Trilok Subba

07/12/2012 11:07

 

  

आध्यात्मिक र मार्शल आर्टको

बेजोड़ संगम सेन्सी त्रिलोक

 

---सञ्जय प्रधान

        देख्नमा त्रिलोक सुब्बा फाइटर जस्तो पटक्कै देखिन्दैनन्‌। विद्यार्थी जीवनमा उनलाई परिस्थितिले फाइटर बनायो। एक जमाना थियो विद्यालय साथै महाविद्यालयहरूमा बजारकाहरूले बस्तीका विद्यार्थीहरूलाई डग्ने गर्थ्यो। बजारका विद्यार्थीहरूको डगाईमा आफ्ना साथीहरूसित त्रिलोक पनि परे। आफूलाई पनि अरूलाई पनि बिना कारण डगेको उनलाई पटक्कै मन पर्दैन थियो। केटाहरूको डगाइलेनै उनी आफ्नो आत्मरक्षाको लागि फाइटर भए। यिनै  फाइटर  आज ते-क्वन-दुमा छैंटौं दान प्राप्त गरेर मास्टर भइसकेका छन्‌। अर्को वर्ष उनी सातौं दानको लागि तयारीमा छन्‌। आठौं र नौ दानमा ग्राण्ड मास्टर भनिन्छ र यसका लागि पनि तयारीमा छन्‌। ते-क्वान-दुका अर्न्तराष्ट्रिय प्रतियोगिताहरूमा भारतलाई उनले धेरैपल्ट विदेशी मुलुकहरूमा प्रतिनिधित्व गरिसकेका छन्‌। राष्ट्रिय साथै अर्न्तराष्ट्रिय प्रतियोगिताहरूमा उनले दर्जन भन्दा बढ़ी मेडलहरू जितेका छन्‌ भने धेरै पुरस्कार र सम्मानहरूले सम्मानित भइसकेका छन्‌। उनले जितेका मेडलहरूमा स्वर्ण, रजत्‌ र कॉंस्य पदकहरू सबै समेल छन्‌। ते-क्वान-दुलाई 2000 सालमा मान्यता दिएर सिडनीको ओलम्पिकमा प्रस्तुत गरिएको हो। भारतमा यसलाई राष्ट्रिय खेलमा मान्यता दिएको छ। ते-क्वान-दु फेडरेशन अफ्‌ इण्डिया (टीएफआई) ले उनलाई भारतीय टोलीका प्रशिक्षक नियुक्त गरेको थियो। टीएफआईबाट भारतीय टोलीका प्रशिक्षक हुने उनी पहिलो नेपाली हुन्‌। उनले खेलेका राष्ट्रिय साथै अर्न्तराष्ट्रिय प्रतियोगिताहरू र जितेका मेडलहरूको विवरण लेख्न परे यहॉं अटॉंउन मुश्किल पर्छ। यसैबाट उनले भारत साथै विदेशमा आफ्नो पहिचान बनाएका छन्‌। अहिले उनी सिक्किम एम्येच्योर ते-क्वान-दु एशोसिएसन्‌ (साटा) का मुख्य प्रशिक्षक हुन्‌।  कालेबुङको सॉंड़े बाह्र माइल सिन्देबुङ बस्तीमा जन्मिएका त्रिलोक पी एल सुब्बा (शिक्षक) र एक समयका  कालेबुङका भूतपूर्व विधायिका श्रीमती रेणुलीना सुब्बाका छोरा हुन्‌। एउटा राजनैतिक परिवारमा जन्मिएका त्रिलोक मार्शल आर्टका खप्पिस खेलाड़ी हुन्‌ भने आध्यात्मिक क्षेत्रको महासागरमा पुरै डुबी सकेका व्यक्ति हुन्‌। उनीसित मार्शल आर्ट र  आध्यत्मिक  क्षेत्रको  गहिरो  सम्बन्ध छ। मार्शल आर्ट र  आध्यात्मिक क्षेत्रको एक साथ बेजोड़ मेल भएका व्यक्ति विरलै पाइन्छ। केही समय अघि गान्तोक