‘‘उनलाई हामी लेप्चाहरूले ‘रेन्’ -को उपाधि दिएका छौं। लेप्चा शब्दमा ‘रेन्’ -को अर्थ अङ्ग्रेजीमा ‘जेण्टलम्यान’ भनेजस्तै हो। हामी उनलाई सम्बोधन गर्दा ‘रेन्’ भन्छौं’’ - एल.एस. तामसाङ
----सञ्जय प्रधान---
‘म’ ‘मेरो’ भन्ने शब्दबाट टेण्डुप छिरिङ लामा धेरैमाथि उठेका छन् र यसैले ‘हामी’ र ‘हाम्रो’ भन्नेमा विश्वास गर्छन्। यस्तो सामूहिक विचारधारामा विश्वास गर्ने खरसाङ क्षेत्रमा समाजसेवकका रूपमा परिचित उनी टी.टी. लामा नामले चिनिन्छन्। पारम्परिक शिक्षाबाट निस्किएर वर्त्तमान समयअनुसार शिक्षालाई आधुनिक ढाँचामा हाल्नुपर्छ भन्ने पक्षमा छन् उनी। मैले यस्तो गरेको छु उस्तो गरेको छु भनेर हल्ला पिट्दैनन्। उनले गर्ने र गरिरहेका सेवाकार्यहरू खरसाङमा प्राय जस्ता सबैको आँखासोझी देखिएको छ।
अहिले 67 वर्ष बसन्त छोइसकेका भए पनि टी.टी. लामा जोशिला, जाँगरिला अनि सामाजिक चिन्तनशील व्यक्ति हुन्। यस हिमाली भेकका लागि उनी साथै उनका अनुभवहरूलाई प्रयोगमा ल्याउने हो भने सृजनात्मक विकासका लागि प्रभावकारी हुनेछ। ब्रिटिश सेनामा रहँदा उनले थुप्रै विषयहरूमा प्रशिक्षण हासिल गरेर धेरै अनुभवहरू बटुलेका छन्। ब्रिटिश सेनामा ट्राफिक अपरेटर कोर्स (रोयल कोर्स अव् ट्रान्सपोर्ट) रेल मूभमेण्ट ट्रेनिङ, एयर ट्राफिक पोर्टेबिलिटी (हवाईजहाजको ट्राफिक व्यवस्था) सेफ्टी अफिसर, फायर अफिसरको ट्रेनिङ गरेका हुन्। यसबारेमा व्यावहारिक रूपमा काम गरेका छन्। ब्रिटिश सेनामा उनी आर्मी ट्रेनिङ अफिसर र मेकानिकल ट्रान्सपोर्ट अफिसर पनि थिए। सेनामा उनले ब्रिटिश अफिसरहरूलाई नेपाली अनि गोर्खाहरूलाई अङ्ग्रेजी पढाउँथे।
दार्जीलिङदेखि करीब 13 किलोमीटर टाडो घूमभञ्ज्याङमा 1 जुलाई, 1948 -मा जन्मिएका टी.टी. लामा स्व. छेडुप लामा र स्व. रत्नदेवी लामाका छोरा हुन्। उनका बाबु पुबुङ जुनियर बेसिक स्कूलका हेडमास्टर थिए। घूम बोइज् हाईस्कूलबाट स्कूल फाइनल पास गरेपछि दार्जीलिङ सरकारी महाविद्यालयमा विज्ञान लिएर पढ्दा पढ्दै उनी ब्रिटिश सेनामा भर्ती भएर गएका हुन्। उनका बाजे स्व. दीपसिंह लामा सो बेला दार्जीलिङमा कर्मा गुरु नामले चर्चित थिए। बाजे कर्मा गुरु लामाहरूलाई प9ढाउने घेला (गुरु) थिए। उनका 40 जना चेलाहरूमध्येमा एकजना टी.टी. लामा स्वंय थिए। कारण बाजेको इच्छा थियो उनलाई ठूलो लामा बनाउने। तर टी.टी. लामाको इच्छा थियो पढेर केही गरौं भन्ने। बाजेकै इच्छाअनुसार 4 वर्षको उमेरदेखि 15 वर्षसम्म उनले लामा पढे। बाजेसित नै उनले बौद्ध धर्मका ग्रन्थहरू पढ्न सिके। लामा पढ्दाखेरि नै जडीबुटीद्वारा औषधोपचार पनि गर्न सिकेका छन्। बौद्ध धर्मका पुस्तकहरू सबै पढ्नसक्छन्। यसैले उनीसित बौद्ध धर्मको राम्रो अध्ययन छ।
