(यो लेख 28 अक्टोबर 2009 सालमा हिमालय दर्पणमा प्रमुख समाचारको रूपमा प्रकाशित भएको हो। फेरि 15 जुलाई 2013 को दिन श्रीमती रोमा छेत्रीको अनुमतिअनुसार यसैलाई यहॉं लेखको रूपमा प्रस्तुत गरिएको छ।)
कसले बुझ्लान् रोमाको जिन्दगी
...........सञ्जय प्रधान...............
रोमा छेत्री (गोले) ले एचआईभी (ह्युमन इम्यूनोडेफिसेन्सी भइरस्) र एड्स (एक्वायर्ड इम्यूनोडेफिसेन्सी सिण्ड्रोम) रोगको विषयमा सुनेकी थिइनन्। भूईंचालोको एकै झटकाले सुन्दर शहर खण्डहर भए जस्तै उनको जीवनलाई पनि एचआईभी रोगले खण्डहर नै बनाइदियो। आफ्नो परिवारमा एचआईभी आउँछ भनेर रोमा र उनको पतिले सोंचेका पनि थिएनन्। तर विधिको विधान भनौं या विडम्बना एकदिन यसै रोगले नै उनीहरूको संसार भताभुङ्ग पारिदियो। केही समय अघि मुटु नै चिरिने तिखो वचनहरू सुन्दै एक कुनामा बसेकी रोमा अहिले समाजलाई यस रोगबाट बचाउन मूलधारामा आएकी छिन्। आफ्नो कुरा सुनाउँदा भक्कानो फूट्न थाल्छ, उनका आँखा आँसुले भरिएर टिल्पिलाउन थाल्छ। आखिर कसरी लाग्यो रोमालाई एचआईभी! यो अति नै दुःख लाग्दो कुरा छ। रोमाको जिन्दगीमा भएको यो दुर्घटनाको कुराले कसैको पनि हृदय एकपल्ट चरक्क चर्चाराउँछ, पोल्छ।
कुरा हो 1993 सालतिरको। त्यसबेला रोमाकी पति बंगलोरमा एउटा होटलमा भान्से काम गर्थे। पतिलाई सो बेला जण्डिस्ले धेरै साह्रो पारेको थियो भन्दै बररर...आँसु झारेर भन्छिन्। जण्डिस्कै कारणले पति धेरै नै कमजोर भएका थिए। बंगलोरमा आफू बस्ने घरको छत्मा जॉंदा भित्रपट्टिको सिड़ीमा उनी लड़े। यसरी लड़दा टाउकोमा ठूलो चोट लाग्यो र सात सिलाई पर्यो। त्यसबेला घरमा साथीहरू पनि कोही थिएनन्। साथीहरू आइपुग्दा धेरै रगत् बगिसकेको थियो। उनलाई अस्पताल पुर्याइयो। अस्पतालमा रगत् दिनु पर्छ भन्ने भयो। सो बेला रगत् दिंदा अहिलेको जस्तो जॉंच गरिने व्यवस्था पूर्ण रूपले संचालन भएको थिएन। कसैको रगत् जॉंच नगरी उनको शरीरमा दिइयो। रोमाको पतिलाई के थाहा उनको शरीरमा एचआईभी संक्रमित रगत पसेको। जण्डिस् त निको भयो तर आफूभित्र एचआईभी प्रवेश भएको उनले थाहा पाएका थिएनन्। त्यस समय एउटा दश वर्षको छोरा थियो। जण्डिस् निको भएपछि उनीहरूलाई छोरीको इच्छा भयो। छोरी गर्भमा हुँदा रोमाको पतिलाई एचआईभी भएको कुरा थाहा भयो। यसपछि आफूलाई एचआईभी भएको कुरा रोमाले बुझिन्। त्यसबेला उनीहरू बंगलोरबाट मुम्बईमा बस्न थाले। त्यहॉं फेरि पति रोगले घरि घरि थलिन् थाल्यो। यस्तो हुँदा उनीहरूको सानो परिवारमा मानसिक तनाव बढ़न थाल्यो। सो बेलाको मानसिक तनावले गर्दा रोमाले साल