निवासी बहिनी निजानन्दी मन्दिराले कुरै कुरामा उनका बारेमा प्रेरणादायक  कुराहरू बताएकी थिइन्‌। पहिला त उनले ते-क्वान-दु खेल्दैनन्‌ थिए। फुटबलका राम्रा खेलाड़ी थिए। उनी कुमुदिनी होम्स्‌ कालेबुङमा  पढ़दै थिए र फुटबल खेल्नकै लागि एसयुएमआईमा पढ़े अनि यहिंबाट उच्च माध्यमिक उर्त्तीण गरे। होस्टेलमा बस्थे र फुटबल खेल्नका लागि प्रशिक्षण केन्द्रमा भर्ती भएका थिए। एकदिन कार्मिकल मैदानमा फुटबलको अभ्यास गरिरहेको बेलामा उनले हिर्काएको गोली ते-क्वान-दु सिक्दै गरेको ठाउँ प्राथमिक पाठशालाको मैदानमा  पुग्यो। गोली लिन त्रिलोक डराइ डराइ गए। हरियो चउरमा आकर्षक देखिने सेतो पोशाक लगाएका केटाहरूले ते-क्वान-दु सिक्दै गरेको अनि गुरू साथै एक अर्कामा अनुशासित भएर सम्मानपूर्वक व्यवहार गरेको देख्दा उनी आकर्षित भए। यो 1981 सालको कुरा थियो। यसै वर्षदेखि उनले ते-क्वान-दु सिक्न थाले। उनले ते-क्वान-दु  मारछिरीङ लेप्चा र पासङ फोनिङसित सिकेका हुन्‌। 1985 सालमा दक्षिण कोरियाका सातौं दान मास्टर जे के सिन्‌बाट ब्ल्याक बेल्ट प्राप्त गरे। ब्ल्याक बेल्ट प्राप्त गरेपछि भोटाङ ओलम्पिक कमिटि (बीओसी) ले उनलाई राष्ट्रिय प्रशिक्षकको रूपमा नियुक्त गरयो। 1987 सालदेखि उनी गान्तोक आए। दार्जीलिङ सन्त जोसेफ कलेजमा पढ़दै थिए सिक्किमकै कलेजबाट उनले स्नातक गरे।   1987 सालमा सिक्किममा ते-क्वान-दु दोजाङ अफ्‌ सिक्किम नाम राखेर आरिथाङ गान्तोकमा सात जना प्रशिक्षर्णीहरू राखेर सिकाउन शुरू गरे। 1989 सालमा सिक्किम एमेच्योर  ते-क्वान-दु एशोसिएसन्‌ (साटा) स्थापना गरे अनि सिक्किम सरकारबाट पञ्जिकृत भएपछि टीएफआईसित यो अर्न्तभुक्त भयो। अहिले सिक्किमका चारवटा जिल्लाहरूमा चौदह वटा दोजाङ अर्थात प्रशिक्षण केन्द्रहरूमा तीन सय पचास जना प्रशिक्षर्णीहरू छन्‌। उनको दोजाङबाट रेड वान (आधा कालो आधा रातो) बेल्ट प्रदान गरिन्छ। उनले बताएअनुसार ब्ल्याक बेल्टको लागि वर्ल्ड ते-क्वान-दुको मुख्यालय दक्षिण कोरियास्थित कुकिवानबाट प्रमाण पत्र प्राप्त हुन्छ। यसको लागि टीएफआईले परीक्षा लिन्छ। गएको दुइ दशकदेखि  उनले यस खेललाई  लोकप्रिय  बनाउनलाई  निरन्तरता  दिइराखेका छन्‌।
