""त्यो परिवेशमा गाउन पर्दा राति म एक्लै रून्थें ¡''
-सञ्जय प्रधान-
‘जय गोर्खा! जय गोर्खा!’ सन् 1989 -मा खरसाङको प्लाजा थिएटर (सिनेमा हल) -मा नाइटिङ्गेल्स मेलोडीको कार्यक्रममा उत्तम लामाले गाउँदा यस्तो नारा अचानक गुञ्जिएको थियो। सन् 1988 सालमा गोर्खाल्याण्ड आन्दोलन बिसाएको भए पनि भावना बिसाएको छैन, भूप्रो निभेको छैन। त्यतिबेला उनले गाएका थिए नेपाली संसारका स्वर सम्राट स्व. नारायण गोपालले चलचित्र ‘लाहुरे’-मा गाएका अति चर्चित गीत ‘वीरताको चिनो वीरको सन्तान, शहीदको रगत लाहुरेको निशानी...’’। सो कार्यक्रममा जसले पनि उत्तम लामाले गाएको सुने, सबैले नारायण गोपालकै छाप देखे अनि उनीमाथि ठुलै आशा पनि गरेका थिए। श्रोताहरूमा यस्तो छाप लगाउन सफल भएका थिए उनी।
भारतभरिमा एक करोड र डेढ करोड नेपाली छौं भनेर दावी गर्ने हाम्रो समाजमा भारतभित्रै नेपाली संगीत र कलाको बजार व्यवस्था भन्ने केही छैन। यसैले पनि नेपाली संगीत र कला क्षेत्रका लागि भने भारतमा मात्र भर पर्नु फलामको चिउरा चपाउनु भनेजस्तै हुन्छ। सन् 1991 सालमा ‘नाइटिङ्गेल्स’ -कै कार्यक्रममा उत्तमले नारायण गोपालकै गीत ‘साउनको झरी बनी तिमी आउन...’ गाएर थुप्रै श्याबासी र शुभकामना पाएका थिए। तर सोही साल उनी संगीतको भविष्य खोज्दै नेपाल पसे। दुइ दशकपछि उनी एउटा नयाँ विचार र उद्देश्य लिएर फर्किआएका छन्। अहिले नयाँ गायक-गायिका सृजना गर्नमा व्यस्त छन्।
अहिले 47 वर्ष पुगेका उत्तम चियाबगानको सङ्घर्षमय जनजीवनमा हुर्किएका हुन्। भक्तिमान तामाङ (लामा) र श्रीमती सेमु तामाङका छोरा उत्तमको जन्म खरसाङकै सिङ्गेल चियबगानमा भएको हो। सन्त अलफन्सस् स्कूलबाट माध्यमिक उर्त्तीण गरेका उनी खरसाङ महाविद्यालयमा पढेका हुन्। संगीतका लागि उनको कुनै गुरु थिएन, सानै हुँदादेखि गीत गाउँथे। चियाबगानको जनजीवन जति नै सङ्घर्षपूर्ण भए पनि संगीत र साहित्यको परिवेश सधैं जम्मिरहेको हुन्छ। चियाबारीबाटै कैयौं जनवादी संगीतहरू सृजना भएका छन् भने चियाबारीको साहित्यले एउटा गरिमामय स्थान राखेको छ। चियाबगानमा नै संगीतको वातावरण जम्मिने हुँदा उनी यसैमा झ्याम्मिएर बालखैमा संगीतमा डुबेका हुन्। सानो हुँदा सन्त अलफन्सस् नजीक whistle खोला (उहिले यहाँ रेलले सिटी बजाउने हुँदा ब्रिटिशले राखेको नाम हो whistle खोला) -मा भूतले तर्साउँछ भन्ने डर मनमा पसेको हुँदा बाटोमा हिँड्दा जोड जोडले गाउँदै हिँड्थे। धन्य हुन् ती भूत, जसको डरले उत्तमले राम्रो गाउन सके। उनी भन्छन्, ‘‘म सानो थिएँ जति डर लाग्यो त्यति जोड जोडले गाउँथे। सन्त जोसे फ स्कूलका दिदीहरूले मैले गाएको मन पराउँथे। उनीहरूले गाउन लाउँथे र सानो भाइ भन्दै माया गरेर 10 पैसा पाँच पैसा दिन्थे मिठाइ खाऊ भनेर।’ बाल्यकालको यी कुरा सम्झिँदा अहिले उनी मरी मरी हाँस्छन्। सानै उमेरमा नारायण गोपाल, दीप श्रेष्ठका गीतहरू गाउँथे। त्यतिबेला रेडियो र ठूलो एलपी रेकर्डमा गीतहरू सुन्थे। रेडियोबाट गीत बज्दा शब्द सार्थे अनि नभ्याउँदा अर्को कार्यक्रम पर्खेर सार्थे। पाँच कक्षाको सानो विद्यार्थी हुँदा सिङ्गेलमै भएको कार्यक्रममा सुपरिचित गायक भक्तराज आचार्यको गीत ‘जति चोट दिन्छौ देऊ मायालु...’ गाएर सबैलाई छक्कै पारे। यसपछि यता उता कार्यक्रम हुँदा उनलाई बोलाउन शुरू भयो। कक्षा आठमा हुँदा गीत कम्पोज गर्नथाले। विद्यार्थी हुँदा नै साथीहरू भेला गरेर पाँच रुपियाँ टिकट राखेर गाउँमै साङ्गीतिक साँझ ‘सुर झङ्कार’आयोजना गरे। स्कुले जीवनमा उनको संगीतमय जीवन यसरी बित्यो।
खरसाङ महाविद्यालयमा भर्ना भएपछि त्यहाँ स्थापना दिवसको कार्यक्रमका लागि अडिशन बसेका थिए तर नाम निस्किएको थिएन। उत्तमको नाम ननिस्कँदा निक्कै खुल्दुली भएको थियो। ‘‘कलेजकै संगठनका दाज्यूहरूले मेरो नाम हालिदिए'' उनी भन्छन्। कलेजको सो कार्यक्रममा उनले सुपरिचित गायक किरण प्रधानको त्यति बेला धेरै चलेको गीत ‘पत्थरको मुटु बोकेर...’ गाए अनि सबैको आकर्षणको केन्द्र भए। सो बेला खरसाङको चर्चित ब्याण्ड ‘नाइटिङ्गेल्स मेलोडी’ -को नजरमा उनीाथि पर्यो। ‘नाइटिङगेल्स् मेलोडी’-का गायक रमेश रसाइलीले भेट गरेर यसैमा सामेल गराएको उनी बताउँछन्। यस ब्याण्डमा सामेल हुँदाखेरिको कुरा गर्दै उनी भन्छन्, ‘‘म त गाउँकै थिएँ अनि ब्याण्डमा गाउनका लागि उस्तो कन्ङ्गिडिएण्ट थिइनँ। मलाई ब्याण्ड भनेको थाहा पनि थिएन। नाइटिेल्समा सामेल हुनका लागि नयाँ बजारमा बोलाइयो। त्यहाँ महेश्वर लामा दाज्यूले कीबोर्ड बजाउँथे। उनले गीत गाउनु भन्दा किरण प्रधानको गीत ‘विश्वास गरें तिमीलाई मैले...’ र ‘पत्थरको मुटु बोकेर...’ गाएँ। उनले मन पराए। नाइटिेल्सबाट पहिलोपल्ट बालासनको कार्यक्रममा गाएँ।’ यसपछि उनी यसै ब्याण्डका एकजना प्रमुख गायक भएर विभिन्न कार्यक्रमहरूमा व्यस्त रहनथाले अनि आफ्नो पहिचान बनाउँदै जानथाले।
