Malati Lama
28/12/2012 14:56
मूल्य होइन मूल्याङ्कनमा रम्छन् चित्रकार मालती

----शरण गुरूङ
छ वटा बचेराहरू खुशीसित आमाको दुई पखेटाको छहारीमा खेलिरहेका छन्। आमाको दुईवटा पखेटा नै उनीहरूलाई संसार बराबर छ। त्यहॉं कुनै भय, दु:ख-पीड़ा छैन। सबैको आँखामा असीम सन्तुष्टि अनि आनन्द छ। आफ्ना बचेराहरूको छहारी भएर बसेका आमा परेवा पनि उस्तै शान्त अनि अधीर छिन्। संसारको सबै दु:ख, कष्टहरूबाट आफ्नो बचेराहरूलाई जोगाएर राख्न उनले आफ्नो दुवैवटा पखेटा पूर्णरूपले फैलाइदिएका छन्। बिघ्न बाधाहरूलाई पन्साएर आफ्ना बचेराहरूलाई सुरक्षित राख्ने दृढ़ सङ्कल्प लिएका झैं देखिने आमा परेवामा माता मरियमको मुहारको झलक छ। आफ्नो कलापूर्ण फ्याब्रिक आर्टलाई देखाइसकेपछि चित्रको भाव खुलाउँदै चित्रकार मालती भन्छिन्-‘‘मदर ट्रेजर अर्थात् प्रेमकी खानी! आफ्नो सिटिङरूमको भित्ताभरि उनले यस्तै लगभग दर्जनवटा जत्ति चित्रहरू टॉंगेका छन्। प्रत्येक चित्रहरूनै खप्पीस हातको कलाकृति जस्तो लाग्दछ। व्यस्त दार्जीलिङको भीड़भित्र लुकेर पनि कतिपय मै हुँ भन्ने चित्रकारहरूलाई पछार्ने खालका चित्रहरू बनाउने चित्रकार हुन् मालती लामा। फ्याब्रिक, स्केचिङ अनि ओयल पेन्टिङमा विशेष दखल रहेको मालतीको चित्रकारितामा रङ्गसितै भावनाको पनि उत्तिकै सम्मिश्रण पाइन्छ। उनका चित्रहरूले हेर्नेहरूको मन मस्तिष्कलाई स्वत: गतिशील पार्छ। उनका चित्रहरूको भाव बुझेपछि कसैले पनि प्रशंसा नगरी रहन सक्तैन। वरिष्ठ पत्रकार अनि साहित्यकार विमल राई उनको चित्रकारिताबारे यसो भन्छन्-‘‘चित्रकारहरूको भीड़मा मालतीको आफ्नै चित्र कोर्ने शैली छ। उनका अघिल्ला समयका चित्रहरूमा नारीका विविध गुणहरूलाई अमूर्त रूपमा प्रकाश पारिएको हुन्थ्यो भने पछिल्लो समयका चित्रहरूमा आध्यात्मिक अनि प्राकृतिक भावनाहरूको चित्रण पाइन्छ। हरेक भावहरूलाई रङ्गको माध्यमले व्यक्ताउन उनी धेरै हदसम्म सफल भएका छन्। यही विशेषताकै कारण उनका चित्रहरू धेरै मात्रामा बिक्री पनि भएका छन्।’’
प्रतिभाशाली व्यक्तिहरूले शिशुकालदेखिनै चिल्लो पातको लक्षण देखाउँछन्। यस्तै चिल्लो पातको लक्षण थिए मालती पनि। सानैदेखि चित्रहरू कोरकार पार्थे। साथीभाइ अनि शिक्षकहरूलाई देखाउँथे। कसैले प्रशंसा गरिदिए फुर्किएर गजक्कै पनि हुन्थिन्। तर यसै कलालाई जीवनसाथी बनाउने भने उनले रत्तिभर पनि सोचेकी थिएनन्। पछि 1997 सालमा दार्जीलिङका एकजना चित्रकार एसपीले हौसाएपछि भने उनलाई चित्रकारिताप्रति निक्कै रस भिज्यो। उक्त एसपीको नाम समेत उनलाई थाहा छैन। तरै पनि आफूलाई चित्रकारितामा हौसाउने पहिलो व्यक्तिको