      धेरैले त्रिलोकलाई ते-क्वान-दु खेलाड़ीका रूपमा मात्र चिनेका छन्‌। उनी मार्शल आर्टसित मात्र जोड़िएका  छैनन्‌। आध्यात्मिक  क्षेत्रमा  धेरैनै गहिरिएका व्यक्ति हुन्‌। उनी जन्मदेखिनै निजानन्द मार्गका हुन्‌। विद्यार्थी जीवनदेखिनै उनी धार्मिक पुस्तकहरू निरन्तर अध्ययन गर्थे। उपन्यास भनेको जीवनमा एउटै मात्र पुस्तक सुपरिचित लेखक भगिरथ रावतको ‘‘बॉंस सल्किरहेछ’’ मात्र पढ़ेको कुरा हॉंस्दै बताउँछन्‌। विद्यार्थी जीवनमा पनि पकेट खर्चले आध्यात्मिक पुस्तकहरू मात्र किनेर पढ़थे। उनले बाइबल, कुरान शरीफ्‌, श्रीमद्भागवदगीता, रामायण पुरै अध्ययन गरिसकेका छन्‌ भने निजानन्द मार्गका चौदह वटा ठूला पुस्तकहरूका ठेली कूलजम्‌ स्वरूप साहेब र वितक अध्ययन गरिसकेका छन्‌। यी पुस्तकहरूमा भएका बहुमूल्य कुराहरूलाई उनी निजानन्द मार्गका कार्यक्रमहरूमा आममानिसहरूका अघि वाणी चर्चा (प्रवचन) प्रस्तुत गर्दै व्यख्या गरेर बताउँछन्‌। सानैदेखि धार्मिक पुस्तकहरूको अध्ययनले आध्यात्मिक, मानसिक र शारीरिक तौरको विकास  हुने र यसै विकासलाई पूर्ण विकास सम्झिन्थे।
        मार्शल आर्टका खेलाड़ी आध्यात्मिक क्षेत्रसित यति गहिरो रूपमा जोड़िएको कुरा सुन्दा कतिलाई आनौठो पनि लाग्न सक्छ। यस सिलसिलामा उनी भन्छन्‌-‘‘सॉंचो मार्शल आर्टका खेलाड़ी पूर्ण रूपले अनुशासित, दयालु र नम्र हुन्छ अनि आध्यात्मिक क्षेत्रमा पनि यस्तै हुन्छ। आध्यात्मिकताले मार्शल आर्टलाई विकास गराउँछ।’’ उनका विचारनअनुसार आध्यत्मिक क्षेत्रले प्रतियोगिताहरूमा पनि सहयोग पुरयाउँछ। उनी भन्छन्‌-‘‘आध्यात्मिक क्षेत्रमा  हार र जीतको कुनै पर्वाह हुँदैन। आध्यात्मिक क्षेत्र हारसित डराउँदैन्‌।’’ वर्त्तमान समाजलाई आध्यात्मिक पक्षको आवश्यक भएको बताउँदै  उनी  भन्छन्‌-‘‘हाम्रो समाजलाई आध्यात्मिक ज्ञानको आवश्यकता छ। हाम्रोमा भर्खर विकास हुँदैछ। अहिले जुन किसिमले भौतिक विकास भइरहेको छ यसले उच्च महत्वकांक्षा बढ़ाउँछ। यस बारेमा अरूसित तुलना गर्दा हाम्रोमा हताशी बढ़ेर आउँछ।  उच्च महत्वकांक्षालेनै हताशी, हीनभावना र डिप्रेशन (उदासीनता)  पैदा  गराउँछ। आध्यात्मिकता  छैन्‌  भने हाम्रोमा धैर्य हुँदैन। आध्यात्मिकतालेनै धैर्यता दिन्छ।’’ पहिलाको जमानामा केही नहुँदा पनि खुशी थियो तर समाजमा उपभोक्तावाद बढ़ेपछि उच्च महत्वकांक्षा बढेर गयो अनि साथमा हताशी, हीनभावना र डिप्रेशन बढ़यो उनी भन्छन्‌।     जीवनमा धेरै उतार चढ़ाव देख्दै आएका त्रिलोक सुब्बा खेलकूदको क्षेत्रमा युवाहरूका लागि प्रेरणा साथै हौसला हुन्‌। आध्यात्मिक क्षेत्रमा डुबेका उनी मानव समाजलाई एउटै नजरले बराबरीमा हेर्छन्‌। स्वस्थ समाज निर्माणमा सर्ंघषरत्‌ छन्‌। ते-क्वान-दु खेलप्रति सिक्किम-दार्जीलिङ भेकका युवाहरूलाई अघि ल्याउन चाहन्छन्‌ अनि सो गरिरहेका छन्‌। यस खेललाई पनि पेशाको रूपमा लिन सकिन्छ भन्ने सिलसिलामा उनी भन्छन्‌-‘‘यस खेललाई पेशाको रूपमा अप्नाउन सकिन्छ। तर आफू पूर्ण रूपले समर्पित हुनुपर्छ अनि साथमा सृजनशील हुनुपर्छ।’’ उनको जीवनशैली पूर्ण रूपले अनुशासित  छ। राती नौ बजी सुत्छन्‌, बिहान चार बजी उठ्‌छन्‌ र चितवनी अर्थात ध्यानमा बस्छन्‌। यसपछि आफ्नो दैनिक दिनचर्यामा लाग्छन्‌। उनी सन्तुलित र गुणत्मक शुद्ध  शाकाहारी आहार लिन्छन्‌। शाकाहारी खानाबाट सोझै प्रोटिन, भिटामिनहरू प्राप्त हुने कुरा उनी बताउँछन्‌। उनी उत्तर प्रदेशको सरसवा सहारनपुरस्थित श्री प्राणनाथ ज्ञानपीठसित सम्बन्धित छन्‌। तीन जना छोरीहरूका पिता त्रिलोकले धेरै राष्ट्रिय साथै  अर्न्तराष्ट्रिय प्रतियोगिताहरूमा धेरै सफलता हासिल गरिसकेका छन्‌। उनका जेठी छोरी त्रिसा कलकतामा एम कम गर्दैछिन्‌, माइली छोरी रेहा कालेबुङ डा0 ग्राम्स्‌ होम्स्‌ अनि कान्छी छोरी अद्वैती सन्त जोसेफ कन्भेन्ट कालेबुङमा पढ़दैछिन्‌। पत्नी अनुबाट धेरै हौसला र प्रेरणा पाउँछन्‌।
       एकपल्ट सन्‌ 1986 सालमा छिमेकी मुलुक नेपालमा भएको सगरमाथा अर्न्तराष्ट्रिय प्रतियोगितामा उनलाई निक्कै तितो अनुभव भएको छ। सो प्रतियोगितामा थाइल्याण्डका प्रतियोगी नियोम थोमसित खेल्दा रूल राम्ररी याद नगर्दा मेडल गुमाउनु परेको थियो। पाहोर साल 2011 मा मलेशियाबाट स्वर्ण पदक जितेर ल्याउन सकेकोमा उनी अहिले खुशीको दिन मान्छन्‌। उनीसित प्रशिक्षण लिएकाहरूमा सिक्किम पुलिस अधिकारी सुश्री सावित्री प्रधानले पाचौं दान, राजेन सुब्बाले चार दान अनि दावा तामाङ र उगेन गुरूङले तीन दान हासिल गरिसकेका छन्‌। उनले विदेशी मुलुकहरू नेपाल, कोरिया, मलेशिया, उज्वेकिस्तान, आयरल्याण्ड, इंगल्याण्डमा धेरै प्रतियोगिताहरूमा भाग लिएर दर्जन भन्दा बढ़ी मेडलहरू जितेका छन्‌। भारतका विभिन्न राज्यहरूमा खेलीसकेका छन्‌। ते-क्वान-दुको खेललाई यताका समाजमा लोकप्रिय बनाएर युवावर्गलाई सही मार्गदर्शन दिएको कुरालाई कदर गरेर सिक्किम सरकार साथै विभिन्न संस्थाहरूले पुरस्कृत गरेर सम्मानित तुल्याइसकेको छ। भारतममा ते-क्वान-दु खेललाई लोकप्रिय बनाउने क्षेत्रमा  योगदान पुर्‍याएकोमा कदर गरेर वर्ल्ड ते-क्वान-दु फेडरेशन दक्षिण कोरियाबाट पुरस्कृत भइसकेका छन।  उनको मार्शल आर्ट साथै आध्यात्मिक क्षेत्रको ज्ञान वर्त्तमान समाजको लागि उपयोगी छन्‌ भने समयअनुसार आवश्यक छ।