एकतिर उत्तमको साङ्गीतिक यात्रा चल्दै थियो भने अर्कोतिर बाबु सैनिक भएका हुनाले सेनामा नै भर्ती हुनुपर्छ भन्थे। सन् 1985 सालमा उनी कलेज पढ्दै गर्दा बाबुले सेनामा भर्त्ती गराउन जलपहाडमा लिएर गए। यसबारेमा अहिले हाँस्दै भन्छन्, ‘‘म सेनामा भर्त्तीमा हुनजाँदा मेरो छात्तीमा छाप लागिहालेको थियो। म सेनामा जानैपर्ने भएको थियो। यता अर्कोतिर ‘नाइटिेल्स’ -को ठूलो कार्यक्रम हुनेवाला थियो। मैले सेनामा जान नपरोस् भनेर मार्कशीटको एक ठाउँमा कोरिदिएको थिएँ। यस्तो हुँदा युनिर्भसिटीबाट अर्को मार्कशीट बनाउनु भनेर सिलग9ढी जानू भन्यो। यो बनिञ्जेलसम्ममा प्रोभिजनल सर्टि फिकेट बनाउनुपर्ने थियो। तर यो बनिनभन्दा अघि सेनामा कागज-पत्र बुझाउने मिति गइसकेको थियो। यसपछि भने आप्पाले ‘आफ्नै खुशी गर्’ भन्नुभयो।’’ यसपछि भने उनी ढुक्क भएर ब्याण्डमा नै गाउनथाले। उनले गाउँदा सबैले नारायण गोपालको जस्तै सुन्छ भन्थे। ‘‘मैले नारायणको गीत गाउँथें आफ्नै ढाँचामा, कपी गरिनँ’’, उनी भन्छन्। कुरा हो सन् 1989 -को, त्यतिबेला गोर्खाल्याण्डको आन्दोलन बिसाएको एक वर्ष मात्र भएको थियो। प्लाजा थिएटरमा भएको नाइटिेल्स मेलोडीको कार्यक्रममा उनले ‘वीरताको चिनो...’ गाउँदा यसको बीचको भाग ‘नेपाली हौ तिमी...’ -को बद्लीमा ‘गोर्खाली हौ तिमी संसार जित्ने...’ भन्दै गाउँदा हलभरि नै दर्शकहरूले ‘जय गोर्खा! जय गोर्खा!’ -को नारा लगाउँदै निक्कै जोशिएका थिए। यसरी कार्यक्रम गर्दै जाँदा उनी व्यावसायिक गायक भइसकेका थिए।
संगीतको क्षेत्रमा नयाँ गोरेटो खोज्दै सन् 1991 -मा उनी नेपाल पसे। नेपालमा धरानको ईस्टर्न रीजन मिलिटेरी बोर्ड स्कूलमा शिक्षक काममा लागे। सन् 1991 सालमै धरानको पब्लिक ग्राउण्डमा ‘नारायण गोपाल साँझ’ आयोजना गरिएको थियो। सो कार्यक्रमको लागि अडिशनमा उत्तम पुगे। अडिशनमा उनले ‘साउनको झरी बनी तिमी आउन...’ गीत गाए। उनको गायकी आयोजकवर्गले मन पराए अनि नारायण गोपालको गीत कति गाउन सयनुहुन्छ? भन्ने प्रश्नको जवा फमा भने, ‘‘1960 देखिको 1990 सम्मकै गाउन सक्छु।’’ सो कार्यक्रमा उनले हजारौं दर्शकहरूका अघि नारायण गोपालकै गीत ‘आज राति के देखें सपनामा, मै मरी गएको...’ र ‘तिम्रो जस्तो मुटु मेरो पनि...’ -लगायत अन्य गीतहरू गाए। कार्यक्रमपछि उत्तम धरानमा रातारात हिट् भए अनि त्यहाँ आफ्नो पहिचान दह्रो बनाउन स फल भए। उनी धरानमा शिवाजी टोलमा बस्थे। त्यहींका मानिसहरूले सन् 1992 सालमा ‘उत्तम लामा साँझ’ नाक साङगीतिक कार्यक्रम आयोजना गरेका थिए। धरानकै गणेश टकीज्मा भएको सो कार्यक्रमले रेकर्ड नै बनाएको थियो। धरानको मूल बजारदेखि कुना काप्चाका भित्तादेखि लिएर रूखहरूमा समेत उत्तमको फोटो भएका पोष्टरहरू टाँसिएका थिए। धरानमा उनी एकजना सेलिब्रिटी नै भएका थिए। धरानमै उनले चित्रकला लिम्बूसित बिहे गरे। अहिले उनीहरू छोरा सिद्धार्थ र छोरी नुमालाई साथमा लिएर खरसाङमा छन्।
