेरणाको स्रोत बनेको छ| नानीहरूलाई त्यहॉं पुस्तक मात्र घोकाइँदैन| पुस्तकसँगै नानीहरूलाई सामाजिक दायित्व, नैतिक मूल्यका कुराहरू सिकाउँदै असल नागरिक बन्ने शिक्षा दिइन्छ| विद्यार्थीहरूको चाइल्ड क्याबिनेट राखिएको छ, जसमा विद्यार्थीहरूबाट चयन गरेर प्रधानमन्त्री साथै अन्य विभिन्न मन्त्रीहरू राखिएको छ| यी पदमा भएका मन्त्री विद्यार्थीहरूले विभिन्न कार्यहरू पनि हेर्छन्| यसले उनीहरूमा प्रशासनिक प्रणाली के हो भन्ने कुरा बुझाइएको छ| आज खोलचन्द फाप्री स्कूल पश्‍चिम बङ्गालमा नै सरकारी स्कूलहरूमा उदाहरणीय भएको छ| यस स्कूलले निर्मल विद्यालय पुरस्कार, शिशु मित्र पुरस्कार, पञ्चायत इम्प्लोयज्द्वारा विवेकानन्द प्रेरणा सम्मान, पश्‍चिम शिक्षा विभागबाट बेस्ट स्कूल अवार्ड पाइसकेको छ| यसबाहेक सन् २०१४ -मा शिक्षाको क्षेत्रमा पश्‍चिम बङ्गालको सबैभन्दा उच्च पुरस्कार ‘जामिनी राय अवार्ड’ -ले सो स्कूल सम्मानित भएको छ|

                  ‘‘नानीहरूलाई अनुशासनमा राख्नलाई आफ्नो नजीकमा ल्याउनुपर्छ| समाजप्रति दायित्वशील बन्ने राम्रो नागरिक बनाउनु पर्छ’’, उनी भन्छन्| कमजोर विद्यार्थीलाई आफ्नो नजीकमा राख्नुपर्छ र त्यस्ता विद्यार्थीलाई विशेष ध्यान दिनुपर्छ भन्ने उनको विचार छ| लोकप्रिय हिन्दी चलचित्र ‘तारे जमीन पर’ -बाट उनी निक्कै प्रभावित भएका हुन्| स्कूलले पुरस्कार पाउँछ भन्ने कुरा उनलाई थाहा थिएन| तर उनले आफ्नो कार्यलाई निःस्वार्थ भावले अघि बढ़ाएर लैजॉंदा स्कूललाई पुरस्कारको हकदार बनाए| अहिले उनी आफ्नो टीमलाई लिएर स्कूलको विकास गर्दै एउटा स्वस्थ समाज निर्माणको अभियानमा लागिरहेका छन्| शुभकामना!!

जसले  स्कूललाई पुर्‍याए सहयोगः

१) सेनो लरेन्स (फ्रान्स) २) एन.डी. राई, के.के. राई ३) मरियस् मुरे ४) जनपथ समाचार ५) बैकुण्ठपुर फरेष्ट डिभीजन ६) इवाम इण्डिया ७) सुरेन्द्र शर्मा  ८) सुबीर बोस ९) एस.बी. थापा (रेञ्जर) १०) राजेन शर्मा ११) विक्रम पोख्रेल  १२) रिक्की छेत्री १३) विवेक गुप्ता १४) विद्याभ्याली स्कूल, पुणे १५) सिद्धिधात्री नवदेवी मन्दिर