रूपमा उसैलाई मान्छिन्मालती। कक्षा दशसम्म पढ़ेकी मालतीले चित्रकलासम्बन्धी कुनै औपचारिक प्रशिक्षण पनि लिएका छैनन्। हालमा उनी हिमालयन आर्ट एकाडेमीसित संलग्न छिन्। धेरैपल्ट चित्रप्रर्दशनीहरू पनि गरिसकेका छन्। सन् 1997 मा रेयूकाईले जिमखानामा भव्यरूपमा चित्रकला प्रदर्शनी आयोजना गरेको थियो। यसै प्रदर्शनीबाट सन्त जोसेफ विद्यालयका फादर किन्लेले मालतीका नौ वटा चित्रहरू एकैचोटि किनेका थिए। यसरी आफ्ना सृजनाहरूले राम्रो रेस्पोन्स पाएपछि झनै उत्साहित भए उनी। चित्रकारितामा निखार अनि निरन्तरता बनाइराखे।
‘‘चित्रकारहरूले यत्ति धेर माया अनि प्रशंसा पाउँछन् भनेर मलाई थाहै थिएन। जब चित्रहरू प्रदर्शनी गर्न थालेँ सबैबाट धेरै माया अनि प्रशंसा पाएँ। त्यसपछि समाजलाई चित्रकारितामार्फत् नै केही दिने इच्छा भयो र आजसम्म यसैमाथि काम गरिरहेकी छु।’’ मालती यसो भन्छिन्। व्यावसायिकरूपमा मालतीको चित्रकारिताको उमेर मात्र पन्द्रह वर्ष पुगेको छ। यद्यपि आजसम्ममा सयभन्दा धेर चित्रहरू बनाइसकेका छन्। दुई दर्जनभन्दा धेर चित्रहरू त बिक्री पनि भइसकेको छ। यद्यपि बिक्री हुनभन्दा ठूलो कुरा उनलाई दर्शकको प्रशंसा लाग्छ। आफ्ना चित्रहरू कुनै पारखीले सही मूल्याङ्कन गर्दै प्रशंसा गरिदिए उनी बिक्री भएकोभन्दा ठूलो खुशी मान्छिन्। बिक्री हुनु ठूलो कुरो होइन। मान्छेले कलाकार अनि कलाको सही कदर गरिदिओस्। त्योभन्दा ठूलो सन्तुष्टि अरू केही छैन। मालतीको व्यक्तिगत धारणा यस्तो छ। यद्यपि पहाड़मा चित्रकारहरूलाई उत्साह, प्रेरणा दिनेहरूको संख्या धेरै पात्लिसकेको पनि उनको भनाइ छ। ‘‘कसैको चित्र हेर्ने, गहिराइमा डुबेर चित्रहरूको मनन गर्ने मान्छेलाई अचेल समयनै कहॉं छ! चित्रकला बुझ्ने, कदर गर्नेहरू एकदमै कम्ती छन्। जसले चित्र अनि चित्रकारहरूको कदर गर्छन् उनीहरूले राम्रा चित्रहरू किनी पनि हाल्छन्। तर नबुझ्नेहरू करोड़पति भए पनि न चित्र किन्छन् न उत्साहनै दिन्छन्। कलाप्रति रहिआएको दार्जीलिङको उदासीन परिवेशप्रति मालतीको यस्तो दुखेसो छ। तर चित्रकारितालाई उनको पेशा होइन अभिरूचि हो। चित्र बनाउँदा मैले कहिल्यै स्कोप हेरिनँ तर आफ्नो भावनालाई अभिव्यक्त गर्ने माध्यमको रूपमा हेरेँ। यसैले शायद यो क्षेत्रमा आजसम्म टिकेको पनि हुँ।’’ उनी भन्छिन्। चित्र बनाउने उनको तरीका पनि अनौठो छ। चित्र कोरिएपछि दर्शकको आँखाले मात्र होइन हृदयले पनि रूचाउनु पर्छ भन्ने उनको धारणा छ। यसैले कुनीकिन चित्र बनाउन ठ्याम्मै रूचाउँदिनन्। आजसम्म यसो गरेकी पनि छैनन्। मूड भएको बेला एकै सिटिङमा तीनवटासम्म बनाउँछन्। नभए महीनौंसम्म चुपचाप। हालमा झनै डायबेटिक रोग उनको सृजनकार्यमा विलेनजत्तिकै भएको छ। केही महीनादेखि त्यसै बसिरहेकी जनाउँदै 54 वटा वर्षहरू पचाइसकेकी मालती हॉंस्दै यसो भन्छिन्-‘‘उमेर पनि साह्रै खाएकी छैन, तर यो रोगलेनै आँखा पनि धमिल्यायो, जोश जॉंगर सब खाइदियो। तरै पनि चित्रकारितालाई चट्टै माया भने मारिहालेकी पनि छैन।’’