गीत गाउनकै लागि उनी 1993 सालमा काठमाण्डौं गए। पहिला त त्यहाँ उस्तो चिनाजना थिएन। उनी भन्छन्, ‘‘म त्यहाँ चिडियाखानामा घुम्दै गरेको बेलामा एकजना भाइले ‘उत्तम दा’ भन्दै बोलायो। उसले आफूलाई खरसाङकै बताउँदै आफ्नो नाम नेवाङ लामा बतायो। उसैले मलाई गीत गाउन ‘डम्फू रेस्तुराँ’ -मा लिएर गए।’’ रेस्तुराँमा अडिशन लिँदा उनको गीत सुनेर मालिक निर्मल लामाले गीत गाउन राखे। उत्तमले बताएअनुसार सो रेस्तुराँमा म्युजिक ग्रुप कालेबुङको ‘मेलोडी मेकर्स्’ थियो। डम्ङ्गू रेस्तुराँमा उनले गीत गाउने काम गर्नथाले। प्रत्येक साँझ रेस्तुराँमा महफिल जम्थ्यो। त्यहाँ उनको आय राम्रै हुँदै थियो, तर उनलाई त्यहाँको वातावरण भने मन परेको थिएन। रेस्तुराँमा साँझदेखि रयसीको रमझम्मा संगीतको महफिल जम्थ्यो। रक्सीको होहल्ला सिग्रेटको बाक्लो धुवाँ बीचको माहौलमा उनलाई गीत गाउन अपमानित बोध भएको बताउँछन्। ‘‘त्यो परिवेशमा गाउनपर्दा राति म एक्लै रून्थें’’, उनी भन्छन्। त्यो परिवेशमा उनले संगीत र यसका साधक अपमानित भएको देखे। यस्तो परिवेशमा उनी करीब तीन महीनासम्म मात्र टिक्नसके। एउटा साँचो कलाकारको स्वाभिमानले उनलाई त्यो परिवेशमा संगीत प्रस्तुत गर्न दिएन। यसपछि उनी धरान फर्किए।
संगीतको लागि उनले नेपालमा निक्कै सङ्घर्ष गरे। जसो तसो गरेर पनि जीवन त बाँच्नैपर्ने हुनाले सन् 1996 सालमा काम गर्न सऊदी अरब गए। त्यहाँ पनि उनले साङ्गीतिक कार्यक्रमहरू गरे। तीन वर्षपछि छुट्टीमा खरसाङ आफ्नो घरमा आए। छुट्टीमा आउँदा पनि ‘नाइटिेल्स’ -का कार्यक्रमहरूमा गीत गाए। फेरि सऊदी अरब गए अनि 6 महीनामा फर्किए। यसपछि उनले कतार साथै मलेशियामा पनि काम गरे। मलेशियामा उनी सेययुरिटी अफिसर थिए। त्यहाँ उनले नेपाल-जापानको कार्यक्रममा नारायाण गोपालकै गीत ‘अल्झेछ क्यारे पछ्यौरी...’ गाउँदा सबै झुमेका थिए। 33 महीना त्यहाँ काम गरे। सेक्युरिटी कम्पनीले बिनाकारण वेतन रोक्दा झ्याउला भएको थियो। यसबारेमा उनले मलेशियाकै मानव अधिकारवादी संस्था समक्ष उजुरी गरे। संस्थाकै वकिलले मुद्दा लडेपछि कम्पनीले उनको वेतन दियो। यस अवधिमा धेरै समस्याहरूको सामना गरे। 