कुरा हो सन् 1966 सालको। त्यतिबेला सेनामा भर्ती हुन र काम पाउन अहिलेको जस्तो पसिना गाल्नु पर्दैन थियो, यो कुनै ठूलो समस्या थिएन। सोही वर्ष भारतीय सेनाको भर्ती दार्जीलिङदेखि माथि जलपहाडमा खोलिएको थियो। उनी पनि साथीहरूसित सेनामा भर्ती हुन गएका थिए। पेटमा सानो घाउ भएको हुँदा मेडिकल गराउनुभन्दा मानेनन्। यतिले गर्दा उनी सेनामा भर्ती भएनन्। सो बेला उनी दार्जीलिङ सरकारी महाविद्यालयमा प9ढ्दै थिए। त्यतिबेला उनले वन विभागमा डेपुटी रेञ्जरको पदमा सिलग9ढी नजीक बैकुण्ठपुर जलमा नियुक्ति पाएका थिए। यसपछि सन् 1966 सालमै पुलिसमा एसआईको नियुक्ति पाएर पनि गएनन्। ब्रिटिश सेनामा शिक्षकको काम पाउँछ भन्ने सुनेका थिए र नेपालको धरानस्थित कार्यालयमा आवेदन पठाए। त्यहाँ शिक्षकको पद छैन तर यलर्कको पद खाली छ भनेर पत्र आयो। आफ्नै ठाउँ दार्जीलिङमा काम धेरै पाएका हुनाले पहिला नजाने विचार गरेका थिए। सोही साल उनी धरान गए ब्रिटिश सेनामा यर्लकको पदमा भर्ती हुन। यर्लकको 42 वटा पदका लागि 450 जना आएका थिए। ब्रिटिश सेनामा सो बेला शिक्षाको कारणले गर्दा शिक्षक र यर्लकको लागि दार्जीलिङकाहरूलाई प्राथमिकता दिइन्थ्यो भन्ने कुरा उनी बताउँछन्। अन्तर्वार्तामा उनी छानिएपछि मलेशियाको सुङ्घाइ पटानीको प्रशिक्षण केन्द्रमा उनको पहिलो पोस्टिङ भयो। सन् 1966-67 सालमा नौ महीनासम्म उनले त्यहाँ प्रशिक्षण लिए। यसपछि एक महीनासम्म सिङ्गापुरमा क्लरिकल बेसिक ट्रैनिङ गरेपछि उनलाई हङकङमा गोर्खा ट्रान्सपोर्ट रेजिमेण्ट (जीटीआर) 28 स्यवार्ड्रनमा फिल्ड ब्यारेकमा पठाइयो। सेनाको ट्रान्सपोर्ट व्यवस्थाको जिम्मेदारी जीटीआरसित थियो। उनी ट्राफिक व्यवस्थाको योजना तयार पार्ने कार्यदेखि लिएर सबै किसिमका गाडीहरू चलाउनसक्छन्। अहिले पहाडमा बढ्दो ट्राफिक समस्याको समाधानका लागि उनले नयाँ बाटो निकाल्नसक्छन्। ब्रिटिश सेनामा उनले कमिसन अफिसरहरूलाई प्रशिक्षण दिन्थे। एक व्यक्तिले यति धेरै काम कसरी गर्नसक्छ भन्दा उनी भन्छन्, ‘‘कुनै पनि काम सजिलो छैन। तर गाह्रो माने गाह्रै हुन्छ। यसैले गाह्रो मान्नु हुँदैन।’’ सेनामा उनको सङ्षर्घ कठिन थियो तर उनी हाँस्दै भन्छन्, ‘‘मैले सङ्घर्षलाई एञ्जोय गरें।’’ उनी थुप्रै कुराहरू जान्दछन् तर उजागर गर्नमान्दैनन्। उनी इण्डियन, चाइनिज् खानाहरू सबै बनाउन जान्दछन्। होटल म्यानेजमेण्ट पनि उनी पढाउनसक्छन्। यसको लागि उनले हङकङमा ‘गोल्डन टेम्पल’ पाँचतारेमा होटल म्यानेजमेण्टको कोर्स गरेका छन्। एकजना चार्टर्ड एकाउण्टेण्टको काम पनि गर्नसक्छन्।