ईसाई धर्मावलम्बी मालती शान्तिको प्रतीक मानिने सेतो परेवालाई क्यान्भस्मा उतार्ने तयारीमा छन्। ‘‘दार्जीलिङमा अहिले अशान्ति छ नि! हो, यसैलाई हान्ने तरखरमा छु।’’ उनले भनिन्। सोम चियाबगानमा सन् 1958 सालमा परमान सिंह लामा अनि रूपा लामाको घरमा मालती लामा जन्मेका हुन्। बिहेपछि अहिले दार्जीलिङ शहरकै साठी सिँढ़ी छेउको अल इण्डिया वुमेन्स् कन्फरेन्स् (एआइडब्लूसी) बिल्डिङमा उनको थलो छ। पति राजेन्द्र कुमार प्रधान नेपालमा शिक्षक पेशामा कार्यरत् छन् भने एउटै छोरो डेनिस प्रधान अमेरिकामा एमबीए पढ़िरहेका छन्। घरमा एक्लै रहेकी मालती चित्रकारितासितै पेशागतरूपमा एआइडब्लूसीको सिलाइ बुनाइ प्रशिक्षकको रूपमा पनि कार्यरत् छिन्। बत्तीस् वर्षको लग लाग्यो उनी यस पेशामा लागेकी पनि। हालमा बत्तीस् जना विपन्न नारी तथा बालिकाहरूलाई उनी प्रशिक्षण दिन्छिन्। पेशागत रूपमा होइन समाज सेवाको भावनालेनै सो पेशामा पसेकी उनको भनाइ छ। ‘‘विविध समस्याहरू झेल्दै भए तापनि समितिले नारीहरूको उत्थानको निम्ति स्तुत्य कामहरू गर्दै आइरहेको छ। यहॉंबाट तनखा पनि धेर पाइन्न तर नारीहरूलाई स्वनिर्भर बनाउने समितिको सत्कार्यमा सहभागी हुँदा जुन सन्तुष्टि मिल्छ त्यो नै ठूलो कुरो ठानेकी छु।’’ उनी भन्छिन्। चित्रकार मात्रै होइन मूड चलेको बेला मूडी पनि भइहाल्छन् मालती। मूडी भएको बेला उनी गीतहरू सुन्छिन्, कविताहरू पढ्छिन्। पुराना गीतहरू सुन्न रूचाउने मालतीको नारायण गोपाल अनि अरुणा लामा मन पर्ने गायक- गायिकाहरू हुन्। कविहरू मध्ये अगमसिंह गिरीप्रति धेरै प्रभावित रहेकी उनी बताउँछिन्। गायक, कवि होस् या चित्रकार सबै कलाकारहरू समाजको सम्पत्ति हुन् भन्ने ठान्ने मालती दार्जीलिङलाई कलाको केन्द्र मान्छिन्। दार्जीलिङमा कलाकारहरूको खानी रहेको भए तापनि गन्ती नगर्ने जनमानसिकताको कारण पनि धेरै कलाकारहरू पलायन भइसकेको पनि उनको दुखेसो छ। समाजलाई बाटो देखाउने, परिवेश बनाउने हतियारनै कलाकारहरू हुन्, यिनीहरूलाई भुत्ते पारे भोलि के होला? यसै प्रश्नले मनैमन बिथोलिने मालतीलाई दार्जीलिङमा कलाकारहरूको दिन फर्केको हेर्ने खूब इच्छा छ। तर आफ्नो इच्छा पूर्ण होला भन्ने प्रश्नमा भने मन कुड़ाउँदै भन्छिन्-‘‘खै साह्रै पो छ है!’’