2007 सालमा खरसाङ ङ्गर्किएपछि संगीतको परिवेश उस्तो नदेख्दा फेरि काठमाण्डौं गए। काठमाण्डौंमा उनले छोरीको नाममा ‘नुमाज् रेस्तुराँ’ खोले, कम्युनिकेशन सेण्टर खोलेर जीवन धान्ने काम गरे। पाँच वर्ष काठमाण्डौंमा बसेर विभिन्न व्यवसायहरू गरे। सन् 2013 सालमा आमा लडेर कम्मरको हड्डी भाँचिँदा उनी खरसाङ फर्किए। आमालाई निको हुन झण्डै वर्ष दिन लाग्यो। यसैबीच फेरि बाबुको कम्मरमुनिको भाग नचल्ने भयो। बाबुलाई मेथीबारीका डा. होमबहादुर छेत्रीले निको पारेको उनी बताउँछन्।
अहिले उनी खरसाङमै बसेर नयाँ गीतहरू साथै गायकहरू सृजना गर्ने काममा व्यस्त छन्। यसै वर्ष नेपालका भुइँचालो पीडितहरूका सहयोगका लागि आफ्नै शब्द र संगीतमा एल्बम ‘तिम्रो मायाले’ निकालेका छन्। 6 वटा गीतहरू भएको यस एल्बममा तीनवटा उत्तम स्वयं र तीनवटा स्प्रीङ साइड, खरसाङ निवासी नवीन शिवाले गाएका छन्। भुइँचालो पीडितहरूप्रति समवेदना प्रकट गर्दै सुकुमार बराइलीको शब्द ‘नेपाल आमा तिमी रूँदा हामी पनि रोयौं...’ -मा उत्तमले नै संगीत भरेर गाएका छन्। यो गीत युट्युबमा सुन्नसकिन्छ। यसै वर्ष निस्किएको अर्को एल्बम ‘विपनीमा’ उनको शब्द र संगीतमा तीनवटा गीत रहेको छ। रूपेश रसाइलीले संगीत भरेको उनको पहिलो गीत ‘सुन्दर सपना देख्ने आँखाले धेरै आँसु पिएछ...’ निक्कै अघि ‘बागीना’ खरसाङद्वारा निकालिएको एल्बममा शेखर राईले गाएका छन्।
उत्तमले संगीतको क्षेत्रमा नयाँ पीढीलाई अघि लगाउनका लागि धेरै योजनाहरू तयार गरेका छन्। उनी नयाँ गायकहरूका लागि हौसला र प्रेरणाका स्रोत हुन्। ‘‘उत्तम लामा आफ्नो समयमा उत्कृष्ट गायक थिए। उनी विदेशिनुपर्ने बाध्यता थियो। उनले निरन्तरता दिएका भए नेपाली संसारमा ताराजस्तै चम्किने थिए। उनी एकजना यस्ता गुणी कलाकार हुन्, जसले नयाँ कलाकारहरूलाई प्रोत्साहन र हौसला दिन्छन्। राम्रा नयाँ गायकहरूलाई आफ्नै खर्चमा रेकर्डिङ गराइदिन्छन्। अहिले उनी नयाँ गायकहरूलाई अघि लगाउने काममा व्यस्त छन्’’, खरसाङका सुपरिचित म्युजिक एरेञ्जर रूपेश रसाइली उनको बारेमा यसो भन्छन्। स्वर सम्राट स्व. नारायण गोपाललाई नै ‘आइडल’ मान्दै आएका उनले नारायण गोपाललाई नै श्रद्धाञ्जलि दिनलाई एउटा एल्बम निकाल्ने ड्रीम प्रोजेयट लिएका छन्। उनी नयाँ गायक-गायिकाहरू खोज्नमा व्यस्त छन्। नेपाली संगीतमा उत्कृष्ट कलाकारहरू सृजना गर्ने ठूलो उद्देश्य लिएर एउटा अभियानमा लागेका छन्। उनको अभियान सङ्गल होस्...शुभकामना!!