राम्रो याद गर्न सक्दिनन् र केही सम्झिन्दै बताउँछिन्। उनले बताएअनुसार 1999 सालतिर मुम्बईबाट फर्किएर आफ्नो जन्मथलो खरसाङको स्प्रीङ साइडमा आएर बस्न थाले। बगिरहेको आँसुका धारा पुछ्दै रोमा भन्छिन्-‘‘मेरो लोग्ने बिमारले दिनदिनै सुक्दै जॉंदै थिए, झिँझो मान्थे। परिवारबाट मलाई जेठाज्यू र जेठानीहरूले सुटुक्क जॉंच गराउन लगे। उताबाट आएपछि मेरो लोग्ने अट्ठाइस् दिनसम्म मात्र बॉंचे।’’ लोग्नको मृत्युपछि आफूसित नराम्रो व्यवहार हुन थालेको कुरा रोमा आँखाभरि आसुँ छछल्काएर भन्छिन्। उनले बताएअनुसार ससुरालीबाट रोगबारे केही हल्ला नगर्ने सल्लाह दिइएको थियो। लोग्नेपछि आमा छोरीलाई रोगले चाप्न थाल्यो। 2002 सालमा उपचारको अभावले छोरीको मृत्यु भयो। आमा-छोरी दुवै जना बिमारी हुँदा आर्थिक अवस्था निमिट्यान्न भएको उनी बताउँछिन्। सो बेला आर्थिक विपन्नताको कारणले अवस्था साह्रै बिग्रिएको बताउँदै उनी भन्छिन्-‘‘साह्रै नै बिमारी हुँदा मनमा नराम्रो विचार पनि आयो। मेरो कमजोरी अवस्थाले नानीलाई खाना पकाएर दिने अवस्था पनि थिएन। मेरो शरीरमा ताकत् थिएन। पूजा कोठामा बत्ती बाल्नलाई तेल पनि थिएन। पॉंच रूपियॉंको धुप बाल्ने पैसा पनि थिएन।’’ विगतका यस्ता मुटु नै चिरिने अनि सुन्दा र रोमालाई हेर्दा आफ्नै आँखा समेत रस्सिएर आउँथ्यो। भक्कानो फुटाएर रूँदै भन्छिन्-‘‘पहिला मेरो घरमा त्यति मान्छे आउँदैन थियो। एड्स लागेको मान्छे कस्तो हुन्छ भन्दै कतिले बाहिरैबाट त कतिले झ्यालबाट चिहाउँथे।’’
जस्तै आपद विपद आइपरे पनि संसारमा कोही एक्लो हुँदैन बेसाहरा हुँदैन। कहीं न कहींबाट साहरा प्राप्त हुन्छ भने जस्तै भयो रोमाको जिन्दगीमा। हिन्दु परिवारमा जन्मिएर बुद्धिष्ट परिवारमा उनको बिहे भएको थियो। आफ्नो भाग्य र एउटा सिङ्गो समाजसित ठूलो संघर्ष गर्दै आएकी रोमा भन्छिन्-‘‘मैले आफैले आफैलाई सोधें मलाई कसले बनायो? देवताको नक्सा, मूर्तिसित सोध्थें र भन्थें मलाई उठाउ। यसै बीच एकदिन मेरो घरमा ईसाई धर्मका एलस्सदाई मण्डलीका केही व्यक्तिहरू आए, उनीहरूको आत्मीयताले मलाई खुशी लाग्यो। उनीहरूले नानीको लागि प्रार्थना गरिदिए। परमेश्वरको सुसमाचार सुनाए। उनीहरूले सुनाएको सुसमाचार बारेमा रोमा भन्छिन्-‘‘मैले सुनेको यस्तो छ पूरा लेखिदिनुहोस्। तिमीहरूले आफ्ना परमप्रभु परमेश्वरका कुरा ध्यानसित सुन्यौ, उहॉंको दृष्टिमा जे ठीक छ सो गर्यौ र उहॉंका सबै सुविधाहरू मान्यौ भने जुन रोग मैले मिश्रीहरूमाथि ल्याएको थिएँ ती मध्ये एउटा पनि तिमीहरूमाथि ल्याउने छैन, किनकि तिमीहरूलाई निको पार्ने म प्ररमप्रभू हुँ। प्रस्थान 15ः26।’’ रोमाले ईसाई धर्म ग्रहण गरिन्। ससुराली घर जॉंदिनन्। 2007 सालदेखि दार्जीलिङको गैर सरकारी संस्था शंकर फाउण्डेशमा सदस्या छिन्। फाउण्डेशनद्वारा राखिएको एचआईभी/एड्स जनचेतना कार्यक्रममा गाउँ-बस्तीमा गएर मानिसहरूलाई यस विषयमा सर्तक गराउँछिन्। उनी भन्छिन्-‘‘मलाई र मेरो परिवारलाई जस्तो भयो त्यस्तो अरूलाई नहोस् भनेर प्रर्थना गर्छु। यसैले म खुल्ला रूपमा अघि आएको छु। मैले धेरै दुःख झेलेको छु। ममाथि परमेश्वरको दया भयो।’’ रोमाले चियाबगानमा काम गरेको प्रायः तीस वर्ष भयो। अहिले आममानिसहरू जस्तै स्वस्थ रूपमा औषधी खॉंदै काम गर्दैछिन्। सेवा केन्द्र दार्जीलिङबाट दिइएको लुगा सिउने मशिनमा गाउँभरिका लुगाहरू पनि उनी घरमा सिउँछिन्। आफूले माइतीबाट सहयोग पाएको बताउँछिन्। शंकर फाउण्डेशनलाई दह्रिलो सहारको खम्बा मान्छिन्। तेह्र वर्षको उमेरदेखि बगानमा काम गरेको बताउँदै उनी भन्छिन्-‘‘मैले स्कूलेको दैलो देखिनँ।’’ स्कूल नपढ़े पनि बाइबल कनिकुथी पढ़छिन् र बुझ्न गह्रो परेको ठाउँमा प्रभुलाई पुकार्छु भन्छिन्। अहिले आफू खुल्ला रूपमा बोल्न थालेकोमा बाइबलको अध्याय उपदेशक 3:7 को पंक्ति यसरी बताउँछिन्-‘‘सबै कुराको समय छ, च्यात्ने एउटा समय छ, सिउने एउटा समय छ, चुप्प लाग्ने समय छ, बोल्ने एउटा समय।’’ अहिले पनि एचआईभी/एड्स रोगीहरूप्रति सामाजिक भेद्भाव कम भएको छैन। भेद्भावकै कारणले कतिजनाको उपचार बिना मृत्यु भएको छ भने कति लुकेर बसेका छन्। अहिले घरि रोमाको जीवन कठिन संघर्षमा गुज्रिरहेको छ। रोगसित, आफ्नै जीवनसित त संघर्ष चलि नै रहेको छ भने साथमा सामाजिक संघर्ष पनि उनीसित छ। उनलाई आज समाजको प्रत्येकवर्गबाट सहयोग र आत्मियताको आवश्यकता छ। आफूलाई उदाहरणको रूपमा प्रस्तुत गरेर रोमा जुन आँट लिएर आज भन्दा चार वर्ष अघि एचआईभी/एड्स रोग बारेमा सचेत गराउँदै जनचेतना कार्यक्रमहरूमा खुल्ला रूपमा आउँथिन्। तर हिजोआज उनी पहिलाको जस्तो आउन सकेकी छैनन्। रोमाको आँट र आत्मविश्वास समाजका प्रत्येकवर्गलाई संघर्ष अनि ती सबै एचआईभी रोगीहरूलाई सामाजिक मूलधारामा आउनका लागि प्ररेणाका स्रोत हुन्। रोमाको जीवनलाई हेरेर यहॉं बाइबलका यी सुसुमाचार उल्लेख गर्न सान्दर्भिक छः ‘‘तिमीहरूलाई निको पार्ने परमप्रभु म हुँ ।’’ प्रस्थान 15:26 ।। ‘‘नडरा, किनकि म तँसित छु। निरूत्साहित न हो किनकी म तेरा परमेश्वर हुँ । म तँलाई बलियो पार्नेछु । म तँलाई सहायता गर्नेछु म मेरो धार्मिकताको दाहिने हातले तँलाई सम्हाल्ने छू ।’’ यशैया 41:10 ।।