अहिलेका समाजसेवक टी.टी. लामा सानैदेखि नै आफ्ना साथीहरूको दु:ख हेर्न सक्दैन थिए। सानैदेखि नै सामाजिक कार्यमा उनको चासो थियो। अब त सामाजिक कार्य उनका लागि एउटा प्यासन नै भएको छ। उनी ब्रिटिश गोर्खा एयस सर्विसमेन एसोसिएशन खरसाङका अध्यक्ष, युनाइटेड खरसाङ फूटबल क्लब (युकेएफसी) र खरसाङ गोर्खा हिल फूटबल स्पोटर्स् एसोसिएशन (केजीएचएसए) -का प्रमुख संरक्षक हुन्। उनको सामाजिक कार्यलाई कदर गरेर थुप्रै संघ-संस्थाहरूले अभिनन्दन जनाइसकेका छन्। आधा संसारै घुमिसकेका उनी सेनामा ययाप्टन पदमा रहेर सन् 1994 सालमा अवकाश ग्रहण गरेका हुन्। सेनामा उनी ‘लङ् सर्भिस एण्ड गुड कण्डयट मेडल’ -द्वारा सम्मानित भइसकेका हुन्। विशेष गरी आर्थिक अवस्थाले कमजोर विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा सहयोग गर्छन् उनी। हालमा उनले आफ्नी स्व. धर्मपत्नीको स्मृतिमा स्थापना गरेको ‘उमा लामा एडुकेशन फाउण्डेशन’ -बाट 16 जना विद्यार्थीहरूलाई शिक्षाका लागि आर्थिक सहयोग पुर्याएर पढाइरहेका छन्। यसमा प्राथमिकदेखि लिएर महाविद्यालयसम्मका विद्यार्थीहरू रहेका छन्। यस्तो सामाजिक कार्य उनले सन् 2003 सालतिरदेखि पत्नी उमा लामासँगै गर्दै आएका हुन्। उनी पनि यस्तै सामाजिक कार्यमा चासो राख्ने महिला थिइन्। उनी बीबीसी रेडियो (ब्रिटिश सेनाको) -मा नेपाली समाचारवाचिका थिइन्। पत्नीको देहावसनपछि टी.टी. लामाले उनकै स्मृतिमा ‘उमा लामा एडुकेशन फाउण्डेशन’ स्थापना गरेका हुन्।
शिक्षाको क्षेत्रमा यता खरसाङमा मात्र नभएर उनले कालेबुङका दुर्गम गाउँहरू बियोङ, पेचोक, डाब्लिङ, सामसिङ, सिद्दिम, कोबुङ, प्रिमताम, समथारजस्ता ठाउँहरूमा धेरै नै महत्त्वपूर्ण कार्य गर्दै आइरहेका छन्। यी ठाउँहरूका कतिपय विद्यालयहरूमा उनले आफ्नो पहलमा विशेष गरी युरोपबाट युवा भोलेन्टियर शिक्षकहरू ल्याएर बर्सेनि तीन महीना आधुनिक शिक्षाको व्यवस्था गराउँछन्। युरोपबाट आउने ती भोलेन्टियर शिक्षकहरूलाई पहिला यहाँको परम्परा र संस्कारबारेमा टी.टी. लामा बताउँछन्। यसले गर्दा भाषा र संस्कृतिको आदान प्रदान पनि भइरहेको छ। शिक्षाको क्षेत्रमा विकास गराउनका लागि तीनवटा ‘पी’ अर्थात् ‘प्लानिङ, प्रिपरेशन र प्रेजेण्टेशन’ हुनुपर्छ भन्ने उनको अवधारणा छ। उनी भन्छन्, ‘‘हाम्रो क्षेत्रमा अहिलेसम्म पनि आधुनिक शिक्षाको ढाँचा छैन। नयाँ ढाँचामा शिक्षा नीति अप्नाउनुपर्छ।’’ यताको शिक्षा नीतिबारेमा कुरा गर्दै उनी भन्छन्, ‘‘अहिले युवा पीढीलाई प्राप्त भइरहेको शिक्षा आधुनिक युगसित मेल खाँदैन। पैसा भएकाहरूले आफ्ना छोरा छोरीहरूलाई बाहिर पढ्न पठाउँछन् अनि उनीहरू यहाँ आएपछि रोजगारको व्यवस्था हुँदैन।’’ उनी अझ भन्छन्, ‘‘शिक्षाको क्षेत्रमा दार्जीलिङ पहाड राम्रो भए पनि 60 प्रतिशतमा शिक्षाको की देखिएको छ। यहाँको जनसङ्ख्याअनुसार पोष्ट ग्य्राजुएटको प्रतिशत कम छ।’’ उनले भनेअनुसार युरोपमा 30 प्रतिशतले जीएससीई (जेनरल सेर्टिफिकेट अव् सेकेण्डरी एडुकेशन) अर्थात 10 पास गरेका हुन्छन् अनि 70 प्रतिशत ग्य्राजुएट लेभलका हुन्छन्। उनले आफ्ना दुवै छोरालाई ब्रिटिश सेनाको स्कूलमा पढाएर आधुनिक ढाँचाकै शिक्षा दिएका छन्। ठूलो छोरा जिनलाप छिरिङ लामा स्पोर्टसमा ग्य्राजुएट हुन्। हङकङमा उनले ‘एचके ड्य्रागन फूटबल स्कूल’ स्थापना गरेका छन्। सो स्कूलमा जिनलापले चार वर्षदेखि अठाह्र वर्षसम्मका करीब एक हजार विद्यार्थीहरूलाई फूटबलको प्रशिक्षण दिन्छन्। सानो छोरा जिग्मी छिरिङ लामा फाइन् आर्टस्को डिजाइन एण्ड क्राफ्टमा ‘एडभान्स् लेभल’ गरेका हुन्।
टी.टी. लामाको सामाजिक कार्य बारेमा मायलल्याङ लेप्चा डेवलपमेण्ट बोर्डका अध्यक्ष एल.एस. तामसाङ भन्छन्, ‘‘विशेष गरी म लेप्चाहरूको पक्षबाट भन्छु उनले लेप्चाहरूका लागि धेरै सामाजिक कार्यहरू गरेका अनि गरिरहेका छन्।’’ उनले बताएअनुसार यस्तो सामाजिक कार्य टी.टी. लामाले एक दशकदेखि नै गर्दै आएका हुन्। ‘‘उनकी धर्मपत्नी स्व. उमा लामाले पनि धेरै सामाजिक कार्य गरेकी हुन्’’, उनी भन्छन्। ‘‘टी.टी. लामाले पछािडएका जाति र मानिसहरूलाई धेरै सहयोग गर्छन्’’, एल.एस. तामसाङ भन्छन्, ‘‘उनले लेप्चा नाइट् स्कूलहरूको उत्थानका लागि धेरै काम गरिरहेका छन्। लेप्चाहरूको पक्षबाट हामी उनलाई धेरै बधाई साथै धन्यवाद जनाउँदछौं।’’ यसका साथै टी.टी. लामाले कतिपय ठाउँहरूमा आमजीवनका सुविधाका लागि पनि सामाजिक कार्यहरू गरेका छन् भन्ने कुरा उनी बताउँछन्। एल.एस. तामसाङ अझ भन्छन्, ‘‘उनलाई हामी लेप्चाहरूले ‘रेन्’ -को उपाधि दिएका छौं। लेप्चा शब्दमा ‘रेन्’ -को अर्थ अङ्ग्रेजीमा ‘जेण्टलम्यान’। हामी उनलाई सम्बोधन गर्दा ‘रेन्’ भन्छौं।’’
शिक्षाकै क्षेत्रलाई लिएर टी.टी. लामाले सन् 2003 सालदेखि इङ्ल्याण्डको संस्था ‘अफ्रिका एण्ड एशिया एडभेञ्चर’ -मा एशियाका रिजनल डाइरेयटरको पदमा रहेर कार्य गरिहेका छन्। यसै संस्थाबाट उनले यताका लागि भोलेन्टियर शिक्षकहरू ल्याउँछन्। उनी भन्छन्, ‘‘शिक्षित भए कसैले एयसप्लोइट् गर्नसक्दैनन्।’’ दार्जीलिङ पहाडी भेकमा शिक्षाको क्षेत्रमा नयाँ अवधारणा तयार हुनुपर्छ भन्ने उनको विचार छ। सधैं दार्जीलिङ पहाडको हितमा रहेर एउटा प्रगतिशील स्वस्थ समाज बनाउने उनको अदम्य इच्छा रहेको छ। शुभकामना।